‘सरकारले बजेट बाढ्यो तर आयस्रोत जुटाउन सकेन’

0
573

युद्धबहादुर बोहोरा, पाँचथर ।

नेकपाको सरकारले पार्टीलाई लोकप्रिय बनाउन चौतर्फी बजेट बाढे पनि आयस्रोत जुटाउन नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आरोप लगाएका छन् ।

फाल्गुनन्द गाउँपालिकाको याम्बाबुङ्गमा तरुणदल फाल्गुनन्द–५ तथा तरुणदल पाँचथरद्वारा आयोजित तेस्रो तरुण गोल्डकपको उद्घाटन गर्दै थापाले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले भेनेजुएलाको सरकारले जनतालाई अनावश्यक भत्ता वितरण साथै बजेट दुरुपयोग गर्नाले अहिले त्यस देशका जनता भोकमरीको चपेटामा परेको उदाहरण समेत दिए । उनके भने– ‘जबसम्म त्यस देशको तेलको आयस्रोत थियोे तबसम्म जनतालाई पैसा बाँडियो, तेलको भाउ खच्किन साथ आर्थिक संकट शुरु भयो । त्यही अवस्था नेपालमा नआउला भन्न सकिन्न ।’

नेपाली कांग्रेसको नेतृत्वमा संविधान बन्यो त्यो घरको जग थियो, त्यसमाथि इँटा थपेर अर्को तला बनाउने जनताले जिम्मा लगाएको दुई तिहाइको कम्युनिष्ट सरकार त्यतिकै अल्मलिएको उनले बताए ।

सरकारप्रति जनताले जुन आशा गरेका थिए त्यो अहिले निराशामा परिणत भएको उनले दाबी गरे । विदेशीले लगानी गर्ने भन्दा बरु नेपालका उद्योगपति पलायन हुन थालेकोले स्वदेशमा रोजगारी र लगानी गर्ने वातावरण तय गर्न उनले सरकारसँग माग गरे ।

विगत तीन वर्षदेखि खेल आयोजना गर्दै आएको तरुण दल गोल्डकपमा पालिकास्तरीय जम्मा सात टिमको सहभागिता रहेको छ । कात्तिक २४ गते सम्पन्न हुने खेलको प्रथम पुरस्कार एक लाख एक हजार ६७ रुपैयाँ छ भने द्वितीय पुरस्कार ५१ हजार ७६ रुपैयाँ रहेको खेल आयोजक समितिले जनाएको छ ।

प्रथम पुरस्कारको प्रायोजक नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरका आमन्त्रित सदस्य तथा फाल्गुनन्द–५ का सभापति मणिचन्द्र चेम्जोङले उपलब्ध गराएको तरुण दल जिल्ला अध्यक्ष सुमन लामाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here