दोषी को ?

0
1388

गोकुलप्रसाद अधिकारी,

बिर्तामोडको मुक्तिचौकबाट सैनिक मोडस्थित आँखा अस्पतालको आसपास क्षेत्रको सडकखण्डलाई चारलेन बनाई उक्त सडकलाई एउटा नमूना र उदाहरणीय सडक बनाउने सपना देखेर यस क्षेत्रका राजनीतिकर्मी, समाजसेवी विभिन्न संघ–संस्थामा आवद्ध व्यक्तित्वहरु, नागरिक समाज, पत्रकारहरु लगायत सम्पूर्ण सर्वसाधारणसहितको माग र अपेक्षालाई संघीय सरकारले सम्बोधन गर्यो । उक्त सडक निर्माणको लागि २०७५ साल आषाढ २४ गते आशिष प्रेरा जेभी नामक ठेकेदारलाई ठेक्का दिई कूल १८ महिनाको समय सीमा निर्धारण गरी कार्य सम्पन्न गर्ने गरी सम्झौता समेत गरी कार्य शुभारम्भ हुँदा यस क्षेत्रका सबै सरोकारवालाहरुले वडो हर्ष बढाईं गरेको दृष्य आज पर्यन्त लेखकका आँखा अगाडी ताजै छन् । तर, समयको कालखण्डले ती खुशीका पलहरुलाई यति नराम्रोसँग निमोठ्यो कि ती यावत सपना र चाहनाहरु दिन प्रतिदिन दर्दनाक र पीडादायी क्षणमा परिणत हुँदै गए र अन्त्यमा मानवीय क्षतिसम्म हुन पुग्यो ।

आज उक्त सडकखण्डको दुरावस्थालाई प्रत्यक्ष व्यहोरिरहेका आम सर्वसाधारण, व्यापारी, यातायात व्यावसायी, यात्रु तथा सम्बद्ध सबै पक्षहरु त्यो शुभारम्भ हुँदाका बखतको खुशीलाई धिक्कारी रहेका छन्, दुत्कारी रहेका छन् अनि झेलिरहेका छन् त केवल प्रदुषण, कष्ट र भौतिक पीडा । मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्रमुख कारकतत्व मध्ये धुलोलाई समेत लिने गरिएको छ । र, त्यस अर्ध निर्मित सडकखण्डबाट निस्कने र बुङ्गबुङ्गती उड्ने धुलोले केवल मानवीय स्वास्थ्यमा मात्र असर गरिरहेको छैन अपितु उक्त सडकखण्डका दुबै तर्फका व्यापारीहरुको व्यापार, व्यावसाय चौपट भएको छ । आफ्नो जिविकोपार्जनको मुख्य आधारलाई व्यापारमानी पसल सञ्चालन गर्ने व्यापारीहरुको दुःखदायी कथा सुनि नसक्नुको छ । र, कतिपय व्यापारी साथीहरु आफ्नो पेसाबाट पलायन हुनुपर्नेसम्मको अवस्थामा गुज्रिरहेका छन् ।

अझ उदेकलाग्दो अवस्था त कस्तो छ भने उक्त सडक निर्माण गर्ने ठेकेदारका आधिकारिक व्यतिmलाई भेट्न समेत लगभग असम्भव छ र कथंकदाचित भेट भई हालेमा समेत सर्वसाधारणका कुरा र गुनासाहरुप्रति कुनै चासो छैन, ध्यान दिँदैनन् र टेर्दा पनि टेर्दैनन् । लेखकको जानकारीमा आएको आधिकारिक व्यतिmको नाम अनुप केसी (योजना प्रबन्धक) हो । उहाँलाई घटीमा छ पटकसम्म व्यक्तिगत र सामुहिक रुपमा समेत भेटेर निर्माण कार्यको जानकारी माग्दा समेत कुनै चित्त बुझ्दो जवाफ नपाएको तितो यर्थाथको अनुभव अझै मानसपटलमा ताजै छ ।

यस सडकखण्डको दुरावस्थाको बारेमा अनेकौं बैठक बसेको कुरा बारम्बार जानकारीमा आएकै विषयहरु हुन् । बिवर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको कार्यकक्षमा समेत पटक–पटक बैठक बसी आवश्यक सुझाव, निर्देशन र चेतावनी समेत दिइसकेको अवस्था हो भने प्रत्यक्ष सरोकार राख्ने बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले समेत पटक–पटक ठेकेदार र आधिकारिक व्यक्तिहरुलाई व्यक्तिगतरुपले भेटी आवश्यक निर्देशन समेत दिइरहेकै अवस्था छ । यति हुँदाहुँदै पनि किन निर्माण कार्य संतोषजनक रुपले अगाडि बढ्न सकिरहेको छैन भन्ने कुरा हाल सर्वत्र चिन्ता र चासोको विषय भइरहेको छ । कतिपय व्यक्तिहरुबाट उक्त सडकखण्ड समयमै सम्पन्न नहुनु वा भएका निर्माण कार्यहरु समेत कमसल हुनुमा नगरपालिकाको भूमिका रहन्छ, हुन्छ भन्ने पनि नसुनिएको होइन । तर, यर्थाथ र वास्तविकता अलिक फरक रहेछ ।

यस सडकखण्डको बजेट निकासा र विनियोजन, ठेक्का सम्झौता लगायतका सम्पूर्ण कार्यहरु संघीय सरकारले निर्धारण गरेर ठेक्का दिएकोमा स्थानीय सरकार अर्थात् बिर्तामोड नगरपालिकाले केवल निगरानी राख्ने, आवश्यक सुझाव दिने तथा नगरबासीहरुको सुविधालाई ध्यानमा राखेर नियमितरुपले सडकमा पानी हाल्ने, सडकका बीचमा भएका खाल्डाखुल्डीहरुलाई तत्काल पुर्ने वा पुर्न लगाउने लगायतका यावत कार्यहरु आफ्नै स्रोत र साधन परिचालन गरी गर्ने गरिएको कुरा बताउनु हुन्छ– बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी । लेखकको जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख र वडा नं. ४ का वडाध्यक्ष भन्नुहुन्छ– यस सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनीलाई स्थानीय सरकार अर्थात् नगरपालिकाले कुनै कार्वाही गर्न सक्तैन, सक्छ त केवल घच्घच्याउन, सम्झाई–बुझाई गर्न अनि सभ्य र नम्र दबाव दिन ।

हाल निर्माणाधीन सडकखण्डको कूल लम्बाई क्षेत्रफल ४.५ किलोमिटर रहेको र चारलेनको लागि सम्झौता भएकोमा बिर्तामोड नगरपालिकाको विशेष पहल र प्रयासमा भद्रपुरसम्मको समेत सडक निर्माणको लागि बजेट विनियोजन गराई आशिष प्रेरा जेभीसँग नै ठेक्का सम्झौता गरी सकिएको कुरा समेत बताउनुहुन्छ नगर प्रमुख ध्रुवकुमार शिवाकोटी ।
प्रश्न उठ्छ, संघीय सरकारसँग ठेक्का सम्झौता गरेर शुरु गरिएका निर्माण कार्यहरु माथी निगरानी राख्ने वा अनुगमन गर्ने, आवश्यक परे कारवाही गर्ने निकाय वा संस्था कुन हो र पीडित पक्षहरुले आफ्ना गुनासाहरु कहाँ र कसरी व्यक्त गर्ने ? यस विषयमा कुरा गर्दा नगर प्रमुख शिवाकोटी तथा वडाध्यक्ष संग्रौलाको भनाईमा संघीय सरकारद्वारा ठेक्का सम्झौता गरी निर्माण कार्यको जिम्मा दिएको अवस्थामा आवश्यकता अनुसार निरीक्षण, अनुगमन र आवश्यक कारवाही गर्ने निकाय भनेको दमक नगरपालिकास्थित डिभिजन सडक कार्यालय हो ।

तर, उक्त कार्यालयले हालसम्म के–कस्ता निगरानीहरु गर्यो, आवश्यक अनुगमन गरी निर्माण कार्यमा भइरहेका ढिलासुस्ती तथा गुणस्तरहीन सामग्रीहरुको प्रयोगमा रोक लगाउने कार्य गर्यो कि गरेन, सडककाबीच भागमा एम्बुस जसरी ठडिएका कंक्रिटका अवरोधहरु तथा मानिस डुब्ने गरी खनिएका खाडलहरु माथि ढक्कनको व्यवस्था कहिलेसम्म हुने इत्यादि कुराहरुको जिम्मेवारी लिएर बसेको डिभिजन सडक कार्यालयले बिर्तामोडबासीहरुको पीडालाई अनुभव गरेको छ कि छैन ? यदि डिभिजन सडक कार्यालयले अझै पनि यस सडकलाई गम्भीररुपले लिएन र समयमै उचित सम्बोधन गरेन भने बिर्तामोडबासीको धैर्यको बाँध फुट्ने छ र त्यो भेल र जन आक्रोसको तापले सडक कार्यालयलाई नमिठो धक्का दिनेछ । त्यसरी उत्पन्न हुने विषम् परिस्थितिको सामना गर्न सडक कार्यालय पूर्णतया असफल हुनेछ र यस विषयमा समय रहँदै संघीय वा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण हुन अत्यन्त आवश्यक छ ।

मध्य वर्षात्, भेल र बाढीको समयलाई मध्य नजर गर्दै बिर्तामोड नगरपालिकाले स्वविवेकीय र न्यायोचित निर्णय गरी उपलब्ध गराएको तीन महिनाको समयलाई जोड्दा समेत अब यस ४.५ किलोमिटरको निर्माण कार्य सम्पन्न गर्न खुद आठ महिनाको मात्र समय बाँकी रहेको, तर निर्माण कार्यको अवस्था हेर्दा १३ महिनाको समयमा लगभग २० प्रतिशत मात्र कार्य सम्मपन्न भएको हुँदा निर्धारित समयमा काम सम्पन्न हुने कुनै सम्भावना देखिँदैन । त्यसैले निर्माण कम्पनीले समयमै कार्य सम्पन्न गर्नका लागि आवश्यक उपकरण तथा जनशक्तिको बेलैमा व्यवस्था गरी युद्धस्तरमा कार्य शुरु नगरेमा हाल उत्पन्न परिस्थितिले अझ विकराल रुप लिने कुरामा दुईमत हुन सक्दैन । साथै निगरानीको जिम्मेवारी लिएर वसेको डिभिजन सडक कार्यालयले समेत निर्धारित समयमा कार्य सम्पन्न गर्न आवश्यक सम्पूर्ण पहलहरु आजैका मितिबाट शुरु गरोस् र हाल उत्पन्न जन आक्रोशलाई समयमै सम्बोधन गरोस्, हार्दिक अनुरोध ।
(अधिकारी देव शान्ति टोल विकास संस्था बिर्तामोड ४ का अध्यक्ष हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here