बिराटनगर ।

पछिल्लो समयमा अबैध रुपमा गाँजा खेती गरेको पाईएकोले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिशेष अभियान नै संचालन गरेर गाँजा फडानी गर्ने अभियान नैसञ्चालन गरेको छ ।
अबैध गाँजा खेती तथा आफै उम्रिएका गाँजाका बोटहरु प्रहरीले ‘सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरी गाँजा फडानी गरी नष्ट गर्ने कार्य गर्दै आएको प्रहरीले जनाएको छ । कार्तिक ३ गतेबाट सुरु भएको अभियानमा धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका १५ लाख १ हजार तीन सय ३० वटा गाँजाका बोट फडानी गरी नष्ट गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गाँजा फडानीको लागी दैनिक एक सय ९७ जना प्रहरी जनशक्ति खटाईएको बताइएको छ । दंगा नियन्त्रण प्रहरी गण दुहवी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट संयुक्त रुपमा दैनिक ८४ जना, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट, ५६ जना, भोजपुरबाट २० जना, खोटाङबाट १० जना, ईलामबाट १७ जना र सुनसरीबाट १० जना प्रहरी जनशक्ति गाँजा फडानीको लागि खटाईएको जनाइएको छ ।

प्रहरीले धनकुटाको शहिदभूमी, साँगुरीगढी, चौबिसे र धनकुटाकै आँखिसल्ला गाऊँपालिका लगायतका एरियाको बिभिन्न स्थानमा करिब ९९४ रोपनी भन्दाबढी क्षेत्रफलमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका १२ लाख ३० हजार ५१८ गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको छ । यस्तै भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानको ३०९ रोपनी जग्गामा लगाईएको १ लाख ३० हजार तीन सय ३६ बोट गाँजा फडानी गरी नष्ट गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत एवम् प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोईरालाले जानकारी दिए ।
उता उदयपुरको ताप्ली गाँउपालिकाको बिभिन्न स्थानमा २८५ रोपनी क्षेत्रफलमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका १ लाख ३३ हजार ४७६ गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । त्यस्तै खोटाङको हलेशी तुवाचुङ नगरपालिकाका बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका ७ हजार गाँजाका बोटहरु नष्ट गरिएको छ भने ईलामको देउमाई नगरपालिकाका बिभिन्न स्थानहरुमा लगाईएको २४० बोट गाँजा फडानी गरी नष्ट गरिएको हो ।
यता सुनसरीको देवानगञ्ज गाऊँपालिका–६ मा लगाईएका करिव ३ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ । उत्पदानको अन्तिम अबस्थामा रहेको गाँजाका बोटहरु फडानी गरी नष्ट गर्ने कार्य निरन्तर भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























