चार वर्षमा पनि बनेन पुल

0
1195

पार्थ मण्डल / भद्रपुर ।

मेची नदी छेउमै रहेको १११ र ११२ पिलरले नेपाल–भारतको सीमा छुट्याएको छ । सीमा छुट्याएको मेची नदी झापाको कचनकवल गाउँपालिका–५स्थित पाठामारीमा पर्छ । नदीमा झोलुङ्गे पुल बन्दै छ भन्ने कुरा स्थानीयका लागि एकादेशको कथा जस्तो भइसकेको छ ।

चार वर्षअघि अर्थात् वि.सं. २०७२ सालमा ठेक्का लागेको झोलुङ्गे पुल अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनी फरार भएका छन् । निर्माण कम्पनीले मेची नदीको वारिपारि दुई वटा पिलर गाडेको छ । अधुरो पिलर गाडेका निर्माण कम्पनीका ठेकेदार अहिले सम्पर्कविहीन बनेका छन् । मेचीमा पुल नबन्दा स्थानीय शुल्क तिरेर नदी तर्न बाध्य छन् । त्यहाँका बासिन्दा भारतीय बजारमै आत्मनिर्भर छन् ।

भारतको विहार राज्यस्थित किसनगञ्ज जिल्लामा पर्ने ठाकुरगञ्ज र धोबीभिट्टा बजारमै त्यहाँ लगायत कचनकवलका अधिकांश उपभोक्ता सरसामान खरिदका लागि दिनहुँ जाने गरेका छन् । तर, स्थानीयलाई भारत आवतजावत गर्न निकै समस्या छ । बर्खायाममा डुङ्गा (नाउ) र हिउँदमा अस्थायी बाँसे पुलको प्रयोग गर्दा स्थानीयले शुल्क तिर्नुपर्ने हुन्छ ।

सरकारले चार वर्षअघि दुवै देशका नागरिकको सेवा सुविधालाई लक्षित गरी पाठामारी–धोबीभिट्टा नाका जोड्ने मेचीमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया शुरु ग¥यो र ठेक्का पनि लगायो । तर, ठेक्का लिएका ठेकेदारको चरम लापरबाहीले अहिलेसम्म त्यहाँ झोलुङ्गे पुल बन्न सकेको छैन । पुल निर्माणपछि दीर्घकालीन समस्या टर्ने स्थानीयको मनमा ठूलो आशा जागेको थियो, तर त्यो आशा कहिले पूरा हुन्छ भन्नेमा त्यहाँका स्थानीय र जनप्रतिनिधि आफै अनिश्चित देखिएका छन् । निर्माणस्थलमा कामदारको लागि टहरा बनाइएको थियो ।

तर, टहरा कोही छैन । निर्माणस्थलमा पुलको बजेट उल्लेख गरिएको बोर्ड समेत छैन । बोर्ड नहुँदा पुलको लागत बजेट, इस्टीमेट, समय अवधि त्यहाँ स्थानीय नभई गाउँपालिकाका अध्यक्ष अञ्जार आलमलाई समेत थाह छैन । पुल नबन्दा दुवै देशका नागरिकले सास्ती झेल्दै आइरहेको गाउँपालिकाका अध्यक्ष आलमले बताए । ‘निर्माण कम्पनीका ठेकेदारको लापरबाहीका कारण पुल अहिले बन्न सकेन’– अध्यक्ष आलमले भने– ‘निर्माण कम्पनी अहिलेसम्म गाउँपालिकामा सम्पर्क गरेको छैन, हाम्रो भेटघाट पनि भएको छैन, फोनमा एक दुईपटक कुराकानी मात्र भएको हो ।’ यसको इस्टीमेटसहित बजेट विवरण माग्दा समेत ठेकेदारले उपलब्ध नगराएको उनको भनाइ छ । ‘नदीमा झोलुङ्गे अलपत्र अवस्था रहेको भन्दै दुई महिनाअघि काठमाडौँ पुगेर पुल हेर्न विभागमै जानकारी गराइसकेको छौ’– उनले भने– ‘त्यही पनि पुल बनाउने कहीँ कतैबाट अहिलेसम्म चासो देखाएको छैन ।’

जिल्लामा झोलुड्डे पुल हेर्न निकाय नै छैन

संघीय सरकार मातहत ठेक्का लागेको झोलुङ्गे पुल हेर्न आधिकारिक निकाय झापामा छैन । मेची नदीमा निर्माणाधीन अवस्थामा रहेको दुई वटा पुल बनाउने निर्माण कम्पनी एउटै हो । भद्रपुर–३स्थित मेचीपारि र कचनकवल–५स्थित पाठामारीमा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुल निलगिरी सेवा प्रालि बानेश्वर काठमाडौँले लिएको हो ।

अहिले दुवै पुल अलपत्र अवस्थामा छाडिएको छ । निर्माण व्यवसायी युवराज डाँगीले पुलको ठेक्का लिएका हुन् । तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत दुवै पुलको ठेक्का लगाइएको हो । मेचीपारिको जोडने झोलुङ्गे पुलको ठेक्का २०७२ भदौ ७ गते लागेको थियो । पाठामारीको झोलुङ्गे पुल त्योभन्दा ६ महिना अघि ठेक्का लागेको जनाइएको छ । दुई वटै पुलको समय अवधि दुई वर्ष बढी नाघिसकेको छ ।

एउटा पुलको बजेट साढे दुई करोडभन्दा बढी कर्मचारी स्रोतले जनाएको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जिनियर हाल एक नम्बर प्रदेश पूर्वाधार विकास कार्यालय विराटनगर इञ्जिनियर सुशील श्रेष्ठका अनुसार संघीय सरकार मातहत ठेक्का लागेको झोलुङ्गे पुल हेर्न निकाय झापामा नरहेको बताए । संघीय संरचनामा जानुभन्दा अघि लागेको झोलुङ्गे पुल संघीय सरकारले हेर्दै आइरहेको उनले बताए ।

झापामा निर्माणाधीन अवस्थाका झोलुङ्गे पुलहरू सस पेन्सन ब्रिज डिभिजन काठमाडौँको जिम्मा छ । ‘ब्रिज डिभिजनले नै मेची नदीमा निर्माणाधीन अवस्थामा रहेको पुलको विवरण दिन सक्छ’– उनले भने– ‘झापाबाट यसको विवरण पाउन सकिँदैन ।’

यता पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठका अनुसार प्रदेश सरकार मातहतका लागेको झोलुङ्गे पुलको विवरण दिन सकिन्छ । ‘पहिला ठेक्का लागेका झोलुङ्गे पुलको विवरण झापामा भेटिँदैन’– उनले भने– ‘यसका लागि काठमाडौँमै सम्पर्क गर्नुहोस् ।’ जिल्लामा आधिकारिक अनुगमन गर्ने निकाय नहुँदा पुल बनाउने निर्माण कम्पनीको लापरबाही बढेको हो । यस्ता ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही नगरेसम्म अधुरो निर्माण कार्य पूरा नहुने स्थानीय बताउँछन् ।

नदी तर्दा स्थानीय तिर्छन् शुल्क

नदीमा झोलुङ्गे निर्माण कार्य अलपत्र हुँदा डुङ्गा र अस्थायी बाँसे पुल ठेकेदारलाई कमाई खाने भाडो बनेको छ । बर्खायाममा डुङ्गा (नाउ) चलाउने र हिउँदमा अस्थायी बाँसे पुल बनाउने ठेकेदारले मेची नदी तर्दा स्थानीयबाट शुल्क उठाउने गरेको पाइएको छ । गाउँपालिकाबाट ठेक्का लिएर ठेकेदार सो रकम स्थानीयबाट असुल्ने गरेको स्थानीय स्वयम् बताउँछन् ।

बाँसे पुल चढ्ने मान्छेबाट ५ रुपैयाँ, साइकलबाट १० रुपैयाँ, मोटरसाइकलबाट २० रुपैयाँ रकम असुल्दै आइरहेको छ । ठेकेदार जलाल मिया (भाङ्गी) ले गाउँपालिकाबाट ४ लाख २० हजारमा बाँसे पुलको ठेक्का लिएको जनाइएको छ । बर्खामा नदीमा डुङ्गा चलाउँदा पनि ठेकेदारले सोही बराबरको रकम असुल्दै आइरहेको स्थानीय भुवेन्द्र गणेशले बताए । ‘नदीमा पुल नबन्दा स्थानीय शुल्क तिर्न बाध्य छन्’– उनले भने– ‘पुल बनेको भए यस्तो समस्या हुँदैन थियो, खै कहिले बनाउँछ ठेकेदारले पुल ।’

गतबर्ष निःशुल्क गर्ने गाउपालिकाले यसबर्ष ठेक्का लगायो

अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा मेची नदीमा दुई वटा अस्थायी बाँसे पुल बनेको थियो । एउटै नाकामा दुई वटा अस्थायी बाँसे पुल बन्दा कसैले शुल्क उठाउन पाएन । दुई वटा पुल बनेपछि त्यहाँका स्थानीयलाई फाइदै भयो । ‘दुई वटा पुल हुँदा स्थानीयले पैसा तिर्नु परेको थिएन’– स्थानीय इस्माईल मियाले भने– ‘यसबर्ष गाउँपालिकाले ठेक्का लगाउँदा पैसा तिर्नुपर्दैछ ।’

गतबर्ष नदीमा दुई वटा अस्थायी बाँसे पुल बन्नुको पछाडि व्यक्तिगत रिसइबी भएको स्थानीय शेर आलमले बताए । उनका अनुसार मेची नदीमा एउटा पुल भारतीय भूमिमा बनेको थियो भने अर्को पुल नेपाली भूमिमा बनेको थियो । बर्खायाम डुङ्गा र हिउँदमा बाँसे पुल राखे स्थानीय मोहम्मद मैनुदिन मिया र जलाल मिया (भाङ्गी) ले स्थानीयबाट रकम असुल्थे । दुवै जना नेपाली नागरिक हुन् । दुवै जना मिलेर बर्षौं सम्मसँगै डुङ्गा र बाँसे पुलको कारोबार गरे ।

तर, गतबर्ष मो. मैनुदिन मियाले बाँसे पुल निर्माण गर्दा जलाल मियालाई पार्टनरमा राखेनन् । मैनुदिनले बाँसे पुल बनाएर स्थानीयबाट ५देखि १५ सम्म रकम असुल्न थालेपछि दुवै जनाबीच आपसी विवाद बल्झियो । विवाद बल्झिएपछि जलालले भारतीय पक्षसँग मिलेर नदी बग्ने भारततर्फको भू–भागमा बाँसे पुल बनाएर निःशुल्क सेवा दियो । एउटा पुलमा पैसा उठाउने र अर्को पुल निःशुल्क हुँदा झन् विवाद सृजना भयो । अन्ततः कचनकवल गाउँपालिकाले मैनुदिनलाई पुल बनाए बापत ८० हजार भुक्तान गरेपछि दुवै बाँसे पुल निःशुल्क भएको स्थानीय आलमको भनाइ छ ।

विवाहका लागि गाउमा केटाकेटी पाउन छाडिसक्यो

विकासले समेतपछि परेका पाठामारी गाउँमा मुस्लिम र राजवंशी समुदायको बसोबास बाक्लो छ । उनीहरू सरसामान खरिददेखि पारिवारिक सम्बन्ध गाँस्न पनि भारतकै भर पर्छन् ।

‘पाठामारी लगायत कचनकवल गाउँ आसपासका केटाकेटीको विवाहको प्रस्ताव लिएर भारत जाँदा त्यहाँका परिवार केटाकेटी नेपालमा पठाउन नै चाहँदैन, स्थानीय मोहम्मद खैरुदीन भने– मेची नदीको समस्याले गर्दा उनीहरू छोराछोरी दिन छाडिसके, जसले गर्दा भारतसँगको पारिवारिक सम्बन्ध टाढियो ।

बर्खामा डुङ्गा र हिउँदमा बाँसे चढेर जानु पर्ने बाध्यताको अन्त्य नहुँदा गाउँवासीको समस्या यस्तै हुन्छ– उनले दुःखेसो पोखे । निर्माणाधीन झोलुङ्गे पुलको अवस्था हेर्दा पनि कहिले बन्ला ? भोटको बेला नेता तथा कार्यकर्ता गाउँ आउँछ, त्यसपछि फेरि जस्ताको त्यस्तै, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here