अतिक्रमित कालापानी फिर्ता हुनुपर्छ

0
575

सम्पादकीय

हाम्रो मुलुक यतिबेला छिमेकी मुलुक भारतले सीमा मिचेको आक्रोशमा उद्वेलित छ । देशको पश्चिमोत्तर सीमा अतिक्रमित भएको छ । अतिक्रमण अहिले भएको होइन, तर यतिबेला स्वाभाविक रूपमा यो नेपाली जनताको चासोको विषय बनेको छ । सीमाना बारम्बार मिचिएको छ नेपालको । यो कुरा सबै नेपालीले सुन्दै आएका हुन् । भारतले कालापानी आफ्नो नक्सामा प्रकाशन गरेपछि विवाद बढेको हो । भारतको यो कदम केवल संयोग मात्र होइन यो सुनियोजित भएको अनुमान गर्न सकिन्छ ।

यो विषयको आधिकारिक निकाय भनेको परराष्ट्र मन्त्रालय नै हो । परराष्ट्र मन्त्रालयका जागिरे, परराष्ट्रविद् र कुटनीतिज्ञहरूलाई नै सीमा अतिक्रमण सम्बन्धमा जानकारी हुन्छ । विदेश मामिलाबारे अध्ययन गर्ने अरू कुनै सूचना केन्द्र नेपालमा नभएको बुझिन्छ । इतिहासमा पटक–पटक सीमा अतिक्रमणका घटना भएका छन् । भारत असल छिमेकी हुनुपर्ने हो ।

अरु कुरा बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिँदैन । तर, विभिन्न प्रश्न उब्जिन्छन् भारतका बारे । के यही क्रममा अघि बढ्दै जाँदा कुनै दिन नेपालको अस्तित्व समाप्त हुने त होइन ? भारतले सार्वजनिक गरेको नयाँ नक्सा नेपालको राष्ट्रिय सुरक्षामा अझै आउन सक्ने चुनौतिको लामै शृंखलाको शुरुवात मात्रै हो कि सो क्रमको अन्तिम कडी हो ? यसरी भारतले थिचोमिचो र अतिक्रमणको क्रमलाई निरन्तरता दिने हो भने नेपाल र भारतको सम्बन्ध स्वाभाविक, सहज र सौहार्द रहिरहन्छ भन्ने हुन्न । नेपाली जनता उकुसमुकुसमा छन् र विष्फोटअघिको बारुद झैं छन् । दुई देशको सम्बन्धलाई कटुता र असहजतातर्फ धकेल्नुभन्दा मिचाहा प्रवृत्ति त्यागेर नेपालको सार्वभौमसत्ताको भारतले सम्मान गर्न आवश्यक छ । सत्तारुढ हुन् वा प्रतिपक्षमा रहेका नेपाली शासकहरु लघुताभाष, भय र अन्यमनस्कताले ग्रसित हुन आवश्यक छैन ।

पटक–पटकका नाकाबन्दी र असहयोग झेलेका नेपाली जनताका लागि सीमा अतिक्रमण बिझाउने काँडा झंै भएको छ । यो सबै भारतको दक्षिण एसियामा आफ्नो हाकिमी हैसियत बढाउने गलत नियतबाट सृजेको स्पष्ट छ । राष्ट्रिय स्वार्थका मामिलामा सत्तासीन पार्टी, प्रतिपक्ष तथा वर्तमान राजनीतिक प्रणालीकै विपक्षमा रहेका नेपालीसमेत सबै एकजुट देखिएका छन् । नेपालीको एकताका सामु भारतको विस्तारवादी र प्रभुत्ववादी सपनाका कुटिल चालहरू सफल हुने छैनन् । नेपालका सबै राजनीतिक पार्टीमा विभिन्न मात्रामा भारतको प्रभाव रहेको घाम जत्तिकै प्रष्ट छ ।

सामरिक महत्वको भनी भारतले हड्पेको भू–भाग फिर्ता गर्न क्षेत्रीय प्रभुत्ववादको नशामा झुमिरहेको भारतका लागि त्यति सहज छैन, किनभने यो हुनु भनेको उसको अहम्मा ठेस पुग्ने हो । भारतमा सत्तासीन दलका कारण प्रभुत्ववाद उन्मुख अन्धराष्ट्रवादमा अनुदित भइरहेको छ भने नश्लीय अभिमानले छिमेकी देशमाथि उसले हस्तक्षेप गरिरहेको छ । यो क्रम शीघ्रताशीघ्र बन्द हुनुपर्छ । भारतले छापेको नयाँ नक्सा नेपालको राष्ट्रिय सुरक्षामा अझै आउन सक्ने चुनौतिको लामै शृंखलाको प्रारम्भिक विन्दु पनि हुनसक्ने भएकाले नेपाली जनता मुलुकको स्वाभिमान, राष्ट्रिय एकताप्रति बढी सचेत र जागरुक हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here