पर्यापर्यटनको केन्द्र जामुनखाडी

0
830

सम्पादकीय

प्राकृतिक स्रोत र सम्पदाको संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापन स्थानीय जनताले प्रभावकारी रुपले गर्न सक्छन् भन्ने सटिक उदाहरण भएको छ जामुनाबारी सामुदायिक वन उपभोक्ता समूह । कनकाई नगरपालिका–१ र २ मा अवस्थित जामुनाबारी वन उपभोक्ता समूहको वन क्षेत्रभित्र रहेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र यतिबेला झापामात्र नभएर पूर्व क्षेत्रकै लोकप्रिय पर्यटकीय क्षेत्र भएको छ । विशेषगरी आन्तरिक पर्यटकका लागि जामुनखाडी अति मन पराइने गन्तव्यस्थल बन्न सफल भएको छ । २०५२ सालमा सरकारबाट स्थानीय जनतामा हस्तान्तरित उक्त वन समूह ४३४.२० हेक्टरमा फैलिएको छ । उष्ण प्रदेशीय तथा चुरे प्रदेशमा पाइने विभिन्न प्रजातिका वनस्पति तथा वन्यजन्तु रहेको यो वन जैविक विविधताको उत्कृष्ट नमूनाको रुपमा रहेको छ ।

वन संरक्षण तथा व्यवस्थापन, सिमसार क्षेत्रको संरक्षण, दुर्लभ तथा असुरक्षित वन्यजन्तुको उद्धार केन्द्रको रुपमा संरक्षण र व्यवस्थापन गर्ने, जैविक विविधताको उत्कृष्ट नमुना प्रदर्शन गर्ने, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि वातावरणीय अनुकूलनका निम्ति भूमिका खेल्ने र पर्यापर्यटनको विकास र विस्तारमा योगदान दिने यो सिमसार क्षेत्र सामु अनगिन्ती चुनौतिहरु आएका छन् । यसले एकातिर अन्य पर्यटकीय क्षेत्रहरुसँग खरो प्रतिष्पर्धामा उत्रनु परेको छ भने आफूलाई नेपाल सरकारको नीति–नियमको मातहतमा रही आफ्नो प्रतिष्ठा र सम्मानलाई उचाइमा लैजानु छ ।

स्थानीय जनतासँगको घुलनशीलताबाट मात्र आएका चुनौतिहरुलाई सामना गर्दै नवीन अवसरहरुमा बदल्न सम्भव छ । सिमसार र वन्यजन्तु संरक्षण यसको मुख्य पाटो हो भने पर्यटकका लागि आकर्षक ठाउँहरु थप गर्नुपर्नेमा थप योजना आवश्यक देखिन्छ । जामुनाबारी वन समूहसँग आबद्ध उपभोक्ता तथा स्थानीय जनताको एकता र सहकार्य अनुकरणीय छ, तर त्यो एकताको बलमा नवीनतम् सोच र कार्ययोजनाको खाका बनाई जामुनखाडीलाई पर्यापर्यटनको अनुपम नमूना बनाउन सकिन्छ ।

नेपाल सरकारद्वारा राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यस्थलमा जामुनखाडी सिमसार क्षेत्र पनि सूचीकृत हुनु गौरवको विषय हो । १ नंं. प्रदेश सरकारबाट प्राणी उद्यान केन्द्र तथा प्रादेशिक चिडियाघर स्थापनाका लागि जामुनाबारी वन समूहलाई छनौट गर्नु र सो अनुरुप कार्ययोजना तथा कार्यक्रम बनाई काम अघि बढ्नुले यो क्षेत्र अझ व्यवस्थित र अझ सुन्दर हुनेमा विश्वास गर्न सकिन्छ । आर्थिक पारदर्शिता, आर्थिक मितव्ययिता तथा सुशासनको क्षेत्रमा सफ्टवेयर प्रणाली र इ–टिकटको व्यवस्थापन गर्दै आधुनिक प्रविधियुक्त अभिलेखीकरण पद्धति उपयोग गरेबाट विश्वसनीयता बढेको छ ।

 

झापा जिल्ला र प्रदेशकै पर्यापर्यटनको धरोहर जामुनखाडीको गरिमा पूर्वको फेवातालको रुपमा पर्यटकको हृदयभरि छाएको छ । यसले सूचना र सञ्चारको क्षेत्रमा आफूलाई थप व्यवस्थित गर्न जरुरी छ । प्रचारप्रसारको अभावमा पर्यटकीय क्षेत्रको विकास सम्भव छैन । वातावरण संरक्षण र पर्यटन प्रबद्र्धनका क्षेत्रमा बढी मौलिक र नवीन ढंगले योजना निर्माण गर्न र आम उपभोक्ताको साथ लिएर बनेका कार्ययोजना कार्यान्वयन गर्दै अघि बढ्न आवश्यक छ । यो क्षेत्र जनताको सम्पत्ति भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय जनताले पाउने निश्चित छ । तसर्थ, स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारले पनि यस क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासका लागि आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here