देशको सेवा यसरी गरौं

0
525

रामचन्द्र उप्रेती,

हामी नेपालीहरुको जीवनस्तरमा आएको परिवर्तनले हाम्रो उपभोग शैली बदलिँदैछ । आयश्रोत बढेसँगै खर्च गर्ने क्षमता बढ्ने नै भयो । सामाजिक मूल्य–मान्यतामा परिवर्तन हुने नै भयो । जीवनस्तर र समाजमा आएको परिवर्तनसँगै वस्तु र सेवाको उपभोगमा धेरै खर्च हुन थालेको छ । यो स्वभाविक हो । यसरी उपभोग गरिने वस्तु वा सेवाका लागि श्रोत अर्थात् आम्दानी कसरी जुटाउने भन्ने पहिलो समस्या हो । यसका लागि अहिले नेपालीको नगद कमाईको मुख्य आयश्रोत बनेको छ विदेशको कमाई । हाम्रा धेरै युवा विदेशमा काम गर्न जान्छन् र तिनले श्रमगरेर पठाउने रकम नै हाम्रो मुख्य श्रोत बनेको छ । हुन त कृषि हाम्रो अहिले पनि मुख्य आम्दानीको श्रोत हो ।

तर, कृषिको आय सबै नगदमा हुँदैन । विशेषगरी कृषिमा निर्भर धेरै परिवारले आफ्नो आवश्यकताका लागि यस्ता वस्तु (खाद्यान्न, तरकारी, दूध, फलपूmल, मासु आदि) उत्पादन उपभोगका लागि गर्छन् । त्यसैले यसको व्यवसायीक मूल्य र नगदमा कारोवार हुँदैन ।

बदलिँदो परिस्थितिका कारण अब किसानका आफ्ना उत्पादनले मात्रै व्यवहार नचल्ने अवस्था भएको छ । उपचार, शिक्षा, सूचना एवम् सञ्चार, लत्ताकपडा, यातायात, भ्रमण, अतिरिक्त तरकारी तथा खाद्यान्न (आफ्नो उत्पादन बाहेक), चाडपर्व, आवास, इन्धन आदि इत्यादिका लागि अब नगदको अपरिहार्यता बढ्दै गयो । यसको आपूर्तिका लागि कि त वस्तु तथा सेवा बेच्नु प¥यो कि त श्रम । वस्तु तथा सेवा बेच्नका लागि अलि–अलि माथिल्लो तहको चेत, सिप, आचरण, संंस्कार चाहिन्छ । यो निर्वाहमुखी कृषिको युगबाट बामे सर्दै अगाडि जानै पर्ने बाध्यता भएको समाजमा सबैका लागि सहज हुने कुरै भएन । त्यसैले सबैले सजिलो बाटो देखेको नोकरी वा वैदेशिक रोजगारी हो । नोकरी अर्थात् जागिर सबैका लागि जुर्दैन । त्यसमा पनि केही न केही सिप, आचरण, लगन नभई हुँदैन । पहिला त जागिर वा काम पाउन मुस्किल छ, पाए टिक्न सजिलो छैन । त्यसैले यहाँको कामका धेरै अवसरमा भारतीयले कब्जा जमाएका छन् । केही सामाजिक मूल्य–मान्यताका कारण पनि हामी कामलाई उचित स्थान दिने गर्दैनौं । कामले उचित सम्मान नपाएको कारण काम गर्ने मानिसले सम्मान पाउन नसकेको अवस्था छ । यी र यस्ता कुरा हाम्रो खर्चको श्रोत कसरी जुटाउँछौं भन्ने कुरासँग सम्बन्धित छ ।

जीवन धान्न जसरी पनि रकमको जोहो गर्नैपर्ने भएपछि धेरथोर, सजिलो असजिलो जे गरेर भए पनि, जसरी भए पनि र जति भए पनि जोहो हुन्छ । अब कुरा यसरी जोहो गरेको रकम केमा र कसरी खर्च गर्ने ? यसरी खर्चेको रकमले व्यक्तिगत, परिवारिक, सामाजिक र राष्ट्रिय रुपमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा हामीले त्यति ध्यान दिएको पाइँदैन । हाम्रो जोडबल आपूm धनी र सुखी बन्नेमा छ । आम मानिसका लागि यो त्यति बेठिक पनि होइन । तर, देश र समाजको हितमा काम गर्छु भनेर सार्वजनिक घोषणा गरेर विभिन्न जिम्मेवारीमा पुगेको मानिसले लुकेर धनी बन्नु र आफ्नो मात्रै खुसी खोज्नु स्वभाविक मानिँदैन र होइन पनि । हामी आपूm धनी बन्न वा जीवन चलाउन गर्ने उद्यम, व्यवसाय, पेशा, काम जे भने पनि हुन्छ त्यसले आपूmलाई त केही दिएको होला । तर, समाजमा कस्तो प्रभाव पार्छ, अरुमा के असर पर्छ भनेर सोच्नु मानिसको चेतनामा भरपर्ने गर्छ । यस्तो चेतनाले मानिसको स्तर निर्धारण गर्छ ।

मानौं, हामी आम मानिसले दैनिक उपभोग गर्ने खाद्य सामग्रीको उद्योग चलाइरहेका छौं । आफ्नो अधिक मुनाफाका लागि मिसावट गर्ने र कम गुणस्तरको वस्तु उत्पादन गरिरहेका छौं । यदि यसो हो भने त आम मानिसको स्वास्थ कमजोर पारेर हामी आफ्नो नाफा बढाइरहेका छौं । मिसावट र कमशल वस्तुको व्यवसाय गर्ने मानिसलाई कारवाही गर्ने काम त सरकारको हो नि भन्न पनि सक्छौं र हो पनि । त्यसो भए चोर समाउने काम त पुलिसको हो नि भनेर हामी कसैको घर, पसलमा चोर्न जान हुन्छ र ?

समाजले चोर्नुलाई ठूलै अपराध मान्छ । तर, ठग्नुलाई सामान्य । किन ? मेरो विचारमा चोर्नेहरु सामान्य स्तरका साधारण र प्रायः कमजोर आर्थिक अवस्था भएका, एक हिसावलेभन्दा निरीह मानिसले चोर्ने हो । ठग्ने आँट नभएकाले चोर्ने हो । चोरको तुलनामा ठगहरु अलि सम्पन्न र पहुँचवाला हुन्छन् । चोरकोभन्दा ठगहरुको संख्या ठूलो छ, त्यो अलि पहुँच राख्न सक्ने हैसियतको भएकाले अलि सम्मानित हुन्छ । चन्दा दिने, दान गर्ने, परोपकारका काम गर्ने र आफ्नो सामाजिक छवि राम्रो पार्ने काममा लाग्ने स्वभावले यिनीहरुले गर्ने गरेका ठगीका कामहरुले सामाजिक मान्यता पाउँछन् वा यस्ता कामलाई सामान्य मान्ने गरिन्छ । यस्तो ठगीलाई समाज चुपचाप हेर्छ, सहन्छ, भोग्छ । तर, चोरीका अपराधमा समाज अलि कडारुपमा प्रस्तुत हुन्छ । यसको मुख्य कारण चोर कमजोर हुन्छ र लुकेर चोर्छ । जस्तो कुनै इन्धन बेच्ने पम्पले एक सय लिटर तेल दिनुपर्ने ठाउँमा मेसिनमा सेटिङ गरेर ९८ लिटर मात्रै दिएछ र प्रत्येक सय लिटरमा दुई लिटर चोरी गरेछ भने त्यो चोरी होइन ठगी हुन्छ । तर, बतल, जर्किनमा राखेको दुई÷चार लिटर तेल कसैले नदेखिकन लगेछ भने त्यो चोरी हुन्छ । तौलमा ठग्ने, मिसावट गर्ने, मूल्यभन्दा कम सेवा दिने जस्ता कर्म ठगीका स्वरुप हुन् ।

हामी एक्लै–एक्लै धनी हुँदा सानो समूहमा त सम्मानित हुन सकौंला, आफ्ना आवश्यकता अलि सहजै पूरा गर्न सकौंला तर हाम्रो पहिचानको दायरा त्यो सानो घेरामा मात्रै सधै सिमित हुँदैन । जस्तै जब हामी गाउँ छाडेर अर्को गाउँ वा शहरमा पुग्छौं, जिल्ला छाडेर अर्को जिल्ला पुग्छौं, देश छाडेर अर्को देश पुग्छौं तब हाम्रो पहिचानको पहिलो आधार गाउँ, जिल्ला हुँदै देश बन्न जान्छ । गाउँ बदनाम छ, जिल्लाको पहिचान राम्रो छैन, देश भ्रष्ट, मगन्ते, गरीब र पिछडिएको छ भने हामी हाम्रो गाउँका २०÷३० घरको धनीमानी भएर के हुन्छ ? सधै त्यही २०÷३० घरको सीमाभित्रै बसिरहने होइन होला ।

व्यक्ति–व्यक्तिका खर्च गर्ने क्षमता बढ्दा मात्रै पनि देश धनी, सम्पन्न र सम्मानित हुने होइन रहेछ । व्यक्तिको खर्च गर्ने क्षमता बढ्दा देशको आम्दानी बढ्छ । यो ठीक कुरा हो । जस्तैः हामीले खर्च गरेको पैसाबाट राज्यले कर प्राप्त गर्छ र राज्यको आम्दानी बढ्छ । तर, यदि हामीले उपभोग गर्न खर्च गरेको रकमबाट खरिद गरिएको वस्तु तथा सेवा विदेशी रहेछ भने त्यसको ठूलो हिस्सा विदेश जान्छ । जस्तैः कुनै उपभोग्य वस्तुको उपभोक्ताले तिर्ने अन्तिम मूल्य रु.एक सय भएमा भन्सार बिन्दुमा आइपुग्दा त्यस्तो वस्तुको मूल्य यदि रु.७० पुग्ने रहेछ भने त्यसपछिको रु.३० मध्ये केही राजस्वको रुपमा देशको आम्दानी, केही नाफाको रुपमा देशभित्रका व्यापारी, ढुवानीकर्ता आदिको आम्दानी बन्ने गर्छ । तर, त्यो समान देशमै उत्पादन भएको भए त्यसको सम्पूर्ण मूल्य नै देशको आम्दानी हुन्छ ।

कुनै–कुनै वस्तु उत्पादन गर्दा विदेशी कच्चापदार्थको प्रयोग भए पनि त्यसको मूल्य श्रृंखलामा कच्चापदार्थमा परेको मूल्य बाहेक सबै देशको आम्दानी हो । देशको आम्दानी भनेको राज्यले पाउने ट्याक्स मात्रै होइन यस्तो उत्पादनको क्रममा श्रृजना भएको सबै मूल्य देशभित्रै परिचालन हुन्छ । यसले राज्यको आम्दानी मात्रै होइन कच्चापदार्थ, श्रम, बिजुली, ढुवानी, व्यवसायीको मुनाफा सबैले देशको आम्दानी नै बढाइरहेको हुन्छ । त्यसैले देशभित्र खपत हुने वस्तु तथा सेवा जति धेरै देशको भयो त्यति नै बढी देशको आम्दानी हुने गर्छ । तर, यस्तो उपभोगको वस्तु तथा सेवा यदि विदेशको रहेछ भने त्यसको थोरै भाग मात्रै नेपालको आम्दानी हो र धेरै भाग विदेशको आम्दानी हो ।

अब हामी विचार गरौं, हामीले गरेको आम्दानीबाट उपभोग गर्ने गरी खर्चेको पैसाले कति देशको सेवा गरेको छ र कति विदेशको । अहिले बढ्दै गरेको आम्दानी र त्यो आम्दानी उपभोगमा खर्च हुँदा देशले कति आम्दानी पाउँछ र विदेशले कति कमाउँछ यो जान्न आवश्यक छ । किनकि हामी देश धनी भएको हेर्न चाहन्छौं । जनता सम्पन्न भएको र देश समृद्ध भएको हेर्ने इच्छा छ, चाहना छ । यदि हामीले गर्ने खर्चको ठूलो हिस्सा बगेर विदेश जाने अहिलेको परिपाटी निरन्तर जारी रहने हो भने देश कहिल्यै समृद्ध हुँदैन । अहिले अवस्था कस्तो छ भने चाडपर्व हाम्रो, कमाई विदेशको । उत्सव हाम्रो, कमाई विदेशको । उपभोगमा खर्च हाम्रो, कमाई विदेशको । अझ अगाडि बढेरभन्दा फुटानी हाम्रो कमाई विदेशको । चुरीफुरी हाम्रो कमाई विदेशको ।

हामीले आर्जेको श्रोतलाई उपभोगमा मात्रै खर्च गर्दा पनि स्वदेशी बस्तुको उपभोगले देश सेवा हुन्छ नै त्योभन्दा बढी सेवा हामीले देशमा उत्पादन गरेर गर्न सक्छौं । उत्पादनका लागि पुँजीको जोहो गर्ने गरी अलि–अलि गरेर बचत गर्न सक्छौं । बचत भएको रकमबाट पुँजी निर्माणसँगै व्यवसाय गरेर उत्पादन र सेवामा लगाउन सक्छौं । यो देशको सेवा हो ।
भन्सार बिनाको संसार बनाउने कल्पना तिनले गरे जोसँग अरुदेशलाई बेच्ने वस्तु र सेवा प्रचुर मात्रामा थिए । हामी कमजोरहरु त्यसलाई मान्न बाध्य हुँदै गयौं । अब सरकारले खरिद गर्ने सेवा र वस्तु पाएसम्म, भएसम्म स्वदेशी हुुनुपर्छ । अलि महँगो भयो, थोरै कमशल भयो भने पनि स्वदेशी नै प्रयोग गरौं । यहीक्रम आम उपभोक्ताले पनि गरौं ता कि देश समृद्ध हुने अभियानमा हाम्रो उपभोगले मद्दत गर्न सकोस् । नेपालीको उपभोग गर्ने क्षमता बढ्दा नेपालले धेरैभन्दा धेरै फाइदा पाउनैपर्छ ।

यसका लागि सरकार र जनता दुबै सचेत बन्नुपर्छ । चाडपर्व र उत्सवको समयमा पनि सीमा क्षेत्रमा नेपाली बजारमाभन्दा भारतीय बजारमा नेपालीको उपस्थिति र खरिद बढी नै हुने गर्छ । हामी हरेक नेपालीले सामान खरिद गर्ने बेलामा एउटा प्रश्न आपैmंलाई गरौं मैले खरिद गरेको वस्तु वा सेवा नेपाली उत्पादन हो वा विदेशी ? मैले तिरेको पैसा कति प्रतिशत स्वदेशीको आम्दानी हो र कति प्रतिशत जति विदेशीको ? जब हामी यो प्रश्न गर्न सक्ने हुन्छौं तब देश प्रेम बढ्छ, देशका लागि हामी केही गरिरहेका हुनेछौं । हामीले खर्च गर्ने पैसा कुनै अर्को नेपालीको आम्दानी बन्छ भने त्यो देश सेवा नै हो । देश प्रतिको योगदान नै हो । यस्तो सोचौं कि हामीले खर्च गरेको मध्ये धेरैभन्दा धेरै पैसा नेपालीको आम्दानी बन्न सकोस् । यस्तो अवस्था तब हुन्छ, जब हामी स्वदेशी वस्तु र सेवाको उपभोगमा सचेत हुन्छौं ।

हामीसँग किन्नलाई स्वदेशी वस्तु वा सेवा धेरै नहुन सक्छन् । कतिपय वस्तु र सेवा विदेशी नै किन्नुपर्ने बाध्यता छ । त्यसको विकल्प छैन । तर, जुन वस्तु वा सेवा नेपालमा उत्पादन हुन्छ, नेपालमा पाइन्छ त्यस्ता वस्तुको मूल्यमा तुलना नगरिकन नेपाली उत्पादन भएकाले यो किन्छु, यो उपभोग गर्छु भन्ने भाव आउँछ भने हामीभित्र भएको देशभक्तिले देशको सेवा गर्छ । होइन भने अवसर पाउँदा पनि हामी देशको सेवा गरिरहेका छैनौं बरु सानो–सानो फाइदाका लागि विदेशीलाई फाइदा हुने काम गर्दैछौं । अहिले नेपाली पर्यटक बनेर विदेश जाने चलन निकै बढेको छ । यसमा नराम्रो होइन । तर, विदेशको भ्रमण एकपटक गर्दा स्वदेशमा दुईवटा भ्रमण गरौं । हामीले तिरेको पैसाले अर्को नेपालीको व्यवसाय चलायमान हुन्छ । देशको आम्दानी बढ्छ ।

सकेसम्म कच्चापदार्थ समेत नेपाली भएको सामान किनौं । भएन, पाइएन भने नेपालमा बनेको किनौं, नेपालमा बनेको वस्तु वा सेवा पनि नेपाली उद्यमी भएको किनौं, पाइएन भने नेपालमा उत्पादित विदेशी लगानीका किनौं । सम्पूर्णरुपमा विदेशी उत्पादन मात्रै किन्दा हाम्रो बढेको क्रय शक्तिका कारण देशले पाउनु पर्ने जति फाइदा पाउँदैन । देशले लिएको समृद्धिको अभियान सोचेको र चाहेको गतिमा अघि बढ्दैन । सारमाभन्दा देशको सेवा स्वदेशी वस्तुको उपयोग गर्ने चेतले पनि भइरहेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here