भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको अभाव शुरु

0
1084

लक्ष्मी उप्रेती / मेचीनगर ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको अभाव शुरु भएको छ । भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दैं असोजको दोस्रोसातादेखि प्याज निर्यातमा प्रतिवन्ध लगाएको थियो ।

प्रतिबन्धसँगै नेपाली बजारमा प्याजको अभाव सिर्जना भएको छ भने मूल्य अकासिएको छ । नेपाली तरकारी व्यवसायीहरुका अनुसार नेपालमा खपत हुने ९७ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई अर्काे आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।

अहिले झापाका तरकारी बजारमा प्याज अभाव भएको र पाईए पनि अत्यन्तै मंहँगो मूल्य पर्ने उपभोक्ताहरुको भनाई छ । तर, व्यवासयीहरुले महंगो मूल्यमा खरिद गर्नुपरेकाले विक्रीमा मूल्य वृद्घि गर्नुपरेको बताएका छन् ।
केही महिनाअघिसम्म प्रतिकेजी १ सय रुपैयाँमा विक्री भएको प्याज अहिले एकसय ५० रुपैयाँ पुगेको छ । भारतमा प्याजको मुल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन् ।

प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाका अनुसार केहीमहिनादेखि पूर्वीनाकाबाट प्याजको आयात ठप्प छ । साउन र भदौमहिनामा काँकरभिट्टा नाका भएर बढी ८५ लाख २० हजार रुपैयाँ मुल्य बराबरको २ सय ८४ मेट्रिक टन प्याज आयात भएपनि त्यसपछिका महिनामा आयात शुन्य रहेको कार्यालय प्रमुख वरिष्ठ वाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले जानकारी दिए ।

यसअघि काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा २५ करोड रुपैयाँ बराबरको प्याज नेपाल आयात हुने गरेको थियो । ‘नेपालमा प्याजको माग अनुसार उत्पादन छैन ’कृषि प्राविधिक मुकेश चौधरीले भने ‘नेपालको उत्पादनले करिव ६ महिना पनि पुग्दैन । नेपालमा उत्पादन नै छैन उत्पादन भएको प्याजले ६ महिना पनि पुग्दैन अनि कसरी निर्यात होस ।’

आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित २०६४ सालमा सरकारले झापासहित तराईका विभिन्न जिल्लामा प्याज विशेष कार्यक्रम सञ्चालनमा ल्याएको थियो । सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । प्याजको आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय वजारमा पुर्याउनका लागि तराईका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन ल्याएको थियो । योजना असफल भएपछि नेपाल प्याजका लागि समेत परनिर्भर बनेको छ । वितेको तीन आर्थिक वर्षमा पूर्वी नाका भएर हुने प्याजको निर्याप्त शुन्य छ । । प्याज विशेष कार्यक्रम प्रभावकारी बनाउन नसक्दा प्याजका लागि अर्काको भरपर्नु परेको स्थानीय जानकारहरु बताउँछन् ।

सरकारी मिसनमा प्याजको भण्डारण गर्न ‘स्टोरेज हाउस’ निर्माण गर्ने समेत योजना थियो । पथलैया, वुटवल कोहलपुरमा ‘भेन्टीलेटर प्याज’ घर निर्माण गर्ने योजना मिसनमा भएपनि मिसनका कुनै पनि योजना पुरा नभएको तरकारी विकाश निर्देशनालय खुमलटारले जनाएको छ । सरकारको छनौटमा परेका स्थानहरुमा कतै पनि निर्माण कार्य शुरु नभएका कारण योजनाहरु अधुरै रहेपछि सरकारले कार्यक्रम बन्द गरेको हो । मिसनमा भएका योजनाहरु कार्यान्वयन गर्न नसक्दा मिसन प्रभावकारी बन्न नसकेको हो । सरकारले निक्कै महत्वका साथ यो कार्यक्रम ल्याएको थियोउद्देश्य अनुरुप योजना सफल हुन सकेन् र तीन वर्ष अघि नै योजना बन्द भयो ।

प्याजखेती बृद्धि न्यून रुपमा हुनु, लक्षित जमिनको हेक्टर नपुग्नु र ‘भेन्टीलेटर प्याज’ घर निर्माणका लागि सम्बन्धित सहकारी संस्थाहरुलाई आव्हान गर्दा समेत खासै चासो नदेखाउनुले पनि उत्पादनमा घटेर निर्यात बढाउन नसकिएको सरकारी अधिकारीको भनाई छ । ‘उत्पादन भएलगत्तै खपत गरिहाल्नु पर्छ नत्र कुहिने सडिने डर हुने भएकाले किसान हत्तपत्त व्यावसायिक प्याज खेतीमा नलाग्नु मुख्यः कारण’ भएको कृषि प्राविधिक चौधरीको भनाई छ ।

प्याज भारतका विभिन्न प्रान्तबाट आयात हुने गरेको छ । कृषिमा आयाततर्फ कार्यालयले दुईसय रुपैयाँ आयात इजाजत दस्तुर र निर्याततर्फ एकसय रुपैयाँ निर्यात दस्तुर लिने गरेको छ । व्यापारीलाई प्याज आयात गरे वापत ५ प्रतिशत कृषि शुल्क बाहेक सबै महसुल नेपाल सरकारले निःशुल्क गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सरकारले छनौट गरेका सबै ठाउँमा निर्माण गर्ने योजना कागजमै मात्र सिमित भएका कारण पनि योजना असफल भएको सरोकारवालाहरुको भनाई छ । सम्बन्धित निकायको निष्क्रियताका कारण कार्यक्रम प्रभावकारी नबन्दा वर्षेनि नेपाली बजारले भारतबाट आयातित प्याजको भर पर्नुपरेको छ । नेपालमा प्याज उत्पादन हुने भए पनि भण्डारणको व्यवस्था पर्याप्त नभएका कारण व्यवसायिक रुपमा प्याज खेतीप्रति किसानको आर्कषण घटेको किसानहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here