सुख र दुःख बाडौं

0
1532

दिपेन्द्र राउत,

खुशी बाड्यो बड्छ, दुःख बाड्यो घट्छ । यो वाक्यभन्दा सजिलो लाग्न सक्छ । तर, यो वाक्यमा भने जस्तै हुन्छ त ! दुःख घट्ने र सुख बढ्ने ! जीवनमा यो कुरा बडाउन र घटाउन मिल्ने औषधि पाइँदो हो त सबैभन्दा बढी बिक्ने थियो होला । हरेक व्यक्ति आफू सुखी रहिरहुँ भन्ने चाहन्छ । तर, खुसी खोजेर या चाहेर भेटिँदैन । दुःखी बन्ने या खुशी रहने भन्ने कुरा हामी आफूमा निर्भर रहन्छ । के दुःख मानिसको जीवनमा चाहिँदैन त ? सुख नै चाहिने हो त, मानव जीवनमा ? यो एउटा गम्भीर प्रश्न छ ? संसारमा सुखी मानिसको संख्या धेरै छ कि दुःखी मानिसको संख्या धेरै छ भनेर हेर्ने हो भने पनि दुःखी नै बढिरहेको पाउन सक्छांै ।

दुःख र सुख जीवनमा अटल छ, यो दुई कुराबाट मुक्ति पाउन असम्भव छ । बाहिरबाट हेर्दा मानिस सबै खुशी नै देखिन्छन् । यसरी हेर्दा मानिस कति खुसी छन्, मिठो नै खाएका होलान् ! राम्रो नै लगाएर हिँडेका छन् ! साथीभाइ आफन्तसँग राम्रो नै बोलेका छन् ! परिवारमा पनि राम्रो नै छ ! घरवार पनि राम्रो नै छ ! दुःखी हुने त कारण देखिँदैन जब मानिसले यसरी अरुको खुशी देख्छ अनि ऊ आफू दुःखी बन्छ । मानिस आफ्नो दुःखमा त्यति दुःखी बन्दैन, जति अरुको खुशीमा दुःखी बन्छ ।

श्रीमद्भागवत गीतामा अर्जुनले कृष्णलाई सोधे– हे कृष्ण, सबै प्राणी सुखको कामना गर्दछन् ! दुःखको कामना गर्न कोही पनि चाहँदैन ! दुःखी कोही पनि हुन चाहँदैन चाहे राजा होस् या प्रजा, स्त्री हो या पुरुष ? कृष्णले भन्नु भयो– तिमी ठिक भन्छौ अर्जुन, सबै सुखकै कामना गर्दछन् । तर, सुखको परिभाषा हर एक व्यक्तिको प्रवृत्ति र रुची अनुसार बदलिरहन्छ । कोही मान्छे अरुको सुख देखेर सुखी रहन्छ भने कोही मान्छे अरुलाई सहयोग गरेर सुखी बन्छ । तर, नीच प्रवृत्ति भएको मानिस अरुलाई दुःख दिएर खुसी बन्छन् । अरुलाई खुसी देखेर दुःखी बन्छन् । त्यसैले सुख र दुःखको परिभाषा आफ्नो–आफ्नो प्रवृत्ति र रुचीको अनुसार हर प्राणीको लागि अलग–अलग छ ।

भगवान कृष्णले भने झैं हाम्रो प्रवृत्ति र रुचीले नै हो हामी दुःखी र सुखी बन्ने । फेरि अर्जुनले कृष्णलाई सोध्नुभयो– कृष्ण सबै सुख कै चाहना गर्छन् भने सुख स्थायी हुन सक्दैन ? कृष्णले भन्नुभयो– हे साथी, सुख स्थायी कसरी हुन सक्छ, किनकि यो संसार नै परिवर्तनशील छ । यहाँ हर क्षण परिवर्तन भइरहन्छ । परिवर्तन त प्रकृतिको नियम हो । यहाँ केही वस्तु पनि स्थायी छैनन् मैले तिमीलाई पहिलै भनेको थिए नि हाम्रो शरीरको अवस्था त स्थायी छैन भने सुख र दुःख कसरी स्थायी हुन सक्छ ।

कृष्णले भने झैं यहाँ केही स्थायी छैन । जीवनमा दुःख मात्र कहिलै आउँदैन सुख र दुःख नै जीवनमा चाहिन्छ । सुख र दुःख एकचक्रको दुई पाटा हुन् । जीवनमा सुखमा हाँसिन्छ, दुःखमा रोइन्छ । तर, जिन्दगी चलिरहेको हुन्छ । सुख र दुःखको चक्र चलिरहन्छ । न दुःखमा रोकिन्छ, न सुखमा रोकिन्छ । जिन्दगी निरन्तर चलिरहेको हुन्छ । मानिसको इच्छाले विभिन्न चाहनाहरुको जन्म हुन्छ । चाहना पूरा गर्न तृष्णाहरु बढेर आउँछ अनि सन्तोष, असन्तोष बढ्दै जाँदा सुख र दुःखको अनुभूति हामीले गर्दछौं ।

सुख पनि निरन्तर रहँदैन दुःख पनि निरन्तर रहँदैन यो त परिवर्तनशील छ बदलिरहन्छ । सुख–दुःखको अभाव हो, जहाँ दुःख छैन, त्यहाँ सुख छ । दुःख–सुखको अभाव हो, जहाँ सुख छैन, त्यहाँ दुःख छ । सुख एउटा संवेदना हो, दुःख पनि एउटा संवेदना हो । सुख पनि पीडा हो, दुःख पनि पीडा हो । सुखले पनि हामीलाई बेचैन गराउँछ, दुःखले पनि हामीलाई बेचैन नै गराउँछ । संसारमा सबै दुःखी नै छन् । कसैको घरमा बाबुको कारणले, कसैको आमाको कारणले, कसैलाई छोराछोरीको कारण होला, शिक्षाको कारण, सम्पत्तिको कारण, व्यापार व्यवसायको कारण, रोजगारको कारण, वेरोजगारको कारण, रोगको कारण कुनै न कुनै कारणले हरेक परिवार, हरेक घर दुःखी छ ।

दुःख र सुख जीवनको अनुभूति हो यो समयसापेक्ष आउने गर्दछ, तर निरन्तर रहँदैन । त्यसैले जीवनमा दुःख भयो भनेर नआत्तिआंै र सुख भयो भनेर पनि नमात्तिऔं । यी दुबै कुरा बाडौं । बाँड्दा जसले कहिल्यै हानी–नोक्सानी गर्दैन, बाँड्दा बढ्ने र घट्ने भनेको दुःख र सुख नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here