अर्जुनधारा धाममा आँखा तथा विकलाङ्ग सेवा शिविर शुरु

0
629

अर्जुनधारा ।

३७ औं वार्षिक अनुष्ठानको अवसरमा अर्जुनधारा जलेश्वर धामको आयोजना र भारतको कलकत्तास्थित महाविर सेवा सदनको प्राविद्यिक सहयोगमा निःशुल्क आँखा तथा विकलाङ्ग सेवा शिविर बिहीबारदेखि शुरु भएको छ ।

धाम समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा शिविरको प्रमुख अतिथि परमपुजनीय अनन्त श्री विभूषित जगतगुरु मुमुक्षानन्द महाराजजी, विशिष्ठ अतिथिहरु पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, महाविर सेवा सदनका प्रमुख विनोद बगाडिया र डा.जीतेन्द्र गग्लानीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

आँखा शिविर यही मंसिर ७ गतेसम्म र विकलाङ्ग सेवा शिविर अन्र्तगत नाम दर्ता गरि यही मंसिर १३ गतेदेखि २० गतेसम्म उनीहरुलाई कृत्रिम हातखुट्टा वितरण गरिने धाम समितिले जनाएको छ । शिविरमा डा. जीतेन्द्र गग्लानीसँगै हार्दिक गग्लानी, सान्तनु दास र प्राविद्यिकहरु पोल्टु मण्डल, राजेश गड्वाल र शौरभ साहूले सेवा दिने बताइएको छ ।

कार्यक्रममा प्रथम महिला शंकराचार्य हेमानन्द गिरीजी महाराज, प्रदेश १का सांसद् ओमप्रकाश सरावगी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाका सदस्य भोला परियार, नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, सहारा नेपालका कार्यकारी अधिकृत महेन्द्र गिरीलगायतको आतिथ्यता रहेको थियो ।

समितिका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन रीता चित्लांगिया र स्वस्तिका आचार्यले गरेका थिए ।

यसैबिच शिविर उद्घाटन अघि आयोजित पत्रकार भेटघाटमा बोल्दै महाविर सेवा सदनका प्रमुख बगाडियाले शिविरमार्फत् पाँच हजार जना भन्दा बढीको आँखा परीक्षण, पाँच सय जनालाई आँखाको अवस्था अनुसार चस्मा वितरण र पाँच सय जना विकलाङ्गलाई कृत्रिम हातखुट्टा वितरण गर्ने बताए ।

नेपालमा आयोजना गरिएको उक्त शिविर १४औं शिविर भएको उल्लेख गर्दै उनले आगामी दिनमा एक लाख जनालाई चस्मा वितरण तथा १० हजार जनालाई कृत्रिम हातखुट्टा वितरण गर्ने लक्ष्य संस्थाको रहेको जानकारी दिए । “विपन्नहरुको लागि सञ्चालन गरिने हाम्रो शिविर शहर भन्दा पनि गाँउ केन्द्रीत हुनेछ”–उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here