गौरादहमा धार्मिक पर्यटन महोत्सव

0
1259

झापा ।

झापाको गौरादहमा आइतवारबाट आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव २०७६ शुरु भएको छ । गौरादह नगरपालिका–३स्थित अतिथि सदनमा शुरु भएको महोत्सवमा पहिलो दिन बिहान भव्य रुपमा कलशसहितको शोभा यात्रा निकालिएको थियो। पञ्चेबाजासहित निकालिएको शोभायात्रामा हजारौंको संख्यामा भक्तजनको सहभागिता रहेको थियो ।

महोत्सवस्थलबाट निकालिएको शोभायात्राले गौरादहको सनराइज टोल पञ्चेश्वर मन्दिर, निलगिरि, हाइस्कूल, दुर्गा मन्दिर हुँदै बजार परिक्रमा गरी डिपुचोक, स्कूलचौन हुँदै पुनः महोत्सवस्थल पुगेर कलश बिसर्जन गरिएको थियो ।

कलश यात्रामा विभिन्न मठमन्दिरका भक्तजनहरु, शिक्षक, संघ–संस्थाका प्रतिनिधि,समाजसेवी र स्थानीयवासिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । महोत्सव मूल समारोह समितिको आयोजना तथा उद्योग वाणिज्य संघ गौरादहको सहआयोजना र नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको संयोजनमा महोत्सव सञ्चालन गरिएको हो ।

गौरादह तथा आसपासका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन तथा अन्य क्षेत्रमा समेत प्रचारप्रसार गराउने उद्देश्यले सञ्चालन गरिएको धार्मिक तथा सांस्कृतिक महोत्सव यहीँ १६ गतेसम्म सञ्चालन गरिने समितिका सचिव शान नेपालले जानकारी गराए ।

प्रदेश नं. १का प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सोमनाथ अधिकारी प्यासीले महोत्सवको उद्घाटन गर्दै नेपाल सरकारले अवलम्बन गरेको पर्यटन बर्ष २०२०लाई समेत यस महोत्सवले सघाउ पु¥याउने बिश्वास व्यक्त गरे । प्रदेश नं. १का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले महोत्सवले गौरादह क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक पर्यटक प्रवद्वन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक तथा पर्यटन क्षेत्रको बिकासमा सहयोग पु¥याउने बिश्वास व्यक्त गरे । गौरादह नगरपालिकाका मेयर रोहितकुमार साहले नगरको बिकासका लागि महोत्सवको आवश्यकता रहेको धारणा राखे ।

महोत्सवको पहिलो दिन महाआरती, भजन कीर्तन, मोटिभेस्नल स्पीच हुने र आजबाट शुरु हुने महापुराणमा व्यासाचार्य भुवन गुरु र अन्य पण्डितहरुबाट संगीतमय श्रीमद्भागवत कथा वाचन, प्रवचन शुरु हुने आयोजकले जनाइएको छ । महोत्सवमा पाथीभरा, लुम्बिनी जोन र मुक्तिनाथलाई एकैठाउँमा समेटिएको छ ।

विभिन्न जातजातिका विभिन्न सांस्कृतिक मौलिक कला प्रस्तुतिका साथै सहभागी हुने दर्शकहरुका लागि मनोरम दृष्यको व्यवस्था मिलाइएको छ भने व्यापारिक स्टलहरुको व्यवस्थापन गरिएको छ । महोत्सवमा प्रत्येक दिन बिहान योग विज्ञान शिविर सञ्चालन भइरहेको जनाइएको छ ।

पतञ्जलि गौरादह नगर अध्यक्ष निर्मल बास्तोला र पुष्कर खड्काले सयौंको संख्यामा सहभागीहरुलाई खानपान, व्यायाम, विभिन्न आसनहरु, कपालभाँती र नशा सम्बन्धी विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिइने आयोजकले जनाइएको छ । कार्यक्रममा पूर्वसांसाद दीपक कार्की, गौरादह नगरपालिका मेयर रोहितकुमार साहलगायतको सहभागिता थियो ।

उद्घाटन कार्यक्रम महोत्सव मूल आयोजक समिति संयोजक डा. तिलक खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here