कर्मचारी उत्पादकत्व र स्कूलिङ्ग

0
1366

उमेश भारती,

केही दिन अगाडि कार्यसम्पादन मूल्याङ्कनको आधारलाई लिएर मन्त्रिपरिषद् फेरबदलको विषय अझैसम्म पनि निकै चर्चामा रहिरहेको छ । यर्थाथ जे सुकै होस् तर यस परिघटनाले क्षमता कार्यकौशलता देखाएर सेवाग्राही वा समाजलाई रिझाएर उत्पादकत्व दिन नसक्ने व्यक्ति जो सुकै होस् जहिलै जतिखेर नै सेवा या पदबाट मुक्त हुन सक्छ भन्ने मान्यता समेत स्थापित गरिदिएको छ । काम नगरी विरासतका आधारमा, खान्दानीको भरमा, भनसुनको आडमा, कामचोर प्रवृत्ति भएका, चिउडो डुलाएर हात हल्लाएर मात्र जागिर पचाउने दिन पनि गए भन्ने अर्थ पनि लगाउन सकिन्छ ।

अब मुलुकमा निर्वाचित जनप्रतिनिधि, निजामति, शिक्षक सुरक्षा निकाय, कुटनीतिक, निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान, गैर सरकारी, बैंक, सहकारी लगायत अन्य सामाजिक सेवा र सरोकारका निकाय तथा क्षेत्रहरुका संयन्त्रहरुलाई जनमुखी बनाई नागरिकलाई जनअपेक्षा अनुरुप वस्तु तथा सेवाहरु छिटो–छरितो, पारदर्शी र प्रभावकारी बनाई समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोडदिन र आमुल परिवर्तनको आभाष जनतालाई प्रत्याभूत गराउन कर्मचारी उत्पादकत्वमा गुणात्मक बृद्धि गर्न अबको मुलुकको पहिलो कार्यभार हो भन्दा सायदै नमिल्ने हुँदैन ।

उहिले–उहिले एक व्यक्ति यावत काममा सम्लग्न हुन्थे । व्यक्तिको मुखमा सबै अभिलेख रहन्थे अभिलेखको संरक्षण थिएन । तर, आजभोलि एउटै कार्यलयमा पनि विभिन्न सीप, क्षमता दक्षता अनुभव भएका तालिम प्राप्त कर्मचारी, पद, फाँट, विषयगत अभिलेख र सुविधासम्पन्न आधुनिक कार्यालय उपकरण भौतिक सरसामग्रीहरु युक्त पनि छन र पनि सोचे जति खोजे जति प्रतिफल दिन सकेको अवस्था छैन । किन त ?

सरकार या कुनै निकायले जतिसुकै राम्रो नीति कार्यक्रम ल्याए पनि सो योजनालाई कार्यान्वयन गर्ने पहिलो पंक्ति भने कै कर्मचारी तन्त्र हो । तसर्थ, कर्मचारीलाई शक्तिकोरुपमा पनि लिनु पर्दछ । भौतिक सामग्रीको क्षमतामा सीमा हुन्छ, तर मानव संशाधनको क्षमता तोक्न सकिन्न । त्यही कर्मचारी एक वातावरण र अर्को वातावरणमा बढी र कम उत्पादकत्व दिन सक्छ । कर्मचारी अनुसारको जिम्मेवारी सिर्जना गरी उत्पादकत्व लिन व्यवस्थापनको कौशलता हो । सीप, क्षमता र दक्षता प्रदर्शन गर्ने पक्ष कामदार तथा कर्मचारी हुन । यसर्थ, राइट मेन, राइन प्लेसको नीति लिन सकेमा उत्पादकत्व बढाउन सकिने कुरामा चिनिया राष्ट्रपति सि जिङ फिङ उदाहरण दिनु हुन्छ– एउटा कुशल घोडाले खतरनाक बाटो सजिलै पार गराउन सक्छ तर जमिन जोताउन सकिँदैन ।

हाल विश्वमा प्रशासन प्रणालीलाई आधुनिकीकरण गर्न कर्मचारी उत्पादकत्व गुणात्मक बनाउन विभिन्न विधि र सिद्धान्तहरुको समेत अभ्यास र प्रयोग भएको पाइन्छ । व्यवस्थापनका ज्ञाता फ्रेङ्गिक टेलरले उत्पादकत्व बढाउन प्रतिस्पर्धात्मक पद्धतिबाट कर्मचारी छनौट, काम गर्ने वातावरण, प्रोत्साहनको व्यवस्था, म्यानेजर र कामदारबीच जिम्मेवारी बाँडफाड गर्नुपर्ने सिद्धान्त प्रतिवादन गरेको पाइन्छ । प्रशासन प्रणालीलाई कर्मचारीतन्त्रमा रुपान्तरण गरि उत्पादकत्व बढाउन–निर्देशनको एकता, अधिकार र जिम्मेवारी स्पष्टता र कडा अनुशासनको आवश्यकता औलाउँदै अधिकारको प्रयोगले मात्र जिम्मेवारी उत्तरदायित्व दिलाउन सक्छ भन्ने एक बेलाको दृष्टिकोण थियो ।

खासगरी दोस्रो विश्वयुद्ध पछाडि विश्वमा नै प्रजातन्त्रको लहरसँगै, कर्मचारीमा आवश्यकताको श्रृंखला हुन्छ र आवश्यकता पूर्ति नै कर्मचारीको उत्प्रेरणा हो भन्ने उद्देश्यलाई पूरा गराउन विभिन्न कर्मचारी संगठन, दलगत युनियनहरु बन्न थाले र कर्मचारीको हकहितका लागि समयसापेक्ष सेवासुविधा, वृत्ति विकास, तलब भत्ता अवसर, तालिम सरुवा बढुवा, दण्ड पुरस्कार, जस्तामा विषयमा ध्यान दियो भने विवाद कम, समस्या समाधान छिटोछरितो तरिकाद्वारा हुन्छ । सामुहिक कार्य सफल हुन्छ र समग्रमा उत्पादकत्व बृद्धि भई परिवर्तन प्रति कर्मचारी जागरुप हुन्छ र गुणस्तरीय सेवा, जनमैत्री व्यवहार, कामप्रति उत्तरदायित्व बोध भई उत्पादकत्व बढ्छ भन्ने धारणा पनि पाइन्छ । तर, यी सबै विधि र प्रयोगले मात्र कर्मचारी उत्पादकत्वमा आमुल परिवर्तन ल्याउन सकेन झन हाम्रो मूलुकमा त शासन सत्ता, राजनीतिक व्यवस्था धेरै चोटी परिवर्तन भयो, तर कर्मचारी तन्त्र काँचै छ, पात्र फेरिए प्रवृत्ति उस्तै रहिरहेको छ ।

भ्रष्टाचार मौलाएर जानु, सुशासन, पारदर्शिता जवाफदेहिता दुब्लाउँदै आउनु, कर्मचारीहरु जागिरे मानसिकता सुविधाभोगी शहरमुखी, घर पायक केन्द्रीत हुनु, नीति र विधिलाई मिच्नु, नयाँ सीप प्रविधिको प्रभावकारी प्रयोग नगर्नु नातावाद, फरियावाद, कृपावादको जालोले गर्दा नै आज अपेक्षित प्रतिफल नागरिकले सहज र सुलभ तरिकाले नपाएको अवस्था महशुस हुन्छ । यो अवस्था सरकारी निकायहरुमा अझ भयाभहरुपमा देखापरेको छ । कर्मचारी उत्पादकत्व बृद्धि भएन भने त्यो संघ–संस्था वा कार्यालयका लागि कर्मचारी संख्या नै भार भइदिन्छ । अहिलेको हाम्रो अवस्था नीति–नियम ऐन कानून समयानुकूल सेवासुविधा प्रविधि जनशक्ति नभएरभन्दा पनि तदर्थवादी सोचाई परिवर्तित हुन नचाहने चिन्तन, संर्किण मानसिकताको उपज हो ।

बैकिङ्ग क्षेत्रतिर कर्मचारी उत्पादकत्व हेर्ने हो भने इन्भेष्टमेन्ट बैंक पहिलो नम्बरमा र एनसीसी बैंक अन्तिम नम्बरमा डाटाले देखाउँछ । इन्भेष्टमेन्ट बैंकले एक रुपैयाँ खर्च गरेर पाँच रुपैयाँ ४६ पैसा आम्दानी गर्दछ । हाम्रो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को रु. पाँच रुपैयाँको हाराहारी रहेको कुरा संस्थाका उपनिर्देक लक्ष्मण खतिवडा बताउनु हुन्छ । यो विवरण खुद नाफालाई सोही अवधिको कर्मचारी खर्चले भाग गरेर उत्पादकत्व निकालिएको तथ्यांक हो । वास्तवमा नतिजालाई केलाएर हेर्ने हो भने सहकारी वित्तीय क्षेत्र, बोर्डिङ स्कूल, निजी कम्पनीहरुमा उत्पादकत्व बढी देखिनुमा व्यवस्थापनले कर्मचारीलाई गरिने स्कूलिङ नै प्रमुख कारण हो ।

सकरात्मक मन सोचाई र भावना रहेको मान्छेले आफ्नो टिम वर्क मजबुद राखी पेशाप्रतिको समर्पणले नै उत्पादकत्व दिन सक्छ भन्ने कुरा सिद्ध भइसकेको छ । चाहे व्यक्ति जुनसुकै ओहोदा, तप्का, तह, पद, निकाय, वर्ग, जात, भाषाभाषि, भेषभूषा, सस्ंकार संस्कृतिको होस् र जुनसुकै स्थानमा बसोबास गरेको भए पनि स्वयम् ऊ भित्रैदेखि म इमान्दारितापूर्वक समाज र राष्ट्रका लागि केही योगदान गर्दछु भनेर हृदयदेखि नै स्वउत्प्रेरित भएर काम गरेमा सफल भएका उदाहरणहरु हाम्रै अगाडि देख्न सकिन्छ । लोडसेडिङको क्षेत्रमा विद्युत् प्राधिकरणका कर्मचारी कुलमान घिसिङ, अनुसन्धानको क्षेत्रमा महावीर पुन, बस्ती निर्माणमा सीताराम कट्टेल कुञ्जना घिमिरे (धुर्मुस सुन्तली), सहकारी क्षेत्रमा महेन्द्रकुमार गिरी, स्वाथ्यमा डा. भगवान कोइराला, डा. सन्दुक रुइत, प्रहरीमा रमेश खरेल, मन्त्री जनार्दन शर्मा, प्रधानमन्त्रीमा मनमोहन अधिकारी । नेतामा वीपी, मदन भण्डारी, प्रचण्ड ।

व्यक्तिभित्र कति सामथ्र्य शक्ति हुन्छ र उसले के–के गर्न सक्छ भन्ने कुरा कुनै वाद, विधि, नीति–नियम र सिद्धान्तले क्षमता र उत्पादकत्वको सीमा लगाउन नसक्ने भएकै कारण भगवान गौतम बुद्ध भन्नुहुन्छ– लोभ, मोह, राग, द्वेष, वितृष्णा, दरिद्र, मन, लघुताभास जस्ता चित्त विकारले जसरी फलामलाई खियाले नष्ट पार्छ । ठीक त्यसरी मात्र मान्छे नष्ट हुन्छ । को कस्तो बन्ने कुरा क्षमतामा भन्दा उसको रोजाईमा फरक पर्छ । हरेक मान्छे संघ–संस्थाले चाहेको खण्डमा आफै सृजनशील, स्वास्थ्य, खुसी, इमान्दार पनि बन्न सक्छ । अतः अष्ठ ब्रतमा बुद्ध भन्नुहुन्छ– आज म कुनै कहानी बनाउने छैन ।

आज म क्रोध गर्ने छैन । आज म निष्ठा, हौसला र उमँगको साथ आफ्नो काम गर्नेछु । आज म कृतज्ञ र प्रसन्न रहनेछु । आज म शिलवान रही सबैलाई प्रेम आदर दिनेछु । आज म आफ्नो संकल्पको पालना गर्नेछु । आज म हर क्षण साक्षी र होसपूर्ण रहनेछु । आज म स्वीकार र तथ्यतामा रहनेछु । यस्तो बन्ने र उत्पादकत्व बढाउने भनेको सकरात्मक दृष्टिकोण र स्कूलिङ नै हो । पैसालाई भन्दा सेवा भावलाई महत्व दिनु स्वाभिमान राख्नु हो भने अवश्य नै समग्र क्षेत्रको उत्पादकत्वमा गुणात्मक छलाङ मार्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here