लैड्डिक हिंसाविरुद्धको अभियान सफल पारौं

0
1168

सम्पादकीय

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ । महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने र हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल गरिने प्रतिबद्धतासहित यो अभियान सञ्चालनमा आएको हो । विभिन्न स्थानीय तहहरुले आफ्ना पालिकाभित्रका महिला स्वास्थ्य स्वयम्सेविका, महिला सदस्य, विद्यालयमा अध्ययनरत् बालबालिकालाई महिला अभिमुखीकरण लगायत सकारात्मक सोच र आत्मरक्षाको तालिम पनि दिइने कार्यक्रमसहित यो अभियान मनाउने तयारी गरेका छन् । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ‘समानताको पुस्ता ः बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको हो । हरेक वर्ष अभियान चलाइए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् । अध्ययन अनुसार विश्वभर प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनीहरुका अत्यन्तै निकट नातेदार वा जीवन साथीबाट भोगेका पाइएको छ ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गको आधारमा भेदभाव गरिने छैन भन्ने उल्लेख गरिएको छ । आज पनि महिला माथि हुने हिंसा कम भएका छैनन् बरु हिंसाका अनेक रुप बाहिर आएका छन् । संविधानले महिला अधिकारका पक्षमा वकालत गरे पनि बनेका कानून कार्यान्वयन गर्ने निकायमा बसेकाहरु नै न्याय दिन उदासीन छन् । महिलाको हक अधिकारको रक्षा हुन्छ भन्ने कुरामा ढुक्क हुन सकिन्न । महिला हिंसाका अनगिन्ती घटना हामीले हाम्रै वरिपरि देखिरहेकै छौं । रक्षकहरु नै भक्षक हुँदा न्याय मरिरहेको दुःखद् अवस्था हाम्रो मुलुकमा छ । दाइजो, मादक पदार्थ, जुवातास, बालविवाह, बहुविवाह आदि नै महिला घरेलु हिंसाका प्रमुख कारक तत्व हुन् ।

घरेलु हिंसा राज्यको शैक्षिक, आर्थिक, राजनीतिक, कानूनी पाटोका त्रुटिहरु महिला हिंसाका कारण बनिरहेका छन् । वास्तवमा १६ दिने अभियान लोग्ने मानिसविरुद्धको अभियान होइन । महिला हिंसा पितृ सत्तात्मक सामाजिक संरचनाका कारण भएको हो । महिला हिंसामा महिलाहरु पनि सामेल भएका धेरै उदाहरणहरु छन् । यो अभियान सफल बनाउन महिला र पुरुष दुवैका सहकार्य आवश्यक छ । सबै पक्ष एकजुट हुन जरुरी छ । यो अभियान पानीको फोका जस्तो फुट्नु हुँदैन । १६ दिने अभियानले महिला हिंसाविरुद्ध बोल्न थोरै भने पनि साहस दिने गरेको छ । आम मानिसमा महिला अधिकार सम्बन्धी सचेतना बढेको छ । महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गर्न यो अभियान सफल हुनेमा विश्वास गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here