झापा।

निर्माण व्यवसायी विकास मल्लले बिर्तामोड–भद्रपुर सडकखण्ड निर्धारित समयमै निर्माण सम्पन्न गर्ने बताएका छन् ।
झापाको बिर्तामोडमा विहीवार पत्रकार सम्मेलन आयोजना गर्दै उनले निर्माण व्यवसायी राजकिशोर गुप्तालाई पेटी कन्ट्याकमा सडक निर्माणको जिम्मा दिएकोमा उनले समयमा काम नगरेपछि उनलाई हटाएर आफैले सडक निर्माण गर्ने बताउँदै समयमै निर्माण सम्पन्न गर्ने बताए ।
अहिलेसम्म ३० प्रतिशत मात्र सडक निर्माणको काम भएको उल्लेख गर्दै उनले अब निर्माण कार्यलाई तीव्रता दिइने जनाए । निर्माण व्यवसायी केदार गिरीसंग सामान लिएर धमाधम सडक निर्माणको काम हुन्छ– उनले भने – तीब्र गतिमा काम गरेर वर्षअघि नै सडक हस्तान्तरण गर्छाैं ।
२०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गरी करसहित २७ करोड ९ लाख ७० हजार ९६ रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो । समयमा सडक निर्माण नहुने अवस्था देखिएपछि जनप्रतिनिधि र स्थानीयको दवावमा कामलाई तीब्रता दिन डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले आशिष प्रेरा जेभीलाई दवाव दिएका थिए ।
सडकबाट हालसम्म भ्याट बाहेक सो सडकको ६ करोड ४५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । काम सक्नु पर्ने समय ४६ दिन मात्र बाँकी छ । सार्वजनिक खरिद नियमावलीमा ६ महिना म्याद थप्न सकिने व्यवस्था छ ।
विर्तामोडको भद्रपुर रोडमा विर्ताबजारसम्म ४ लेन र त्यसपछि २ लेन निर्माण हुने पहिलेको ठेक्का थियो । पछि प्रधानमन्त्रीको निर्देशनमा सबै ४ लेनको बनाउने भनेर ठेक्का थप भएको छ । प्रमुख यादवले पुस मसान्तसम्ममा नै काम सक्नुपर्ने सम्झौता रहेको र अहिलेसम्म म्याद थप नगरिएको बताए ।































