झापा ।

प्रहरीले झापाको बिर्तामोड नगरपालिका – ३ बिर्तावजार क्षेत्रबाट आइतवार ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीे टोलीले तीन हजार लिटरभन्दा बढी मदिरा र मदिरा वनाउन प्रयोग गरिने कच्चा पदार्थ वरामद गरेको हो । झापालाई गत वर्ष माघ १ गतेबाट घरेलु मदिरा नियन्त्रित जिल्ला घोषणा गरिएको थियो । तर, बिर्तावजार क्षेत्रमा ठूलो परिमाणमा घरेलु मदिरा उत्पादन र बिक्री बितरण हुँदै आएको सूचनाको आधारमा मदिरा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
थापाका अनुसार नियन्त्रणमा लिएको मदिरा आइतवार नै नष्ट गरिएको छ । यसअघि प्रहरीले शनिवार मात्रै बुट्टावारी र बसपाार्क क्षेत्रबाट पनि घरेलु मदिरा बरामद गरेको थियो ।
गत बर्षको कात्तिक ७ गते झापाको कनकाई नगरपालिकामा सम्पन्न स्थानीय तहको संयुक्त बैठकले झापामा घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार २०७५ माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गरिएको हो ।
झापाका राजनीतिक दल, उद्यमी, व्यवसायी, स्थानीय सरकार प्रमुख तथा प्रशासनको सहमतिमा कात्तिक ७ गते आन्तरिक राजश्व कार्यालयले यो अभियानको शंखघोष गरेको थियो । राजश्व कार्यालयका तत्कालीन प्रमुख बोलराज आचार्यले तीन चार महिनाभित्रै झापालाई मदिरा निषेधित जिल्ला नै बनाउने अभियानको लक्ष्य रहेको भन्दै गरेको उद्घोषमा तत्कालीन प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दलका प्रतिनिधि र जनप्रतिनिधि समेतले हस्ताक्षर गर्दै अभियानलाई पूर्ण रुपमा प्रभावकारी बनाउने प्रतिवद्धता जाहेर गरेका थिए ।
अपराधको मूल कारण मदिरा रहेको र मदिरा नियन्त्रण नभएसम्म अपराध नरोकिने भन्दै प्रहरी उपरीक्षक ढकालले जिल्लामा घटेका अपराधका तथ्याङ्क प्रस्तुत गरेका थिए । प्रहरी उपरीक्षक ढकालले घरेलु मदिरा बेचविखनमा पूर्ण रुपमा बन्देज गरेको घोषणा गरेका थिए ।
घरेलु मदिरा नियन्त्रण ऐन २०३१ले नै घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाए पनि पछिल्लोपटक प्रहरीले शुरु गरेको अभियानले प्रभावकारिता पाउने धेरैले विश्वास लिएका थिए । तर, प्रहरी उपरीक्षक ढकालले शुरु गरेको अभियान उनी वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएर काठमाडौं सरुवा भएसँगै नारामै सीमित बनेको थियो ।
अन्तःशुल्क छलेर मदिराको अवैध कारोवार हँुदै आएको झापामा यो अभियान शुरु भएसँगै अन्तःशुल्कको नक्कली स्टिकर टाँस गरेको समेत फेला परेको थियो । घरेलु मदिरामा भारतमा निर्मित मदिराका स्टिकर टाँसेर बजारमा छ्याप्छ्याप्ती भेटिनु र मदिराको अवैध कारोवार रोक्न अभियानले सहयोग पु¥याए पनि अभियानलाई निरन्तरता नदिँदा अहिलेपनि भारतबाट लुकाइछिपाइ ल्याएर स्टीकर टाँस्दै खुलेआम नक्कली रक्सीको बेचबिखन भइरहेको बताइएको छ ।
तर, इलाका प्रहरी कार्यालय अनारमनीले घरेलु मदिरा नियन्त्रणका लागि पछिल्लो समय चालेको कदमको सबैले स्वागत गरेका छन् ।































