कन्याममा होमस्टे

0
1155

इलाम।

सानो घरमा सिंगारिएका कोठाहरु । सफा र चिटिक्क परेको आँगन । प्रत्येक घरको प्रबेशद्वारमा पानीले भरिएका जोर घडा । इलामको कन्याममा भर्खरै शुरु भएको होमस्टेमा पुग्दा यस्तै दृष्य देख्न सकिन्छ ।

स्थानीयबासीले देउराली भ्यू कन्याम सामुदायिक होमस्टे नामक घरबास सेवा सञ्चालनमा ल्याएका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी इलाममा बिभिन्न कार्यक्रमहरु भइरहँदा सो होमस्टे पनि सञ्चालनमा आएको हो ।

बजार र महंगा होटलहरुमा मात्रै पर्यटक तथा पाहुनाहरु बस्न मन नपराउने भएकाले गाउँले परम्परा अनुसारको सेवा प्रदान गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याएको देउराली भ्यु होमस्टेका अध्यक्ष अम्बिर तामाङ बताउँछन् । ‘ठूला होटलहरुमा मंहगा खानेकुरा पाइने भए पनि होमस्टेमा पारिवारिक बातावरणमा सेवा दिइन्छ’ –होमस्टेका अध्यक्ष तामाङले भने–‘हामीले प्रत्येक पाहुनासँग परिचय गरेर नजिकैको पर्यटकीय क्षेत्रहरुको भ्रमण समेत गराउने गरेका छांै’ ।

कन्याममा स्थानीय २० घर परिवारको एक समूहले सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । यो घर संख्या बढाएर ५० हाराहारी सम्म पु¥याउने लक्ष्य रहेको शिक्षक एवम् होमस्टे सञ्चालक सदस्य तेजेन्द्र तामाङ बताउँछन् । ‘तामाङ क्षेत्री र बाहुन जातिको बसोबास रहेको क्षेत्रमा होमस्टे सञ्चालनमा आउँदा समाजमा एक अर्कामा सहयोगको भावना बिकास भएको छ– उनले भने– ‘होमस्टेको आर्थिक पाटोभन्दा सामाजिक पाटो महत्वपूर्ण रहेछ’ ।

पाहुनाहरुलाई कल्चरल शो पनि दिने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने गीता तामाङको योजना रहेको छ । देउराली भ्यू होमस्टे नामकरण गरिएको होमस्टे समूहभित्र बिभिन्न ब्यक्तिहरुले आ–आफ्नै नाममा होमस्टेहरु सञ्चालनमा ल्याएका छन् । आएका पाहुनाहरुलाई सामुहिक रुपमा स्वागत गर्ने बिभिन्न नृत्य तथा प्रस्तुतिहरु देखाउने, मनोरञ्जन गराउने लगायतको योजना रहेको अम्बिका होमस्टेकी सञ्चालिका अम्बिका पौडेल बताउँछिन् ।

मेची राजमार्गको हर्कटेबाट कन्याम सडक खण्डको चियाबारी क्षेत्रमा पूर्व एउटा नयाँ बाटो खनिएको छ । त्यही बाटोबाट १० मिनेटको पैदल यात्रा पछि होमस्टे भएको सुन्दर बस्तीमा पुग्न सकिन्छ । हालै एक कार्यक्रमगरी होमस्टे एसोसिएसन १ नम्बर प्रदेश समितिका उपाध्यक्ष धरणी घिमिरे, सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिव बस्नेत र ७ का वडाअध्यक्ष लेखनाथ खड्काले संयुक्त रुपमा देउराली भ्यू होमस्टेको उद्घाटन गरेपछि होमस्टे सञ्चालनमा आएको हो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ सूर्योदय नगरपालिकाका टीका अधिकारी, सञ्चारकर्मी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो । होमस्टेमा एकैपटकमा करिब एक सयजना पाहुना राख्न सक्ने गरी खान र सुत्नको ब्यवस्था मिलाइएको होमस्टे सञ्चालक समितिले जनाएको छ । यसअघि अन्तुमा पनि यस प्रकारको होमस्टे सञ्चालनमा आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here