सम्पादकीय
सर्वसाधारणले अत्यधिक विश्वास गर्दै आएको बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएका विभिन्न बैंकिङ सुरक्षा समस्याले बचतकर्तालाई द्विविधामा पार्न थालेको छ । बैंककै कर्मचारीको प्रत्यक्ष संलग्नता तथा गलत मनोवृत्ति र प्रविधिले भित्र्याउँँदै आएका विकृतिले यस्ता समस्या बढ्दै गएका छन् । बैंकमा पैसा छ, सुरक्षित छ भनेर बस्न नहुने भएको छ । पछिल्लो बैंिकङ ठगीको श्रृंखलालाई हेर्दा बैंकको प्रणालीमा कमजोरी देखिएको नभई मानवीय गलत नियत र प्रविधिको दुरुपयोग बढी देखिएको छ ।
ग्राहकहरु होसियार नहुने हो भने ठगिने क्रम बढेर जाने निश्चित छ । व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ । केही दिनअघि जनता बैंकका ग्राहक गोपालमान राजवाहकको खाताबाट अपरिचित व्यक्तिले करिब १९ लाख रुपैयाँ निकालेका छन् । आफ्नो खाताबाट रकम झिकिएको म्यासेज पाएपछि बैंकमा पुगेका राजवाहाकको समस्याको समाधान भएन । त्यसपछि राति नै प्रहरीको सम्पर्कमा गएका गोपालमानले चेकबुक र एटीएम कार्ड आफूसँंग सुरक्षित हुँदाहुँदै अपरिचितले रकम झिकेको एसएमएस देखाएपछि प्रहरीले शङ्का लागि घटनाको अनुसन्धान शुरु गरेको हो ।
जनता बैंकको न्युरोड शाखाबाट तीन पटक गरी उनको खाताबाट १९ लाख रुपैयाँ झिकिएको हो । सो रकम झिक्न अभियुक्तहरूले गोपालमानको खाता नम्बर मात्र नभई हस्ताक्षर चोरी र चेकबुक कपी गरेको पाइएको छ । यो घटनामा बैंकका कर्मचारीको समेत मिलेमतो हुनसक्ने आरोप प्रहरीको छ । अपराधी समूहले खाता नम्बर र हस्ताक्षर चोरी गरी चेकबुक हराएको बहाना बनाई गोपालमानकै नाममा नयाँ चेकबुक बनाई यतिको रकम झिकेका हुन् । अभियुक्तहरूले विभिन्न व्यक्तिको नाममा नयाँ खाता खोल्ने र एउटाको खाताको रकम अर्कैको खातामा जम्मा गरी झिक्ने गरेको पाइएको छ ।
केही महिनाअघि एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिकेका थिए । चिनियाँ ह्याकरहरुको ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गरेका थिए । चोरी गर्दागर्दै पाँच जना चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यतिबेला पनि एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए नभएको प्रश्न उठेको थियो । यस्ता समस्या न्यूनीकरणका लागि बचतकर्तामा पनि सचेतना आउनुपर्ने हुन्छ । बैंक खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ भन्ने भ्रममा पर्नुहुन्न । बैंकिङ प्रणाली सुरक्षित बनाउन नेपाल सरकारले थप पहल गर्न जरुरी छ । ‘अहिले हामी सुरक्षित छौं’ भन्ने भाव निक्षेपकर्तामा सृजना गर्न आवश्यक छ । सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको विश्वास दिलाउन सरकार र बैंक आबद्ध निकायहरु सक्षम हुनसके मात्र बैंकप्रतिको आस्था कायम राख्न सकिन्छ ।




























