डडेल्धुरामा १३६ एचआइभी सङ्क्रमित

0
473

अमरगढी,

डडेल्धुरामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एचआइभी सङ्क्रमित हुनेमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको एक तथ्याङ्कले जनाएको छ ।

एचआइभी सङ्क्रमित १३६ जनामध्ये डडेल्धुरामा हालसम्म ९६ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् । बाँकी सङ्क्रमितले पुनं कामका लागि अन्य स्थान वा भारत जाने–आउने क्रमले गर्दा नियमित औषधि सेवन नगरेको तथ्याङ्कले देखाएको छ । तीमध्ये आठ शिशुसमेत एचआइभी सङ्क्रमित छन् । सङ्क्रमितमध्ये ४३ पुरुष र ५३ महिलाले नियमित एआरटी लिइरहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

करीब १० वर्षदेखि एआरटी सेवा लिइरहनुभका एचआइभी सङ्क्रमित पशुपति साउदले भन्नुभयो, “कामको सिलसिलामा भारत गएका श्रीमान्बाट नै म सङ्क्रमित भएको हुँ, सोही रोगले करीब १० वर्ष अगाडि मेरा श्रीमान् बितेका हुन् । श्रीमान् पनि रहेनन्, सहारा पनि छैनन् । अब गरी खानका लागि सीप सिक्न पाए हुन्थ्यो ।”

उनीलगायत अन्य एचआइभी सङ्क्रमितलाई अहिले घरखर्च चलाउन पनि समस्या परिरहेको छ । रोजगारीका लागि भारत जाने गरेका युवामार्फत नै एचआइभी भित्रिने गरेको स्वाथ्य कार्यालय डडेल्धुराका सूचना अधिकारी जनक चन्दको भनाइ छ । उहाँले भन्नुभयो, ‘जिल्लामा रहेका एआरटी लिइरहेका ९६ जना एचआइभी सङ्क्रमितहरू सबै भारतमा रोजगारी गर्न गएकामध्येका नै हुन् ।”

गरिबीका कारण रोजगारीका लागि भारत पुग्ने उनीहरू नै सङ्क्रमित भएको भेटिने चन्दले बताउनुभयो । खुला सिमाना भएको र सीमामा कुनै जाँच नै नहुने हुँदा भारत जाने मानिसमा बढी एचआइभी सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो ।

भारत जाने–आउने सङ्क्रमितले नियमित औषधि नलिँदा र जाँच नगर्दा एचआइभी सङ्क्रमितको तथ्याङ्कसमेत राख्न सरोकार भएको कार्यालयलाई समस्या भएको छ । जिल्लाका अन्य क्षेत्रसँगै भित्री मधेश जोगबुढाबाट कामका लागि भारत जानेको सङ्ख्या पनि धेरै छ ।

अधिकांश मानिस घरमा काम हँुदा फर्किने र बाँकी समय घरपरिवारको खर्च धान्नका लागि ज्यालादारी गर्न भारत जाने गर्छन् । असुरक्षित यौन सम्पर्क, लागुऔषध सेवन र सुई तथा अन्य माध्यमले एचआइभी सङ्क्रमित हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here