के हो टु प्लस वान ?

0
1679

ओम आचार्य,

चीनका राष्ट्रपति सि चिनफिंग नेपाल भ्रमण आउनु हँुदा भारत हँुदै नेपाल प्रवेश गर्नुभएको थियो । नेपाल प्रवेश गर्नु पूर्व भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर आउनुभएको थियो र त्यतिखेर भारत र चीनले ‘टु प्लस वान’को अवधारणा ल्याएको छ यो शब्दले विशेषतः पाकिस्तान र नेपाललाई मनोवैज्ञानिक असर पार्ने देखिन्छ । अझ बढी प्रभाव र असर र त्यसको चोट नेपाल हुने देखिन्छ ।

भारतले भर्खरै प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालका लिपुलेक लगायतका भू–भागहरु र काश्मिर समेत समेटेर प्रकाशित गरेको नक्सा आउनु र ‘टु प्लस वान’को शब्द प्रयोग भएर आएको अवधारण ले नेपाल र पाकिस्तान दुबै यो अवधारणा प्रति सशंकित हुनु स्वभाविक हुन्छ । भारतले नक्सामा पारेको नेपालका भू–भागहरु नेपाल कै भएको सत्य र तथ्य बुझी–बुझी नक्सामा कुनै फेरबदल गरिएको छैन भन्दै आफ्नै भएको हठ प्रस्तुत गर्नुलाई अहिले यो ‘टु प्लस वान’को अवधारणाले यस्तो अभिव्यक्ति आएको हुन सक्छ ।

‘टु प्लस वान’ भनेको के हो ? यसको अर्थ गणितमा भिन्नै होला ! तर, राजनीतिक अर्थ भिन्नै लिन सकिन्छ । भिन्नै यसकारणले लिन सकिन्छ कि दुई राष्ट्रका शीर्ष राजनीतिज्ञबाट आएको शब्दको अर्थ राजनीतिक रुपमै हेर्नु र खोज्नुपर्छ । नेपाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीन हुन र नेपालको सन्दर्भमा यी दुई राष्ट्रको यो ‘टु प्लस वान’ नेपालको कुनै पनि अन्तर्राष्ट्रिय समस्या र त्यो समस्याबाट सृजित विवादमा दुबै राष्ट्र उदासीन हुन सक्छन् । उदासीन यस अर्थमा कि नेपालले भारतको विषयमा कुरा उठाउँदा चीन उदासीन र चीनको विषयमा कुरा उठाउँदा भारत उदासीन यो नै ‘टु प्लस वान’ को अवधारणा हुन सक्छ र यस्तै अवधारणा पाकिस्तान प्रति पनि हुन सक्छ । ‘टु प्लस वान’ भने कै राजनीतिक अर्थमा ‘एक’ हुनसक्छ र यो ‘एक’ नेपाल र पाकिस्तान प्रति यी दुई राष्ट्रको अवधारणा हुन सक्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत आफ्नो राजनीतिक टिप्पणीमा भारतले नेपाललाई पाकिस्तान जस्तै व्यवहार गर्यो पाकिस्तानकै कोटीमा राख्यो भन्नु पनि यही संकेत हो भने नेकपा अध्यक्ष प्रचण्डबाट पनि यो अवधारणा प्रति सन्देह गर्दै यसले त्रिपक्षीय, त्रिदेशीय साझेदारी सिद्धान्तलाई नकारेको कुरा राख्दै असन्तुष्टी प्रकट गरिसक्नु भएको हँुदा भविष्यमा यो अवधारणा नेपालका लागि शुभ संकेत भने पक्कै होइन ।

‘टु प्लस वान’को अवधारणा यो शब्द विशेष गरेर नेपाल कै लागि प्रयोग गरी दुई राष्ट्रले लिएको साझा अवधारणा हो । जसले नेपालको त्रिदेशीय साझेदारी अवधारणालाई तुहाउने नै छ र नेपाललाई यी दुई राष्ट्रको अवधारणाले निरीह र दयनीय बनाउने प्रयत्न गर्नेछ । यसको समयमै नेपालले यो अवधारणालाई आफ्नो पुरानै मित्रतालाई कायम गर्दै कुटनीतिक हिसाबले निस्क्रिय र निश्चेत गर्नु त्रिदेशीय साझेदारी रणनीतिमा सफल मानिने छ ।

नेपालको सार्वभौमको सवालमा भोलि उठ्ने कुनै पनि मुद्दामा अब भारत र चीनको एउटै मत रहने संकेत नै ‘टु प्लस वान’को अवधारणाले संकेत गरेको देखिन्छ । अब यो अवधारणाले भारत पनि चीन हो कि ? र, चीन पनि भारत हो कि ? यस्तो संसय नेपालले आफ्नो सार्वभौमको मुद्दामा यस्तो अनुहार भविष्यमा देख्न सक्दैन भन्न सकिँदैन ।

‘टु प्ल्स वान’ भने कै केही निश्चित र कुनै राष्ट्रको विषयमा साझा अवधारणा बनाउँदै दुई राष्ट्र समाहित हुनु नै ‘टु प्लस वान’को अवधारणा आउनु हो । र, यो नेपालले गम्भीर रुपमा लिनुपर्छ र भविष्यमा यसले कुनै संकट पैदा नगरोस् । बेलैमा सचेत रहनु दुई तिहाइ सरकारको कर्तव्य देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here