एचआइभी एड्स र थ्री जिरो

0
581

डिसेम्बर १ मा ३२औं विश्व एड्स दिवस सम्पन्न भएको छ । विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यु भएका सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिका लागि दीप पनि प्रज्ज्वलन समेत गरिएको थियो । यस वर्षको नारा ‘एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ रहेको थियो । पहिलो पटक १९८१ मा अफ्रिकामा पहिलो पटक देखिएको एचआइभी एड्स संक्रमण देखिएको थियो । नेपालमा एचआइभीको पहिलो संक्रमण सन् १९८८ मा देखिएको थियो । सन् १९८८ देखि नै हरेक वर्ष डिसेम्बर एक तारिखका दिन एड्स दिवस मनाउने गरिन्छ । संक्रमणको दरलाई घटाउन र एड्सको महामारीलाई अन्त्य गर्ने दीगो विकास लक्ष्यको कार्यक्रमलाई सफल बनाउन समेत यो दिवस मनाउन थालिएको हो । अहिले पनि एड्स संक्रमितहरुको अवस्था निरीह र टिठलाग्दो छ । वास्तवमा यो दिवसका अहिलेसम्मका हरेक वर्षका फरक–फरक नारा कतिको सार्थक भएका छन् वा यो दिवसले के साच्चै यसको संक्रमण दरमा कमी ल्याएको छ यसतर्फ फर्केर हेर्न जरुरी छ ।

एचआइभीका कुरा गर्दा संसारभरि नै तिनवटा शून्य अर्थात् थ्री जिरोको अवधारणा अत्यन्त चर्चित छ । प्रथम शून्यले एचआइभी संक्रमितको मृत्युदर शून्यमा पु¥याउने, दोश्रो शून्यले नयाँ एचआइभी संक्रमण दर शून्यमा पु¥याउने तेश्रोले एचआइभी संक्रमितप्रतिको भेदभाव दर शून्यमा पु¥याउने कटिबद्धता जनाउँदछ । अहिले थ्री जिरोको अवधारणा कतिको सार्थकता पाएको छ छर्लङ छ । हुन त दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा एचआइभीको संक्रमण शून्यमा झार्ने कार्यक्रम रहेको छ। यसको नियन्त्रणमा सरकारी अनि गैरसरकारी संघ–संस्थाहरु पनि नलागेका भने होइनन् ।

देशभर यस्ता सरकारी तथा गैरसरकारी संघ–संस्था क्रियाशील छन् । उनीहरुको सहयोग मेहनतका कारणले नेपालीहरुमा एचआइभी प्रति ज्ञान र जनचेतनामा अभिवृद्धि भएको छ । वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरु, पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरु, सुइद्वारा नसा सेवन गर्ने व्यक्तिहरु तथा असुरक्षित यौनकर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरु नेपालमा एचआइभीको जोखिममा धेरै भएका समूहहरुमा मूख्यतः पर्ने गरेका छन् । यसलाई कसरी कम गर्ने त भन्ने विषयमा सबैको ध्यान जान जरुरी छ । संक्रमति हुनेमा अहिले पनि महिलाको तुलनामा पुरुष नै धेरै छन् । पुरुषहरु कामको शिलशिलमा विदेशिने भएकाले पनि यो समस्या आएको हो । सरकारले मुलुकका विभिन्न ठाउँमा केन्द्र बनाई एचआइभी परीक्षणको व्यवस्था गरेको छ भने पाँच दर्जनभन्दा बढी एआरटी साइट सञ्चालनमा ल्याएको छ । त्यस्तै आमाबाट बच्चामा एचआइभी सक्रमण सर्नबाट रोक्न विभिन्न ५५ जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ । एचआइभी संक्रमितहरुलाई निःशुल्क रुपमा एआरभी भाइरस ओखती खान पाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्य केन्द्रमा गरेको छ ।

हाम्रो समाजमा एचआइभी एड्स संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । भेदभावरहित समाजको सिर्जना हुन नसक्नु संक्रमण नियन्त्रणको मुख्य चुनौति मान्न सकिन्छ । एचआइभीलाई अहिले संसारभरिनै एउटा रोगभन्दा पनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआइभी संक्रमितहरु एड्स लागेका होइनन् । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता बढाउने अभिप्रायले विश्वभर एड्स दिवस मनाउन थालिए पनि यसबारेको शिक्षा अझै अपूरो झै छ । संक्रमितबाट रगत लिएमा संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहने तथा असुरक्षित यौन सम्पर्कका कारण पनि यो सर्न सक्ने सम्भावना बढि हुन्छ ।

पहिलो एचआइभी संक्रमित भेटिएको तीन दशकमा नेपालमा एड्स रोगी संख्या २४ हजार पुगिसकेको छ । अझ भयावह कुरा, यी मध्ये करिब नौ हजारले मात्र नियमित रूपमा एचआइभीविरुद्ध औषधि सेवन गरिरहेका छन्, यो मुलुकका लागि ज्यादै खतरा रहेको स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सुरक्षित यौन जीवनका लागि हरेक स्वास्थ्यचौकी र ओखती पसलमा कण्डम पाइन्छ भने विस्तारै यौन, प्रजनन् स्वास्थ्य, अधिकार तथा यौनजन्य संक्रमणहरुमा खुल्लारुपमा कुरा हुन थालेको छ । स्कूलका पाठ्यक्रममा पनि यौनजन्य संक्रमण र एचआइभीका कुराहरु पढाइनाले आउँदा पुस्ताहरु यस्ता जोखिमपूर्ण क्रियाकलापविरूद्ध समयमै सचेत हुनसक्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here