पर्यटन वर्षको सफलता अग्रसरतामा निर्भर

0
476

नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब केही दिनमात्र बाँकी छ । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको सफलता अपेक्षित पाहुनाको आगमनले निर्धारण गर्नेछ । ‘बिहानीले दिउँसोको संकेत गर्छ’ भनाइलाई मान्ने हो भने आजका दिनसम्ममा सरकारको नारा ‘फगत नारा’ नै रहने अनुमान गर्न सकिन्छ । भूगोल अनुसार हाम्रो देशमा चारैतर्फबाट आवागमन गर्न सकिन्छ । त्यसमा पनि सबैभन्दा सहज, सरल र सुरक्षित मार्ग स्थल मार्ग नै हो । हवाई सेवाको निश्चित, भरपर्दो र सहज पहुँच नभएका कारणले पनि स्थल मार्ग आवागमनको सहज माध्यम बनेको छ । तर, आगमनलाई लक्षित गरी राज्यका स्थानीय सरकारका तर्फबाट कुनै प्रभावकारी अग्रसरता आजपर्यन्त देखिएको छैन ।

भौतिक विकासको उच्चतम् उपलब्धि हानीसँग छैन । बाह्य पर्यटकहरु त्यसका लागि नेपाल आउने पनि होइनन् । यहाँका प्राकृतिक जातीय, सांस्कृतिक तथा धार्मिक महत्वका वस्तु तथा स्थानको अध्ययन–अवलोकनका लागि आउन चाहने पर्यटकहरुको सेवा–सुविधातर्फ यथोचित सेवा प्रवाह नगरिँदासम्म उनीहरु आकर्षित हुने छैनन् । हाम्रा अग्ला डेढ दर्जन हिमश्रृंखला मध्ये एक दर्जन हिमाल हाम्रैमा छन् । तिनको आरोहणदेखि खुल्ला आँखाले हेर्ने र स्पर्श गरेर अनुभूत गर्ने पर्यटकहरुको लालसा र अभीष्ट सरकारी तथा सम्बद्ध निकायहरुले प्रवाह गर्ने पर्यटनमैत्री व्यवहार र नीतिमा निर्भर रहन्छ । कोही पर्यटक नठगिउन्, सुरक्षाको प्रत्याभूति होस्, न्यूनतम् अपेक्षा र सेवासुविधा उपलब्ध होस् त्यसतर्फ सबै सम्बद्ध निकायको गम्भीर अग्रसरता आवश्यक छ ।

बाह्य पर्यटकहरु नेपाल आउनुका पछिको मूल उद्देश्य मनोरञ्जन, अध्ययन, अवलोकन नै हो । प्राकृतिक सम्पदाको अथाह स्रोत, सामाजिक सांस्कृतिक एवम् जैविक विविधताको अतुल्य उपस्थितिले बर्षेनि लाखौं पर्यटकहरु भित्र्याइरहेको अवस्थामा राज्यले नै अग्रसरता दिने हो भने यो संख्या धेरै गुणा बढ्न सक्छ । अझ हस्तकलाका अनुपम उदाहरणका रुपमा रहेको प्राचीनकालीन वस्तुकला, मूर्तिकला र चित्रकलाको संरक्षण तथा प्रवद्र्धनले पर्यटकलाई झनै लोभ्याउने निश्चित छ । तर, हाम्रा अुगवा, नेतृत्वकर्ता वा गणसँग त्यसखालको दृष्टिकोण र निष्पृह सेवाको भाव नै देखिएको छैन । पर्यटक भित्रिने नाकाहरुमा पर्यटन सम्बद्ध इकाइ स्थापित छन् । तर, चाहिने नीति निर्देशन र अधिकार छैन । जसका कारण उचित सल्लाह सहयोग र मार्गदर्शनको अभावमा एकपटक आएका पर्यटक दोहो¥याएर आउन चाहँदैनन् ।

देशको एकमात्र अन्तर्राष्ट्रिय आगागमन मार्ग भनिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाहुनाहरुले हैरानी भोग्नु परेको समाचार दिनहुँ प्रकाशन भइरहन्छन् । स्थल मार्गको अवस्था त्यस्तै छ । आफूसँग भएका पर्यटकीय क्षेत्रहरुको पहिचान, संरक्षण र विकासका लागि कुनै नीति, योजना र कार्यक्रम नै छैन । कतिपय स्थानीय तहले आफूसँग भएको ‘मणि’लाई चिन्ने कोशिस गरेको भए पनि राज्यद्वारा संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पहल नहुँदा अपेक्षित आकर्षण दिन सकेका छैनन् । यस्तोमा पर्यटक लक्षित यातायात, आवास, खाद्य व्यवस्था, सञ्चार जस्ता आधारभूत सेवाको पहुँच विस्तार गर्न सक्नुपर्छ । अन्यथा जति कराए पनि बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने छैन । यो सँगै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि समेत उचित सेवा–सुविधा प्रवाह गर्न तीनै तहका सरकारको मुख्य लक्ष्य हुनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here