जटिल बन्दै सीमा विवाद, फरक धारमा नेताहरु

0
524

झापा।

भारतले नेपालको भूमि मिच्दै नक्सामा समेत कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि नेपालीले चर्को बिरोध गरे तर नेताहरुले भने सीमाको विषयमा फरक–फरक अभिव्यक्ति दिएका छन् ।

सीमा मिचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकले भारतले नेपालको सीमाना मिच्ने काम गर्दै भारतीय नक्सामा नेपालको भूमि समावेश गरेको निष्कर्ष निकालेको थियो । सबै दलहरुले भारतलाई यो विषय तत्काल सुधार गर्दै नेपाली भूमि अतिक्रमण रोक्नुका साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको दाबी गरे ।

दलहरुले सरकारलाई सीमानाको विषयमा राजनीतिक तथा कुटनीतिक तबरबाट समस्या समाधान गर्न आग्रह गरेका थिए । केही समय अघि काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली सीमा मिचेर बसेका भारतीय सेना लिपुलेकबाट तत्काल फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालको एक इञ्च भूमि कसैलाई नदिने र कसैको एक इञ्च जमिन पनि नचाहिने अभिव्यक्ति दिएका थिए ।

सार्वजनिक कार्यक्रममा बोल्दै नेताहरुले सीमानाको विषयमा फरक–फरक अभिव्यक्ति दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कुटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिस गर्नुपर्ने बताए । प्रेस सङ्गठन नेपालद्वारा धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने विचार व्यक्त गरे ।

सर्वपक्षीय सर्वदलीय बैठकको सुझाव अनुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै उनले त्यसको जवाफ भने आइनसकेको जानकारी दिए । यता पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताए ।

इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इञ्च पनि मिच्न दिइने छैन भन्दै मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए । सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उनको भनाइ थियो । उनले लिम्पियाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए ।

यसैबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमा विवादको विषय तत्काल अन्तर्राष्ट्रिय करण गर्नुपर्ने बताएका छन् । राजधानीमा पत्रकारसंग कुरा गर्दै केसीले भारतसँग नेपालका नेता तथा सरकारले दर्बिलो तवरमा कुरा गर्न नसकेको विचार व्यक्त गरे । सर्वदलीय बैठकमा नेताहरुले सरकारलाई तत्काल सीमानाको विषयमा कुरा उठाउन आग्रह गरे पनि सरकारले आलटाल गरिरहेको भन्दै जनताले दबाब सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे । भारतले सीमाको विषयमा कुरा ननिकाल्ने र नेपाललाई नटेर्ने भएकाले सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प नेपालसँग नरहेको अध्यक्ष केसीको भनाइ छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समावेश गरेसंगै केही समय विभिन्न राजनीतिक दल तथा विद्यार्थीहरुले आन्दोलन गरेपनि पछिल्लो समय सीमा विवादको मुद्दा ओझेलमा पर्दै गएको छ । यसैबीच नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेको भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि कहिले जाने भन्ने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here