त्यो रात जुनको कमलो प्रकाशमा
खुकुरी र खुँडा बोकेका
छ दर्जन वीर गोर्खालीले छोडेको
त्यो किल्ला नालापानी
आँशु र रगतको मोल खोज्दै
आज कालापानीमा जन्मनुपर्छ
पानीले प्याक–प्याक परेका
बलिष्ठ शरीर बोकेर
जब निस्केथे बलभद्रहरु
उनका सम्मानमा अंग्रेजी सेनाले
लेखेका ती शिलालेखहरु सम्झेर
ए मेरा काँल्दाइ र माल्दाइ
केही त बोल !
सात रात पानीको घुट्कोसम्म नपाएका
मेरा पुर्खाको आमाशयमा
उम्रेको हाइड्रोक्लोरिक अम्लको डकारले
भागेको इष्ट इण्डिया कम्पनी
तोपका गोलामा छट्पटाएर पनि
आत्मसमर्पण नगर्ने आफ्नी हजुरआमा सम्झेर
मेचीको दबिएको पुल मुनीबाट
यो अक्षरको विचार पसारा पार्दा
आमाशयमा इण्डियन चामल
र तेलको बोसोले भिजाउने नीति बनाउने
दाइ तिमी नै होइनौ ?
बिषालु मालाको भारी गर्धनमा राखेर हाँस्ने
तिमी नै होइनौ ?
आमाको शिर चुँडिएको बेला
ए मेरा काँल्दाइ र माल्दाइ
केही त बोल !
काली पारी र वारी लिपुलेक र कालापानी
कालीको मुहान लिम्पियाधुरा
तराइको सुस्ता र पूर्वको माने भञ्ज्याङ
झापाको पाठामारी र मोरङको बुद्धनगर
मेरी आमाको छातीमा लगातार झम्पलले हान्दा
तिमीले आमाको रगतसँग
सत्ताको सौदावाजी गरेको होइन र ?
कैले काइँलाको नाममा
कैले माइलाको नाममा
कैले आलोपालो कैले मिलिजुली
सबैखाले स्वादमा रमाइसकेका
ए मेरा काँल्दाइ र माल्दाइ
केही त बोल !
छिमेकी मित्र
सँधियार शत्रुमा बदलिँदा
तिमी पशुपतिमा माला जप्छौ
धोती लगाएको मधिसे सीमामा
जङ्गे पिल्लर समाएर लड्दा
तिमी टोपीमा राष्ट्रवाद खोज्छौ
भुटानका दाजुभाइ
सपुर्दगी गर्ने तिमी नै होइनौ ?
तिर्थाटनको नाममा उतैको पुकार गर्छौ
बगमतीमा ढलको खोलो बगाएर
गंगा स्नानमा जाने
तिमीले नै बनाएको संस्कार होइन र ?
स्वामी र बाबाजी नागा र राजनीति
सबैसँग साटिन सक्ने तिम्रो आधार
अब पखाल्ने बेला आएको देखेर
ए मेरा काँल्दाइ र माल्दाइ
केही त बोल !
छिटो बोल वार्ता गर त्यो नभए
अन्तर्राष्ट्रियकरण गर
त्यो पनि नभए मुद्दा हाल
भएन भने युद्ध गर
आमाको अस्मिता जोगाउन
म पनि लडाइमा भाग लिनेछु
हार्छु भन्दै भन्दिन भाग्न जानेकै छैन
बरु स्वीकार्छु तातो गोली
काली–काली जोडिएर महाकाली जन्मन्छिन्
अनि फेरि युद्ध हुन्छ महेसासुरहरु ढल्नेछन्
मेरो चण्डीले त्यही सिकाएको छ
गीता ले भनेको छ सत्यमेव जायते
लिम्पियाधुरामा भोज गर्ने मन छ
झापाली चामल, चितवनको तोरीको तेलमा
आमाले पकाएको
गुन्दु्रुक र भात खाने मन छ
भाइ बहिनीको यो चाहना सम्झेर
ए मेरा काँल्दाइ र माल्दाइ
अब केही त बोल !
तुलसीराम खरेल
बिर्तामोड झापा




























