भद्रपुर मारवाडी युवा मञ्च विघटन, सामूहिक राजीनामा

0
747

भद्रपुर,

झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिको निर्वाचनमा मारवाडी समुदायबाटै अन्तर्घात भएको भन्दै अहिले नगरभित्र चर्को आलोचना भइरहेको पाइएको छ। संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका अजय साहेवाला भद्रपुर मारवाडी संघका उपाध्यक्ष हुन्।

साहेवालालाई अध्यक्षमा हराउन मारवाडी संघसहित मारवाडी समुदायका अग्रज व्यक्तित्व नै लागि परेको भन्दै नगरभित्र यसले चर्चा बटुलेको छ। मारवाडी संघका उपाध्यक्ष तथा नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सदस्य समेत रहेका साहेवालाले संघको निर्वाचनमा पराजित भएसँगै आइतबार भद्रपुर मारवाडी संघको कार्यालयमा राजीनामा पत्र बुझाएको छ।

संघको उपाध्यक्ष साहेवालाले राजीनामा दिएसँगै मारवाडी युवा पनि उनकै समर्थनमा उत्रिएका छन्। भद्रपुर मारवाडी संघअन्तर्गत सञ्चालित भद्रपुर मारवाडी युवा मञ्चका अध्यक्षसहित अन्य पाधिकारीले पनि सोमबार बैठक बोलाएर सामूहिक राजीनामा दिँदै मञ्च नै विघटन गरिदिएका छन्।

मारवाडी युवा मञ्चका अध्यक्ष मुकेश मित्रुका, महासचिव दीपक अग्रवाल, सचिव अमित शर्मा, कोषाध्यक्ष नवीन अग्रवाल र सदस्यहरू अविनाश नाहटा, गोविन्द साहेवाला, प्रवीणकुमार जैन, मोहित शर्मा, रोहित सरिया, अमित कुमार सिङ्गी, अङ्कुश मित्रुका, हेमन्त सुर्ना, सन्दीप अग्रवाललगायतले राजीनामा दिँदै मञ्च विघटन गरेका हुन्।

‘भद्रपुर मारवाडी संघका उपाध्यक्ष साहेवालाले राजिना दिएको भन्दै हामी युवा सामूहिक रूपमा उहाँको समर्थनमा उभिएका हौं’, मञ्चका अध्यक्ष मित्रुकाले भने, ‘झापा उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनको मत परिणाम जे देख्यो। त्यो गलत भयो। हाम्रै समुदायभित्रैबाट अन्तर्घात भयो। त्यसैले मञ्चमा बस्नु कुनै औचित्य नै साथीहरूले देखेनन्।’ ‘राजीनामाको बारेमा मञ्चले नेपाल राष्ट्रिय मारवाडी युवा मञ्चलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेका छौं’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here