दीपक चापागाईं,
माथिलो गाउँको ठूले धेरै पटक सांसद भए उहाँ पहिलो पटक मन्त्री पनि भए उहाँको घर नजिकैको आन्तरिक विमान स्थल ओर्लने बित्तिकै तमाम पार्टी कार्यकर्ता भारतबाट आयात फूलको माला हातमा लिएर स्वागतका लागि तयार भएको उनका समर्थकहरुले लगाएका माला उनका गलाले नथाम्ने गरी माला पहिरिएर अगाडि–पछाडि प्रहरीको स्कटीङका साथ सयौं कार्यकर्ता आफ्ना–आफ्ना सवारीसाधन दुईपाङ्ग्रे, चार पाङ्ग्रे गाडीको लाइन लगाएर राजमार्गका यातायात नै जाम गरेर सयौं पैदलयात्रीलाई धुलो र धुवाको कुडुलो उडाएर ठाँटिलो स्वाभावले कयौं लिटर इन्धन डढाएर आफ्नो गाउँ पुग्दछन् । लाग्छ उनीलाई आफू राजा भएको आभाष सबैलाई दिलाउन चाहन्छन् ।
घर नजिकै सामुहिक पुराण लगाउने कुरा चल्दै थियो । धेरैले पुराण उद्घाटनमा बहालवाला मन्त्री ल्याउने मत जायर गर्छन् । वहालवाला मन्त्री ल्याएर उद्घाटन गरिएको पुराण भनेर नाक ध्रोक्र्याउने आयोजकको चुरीफुरी देखाउने आयोजकको जोड बल पनि त्यतै हुन्छ । हामीले फलानो मन्त्री ल्याएर ढिकानो मान्छे ल्याएर कार्यक्रम गरौं भन्ने धाक देखाएर चिया पसलमा गफ चुट्न पाउँदा हामी विश्वयुद्ध नै जितेको अनुभव गर्छौं । त्यही संस्कारको सिको सिकेर ए त्यो मात्रै धाक लगाउँछ, म त झन् मन्त्री कै नजिकको मान्छे हो म त –ऊ भन्दै म के कम भन्दै गाउँमा लाग्ने मेला बजारदेखि सामान्यभन्दा सामान्य कार्यक्रममा बोलाउने प्रचलन बढेको छ । मन्त्री पनि रिवन काट्न र गलामा माला र खादाको लगाउन र दुई चार शब्दहरु दई चार सय मानिसलाई सुनाउन पाउँदा भर्खरै मायाजालमा बाँधिएका प्रेमी जोडीले प्रेमीले प्रमिकालाई पे्रमको काहानी सुनाउन पाए झैं मख्ख हुन्छन् ।
हाम्रो कार्यक्रम सञ्चालनको पद्घति पुरानो परम्परागत भद्दा र पट्यार लाग्दो छ । यसलाई नयाँ र डिजिटल प्रविधिमा लैजान सकिएको छैन । धेरैजसो कार्यक्रममा प्रमुख अतिथिले बोल्ने पालो अन्त्यमा राखिएको हुन्छ । दर्शकहरुलाई पूर्ववक्ताहरुका अनावश्यक चर्चा र परिचर्चाका कारणले वाक्क दिक्क बनाइ रहेको हुन्छन् र कार्यक्रम स्थल छोड्नेक्रम जारी रहनेछ र अन्त्यमा औलामा गन्न सकिने दर्शक मात्र कार्यक्रम स्थलमा हुन्छन् भने स्टेजमा कार्यक्रममा माला र खादा लगाउन तडक–भडक गर्ने अतिथीहरु पनि मोबाइलमा फोन आएको नाटक गर्दै कार्यक्रम स्थल छोडेर एकपछि अर्को गर्दै कार्यक्रम स्थल छोडी सकेको हुन्छन् । र, अन्त्यमा जसले बोलेको कुरा जुन समुदायले सुन्नु पर्ने हो त्यो नभएर प्रमुख अतिथिका आसेपासे, अन्धभक्त कार्यकर्ता र आयोजकले मात्र सुन्ने मैका मिल्ने गर्छ ।
यसरी सिमित व्यक्तिलाई खुशी पार्न एक जना भिआईपी आउँदा सम्बन्धित जिल्लाका प्रमुख, स्थानीय तहको प्रमुखहरु अनुहार देखाउनकै लागि भए पनि आफ्नो कार्यालयको काम छोडेर दिनभर कार्यक्रममा व्यस्त हुँदा उता सरकारी कार्यालयमा जनताको काम भने ठप्प हुन्छ । एउटा नागरिक सिफारिस कै लागि दिनभर काम माया मारेर आउँदा पनि कार्यालयका प्रमुख नभेटी मरेको बिरालो काखीमा चेपेर ठिमीको उकालो चडे झैं घर फर्कनुपर्ने बाध्यताको अन्त्य गाउँमा सिहंदरबार घर–घरमा सरकार आउँदा नभएको कहिले अन्त्य हुन्छ ?
नेपाली जनता सधैँ अधिकारको निम्ती लडे, २००७ सालमा राणाविरुद्ध लडे, २०४६ सालमा पञ्चायतविरुद्ध लडे, २०६२÷०६३ मा फेरि राजाविरुद्ध लडेर लोकतन्त्र, गणतन्त्र स्थापना गरे, यो हाम्रो लागि ज्यादै ठूलो उपलब्धि हो । निरंकुश तानासाही व्यवस्थाको अन्त्य भई हिजो भैसी हेर्ने गोठालाका छोराछोरी, खेती गर्ने किसानका छोराछोरी आज देशको प्रमुख ठाउँमा पुगेका छन् । तर, उनीहरुको सोचाइ व्यवहार जुन बेथिती र विसंगतिकाविरुद्ध लडे पनि तिनीहरुकै व्यवहारलाई अनुशरण गरियो व्यवस्था नयाँ राणाकालीन ठाँट पञ्चायतीशैलीको निणर्य राजपरिवारको जस्तो जीवनशैली अपनाउन मात्र व्यवस्था परिर्वतन भएको मान्य हुँदैन । व्यक्ति र व्यवस्था परिवर्तन भएर मात्र हुँदैन व्यवहार, राज्य सञ्चालन र नागरिकको जीवन स्तर पनि परिवर्तन हुनुपर्छ । जब शोषित–पीडित जनताको न्यूनतम् आवश्यकता पूरा गर्न रगत र पसिनाले पुरै जीन्दगी खर्च गर्ने परिस्थितिका अन्त्य हँुदैन तब सु–शासक आए पनि हात्ती आयो हात्ती आयो फुस्स भने झैं हुनेछ ।
जनताले शासक नयाँ खोजेका होइनन् साथ खोजेका हुन् । कार्यक्रम पञ्चायतीशैली जस्तै तामद्माम चाहिएको होइन, राज परिवार जस्तो ऐस आराम गर्ने सुरा र सुन्दरी चाहिने, हुस्की र ब्राण्डी चाहिने अनि सधैँ प्रशंसा मात्र गरिदिने आसेपासे अरौटे–भरौटे कुनै खोजेको होइन त्यस्ता विकृति र विसंगतिको अन्त्य खोजेको हो । जनतासँगै हिँड्ने आफ्ना नेता खोजेका हुन् । तिनै जनताले भोट दिएर जिताएपछि चाहिँ तिनै जनतासँग आउन किन अगाडि–पछाडि साइरनसहितको सुरक्षा जत्थाको जरुरी भयो नी, बाटो नै बन्ध गरेर पूर्व शासकको जस्तो रबाबको अन्त्य हुन अत्यन्तै जरुरी छ । अहिलेका शासकहरु सबैमा पुरानो सत्तामोहको आचरण हुँबहँु भएकाले जनताले परिवर्तन महशुस गर्न पाएका छैनन् । जनता आफैँ आफ्ना नेतालाई मन र मुटुमा राख्न चाहन्छन् । तर, नेताहरु ढाट र छलकपटका कारणले गलतलाई आफै स्वीकारेर डराइरहेका छन् भने उनीहरुलाई वनको बाघले होइन् मनको बाघले खाइरहेको छ ।
हामी जनता पार्टीका कार्यकर्ता आम नागरिकले पनि के सोच्न जरुरी छ भने नयाँ परिवर्तनको सम्भावनाका साथ ठूलै परिवर्तनको परिणाम देखिने बाहेकका काममा मन्त्री, प्रधानमन्त्री लगायत भिआईपी र अन्य पदस्त व्यक्तिहरुलाई ल्याउनु भनेको राज्यलाई ऋण थपाउनु मात्र हो भने भिआईपीहरु पनि उद्घाटन शिलान्यास र अनावश्यक भीडमा आफूलाई उभ्याएर सफल राजनेता बन्छु भन्नु भनेको समुन्द्रमा बालुवाको पुल हाल्छु भने झैं हुनेछ । उद्घाटन र शिलान्यास जस्ता कुरामा भिआईपीहरुले ध्यान नदिने हो र आफ्नो कर्तव्य र जिम्मेवारीमा इमान्दारीताका साथ लाग्ने हो भने कार्यालयको काम पनि चुस्तदुरुस्त रहन्छन् विकासले पनि गति लिनेछ ।
जनताले भीडमा भि–आई–पीले गरेका गुलिया भाषणभन्दा उसले गरेको कामको प्रगति उसले पूरा गरेको जिम्मेवारीलाई आधार मानेर मात्र राज नेताको संज्ञा दिने छन् । त्यसैले हामीले भि–आई–पीहरुलाई उद्घाटन र शिलान्यासमा नदौडी नै मात्र हो भने दुईचार वटा ठूला परियोजना सम्पन्न गर्ने अर्थ बचत हुनेछ भने जनताका कामले पनि गति लिने छ । जसले राम्रो काम गर्छ जनताले उसैलाई सम्झिरहने छन् । एउटा कार्यक्रममा भिआईपि आउँदा हुने इन्धनको खर्च, यातायातको खर्च, कार्यकर्ताको सवारीसाधनको खर्च, भिआईपिको भ्रमण खर्च कार्यक्रममा हुने अनावश्यक तामझाम सिँगार पेटार, कार्यक्रममा लाग्ने अनावश्यक खर्च वापतको कति रकम विदेशिएको छ ? एकपटक सबैले टाउकोमा हात राखेर सोच्नु जरुरी छ । त्यसैले भिआईपिहरुको तडक–भडकमा गरिने खर्चलाई मात्र कम गर्ने हो भने प्रत्यक वर्ष ठूला र देखिनेखालका विकासका योजना सम्पन्न हुनेछन् ।


























