सञ्चारकर्मी शशी नेपालले गरिन् सरकारको खबरदारी

0
1008

सञ्चारकर्मी शशी नेपालको प्रस्तुतिमा देशमा भइरहेका बेथिति–विसंगति माथि प्रहार गर्दै तयार पारिएको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

प्राइम टाइम्स टेलिभिजनकी समाचार वाचक समेत रहेकी नेपालले गीतकार अविरल विसी र संगीतकार खेम सेन्चुरीसँगको सहकार्यमा राष्ट्रियता झल्किने गीत तयार पारेकी हुन् । माया, प्रेम, विछोड, सामाजिक परिवेश आदिलाई समावेश गरेर तयार पारिने गरेको सन्दर्भमा आफूले पछिल्लो समय देश र जनतालाई परेको मर्का समावेश गरेको नेपालले बताइन् । अन्य कलाकारहरुको समेत आवाज समेटिएको गीतमा नेपालको सीमा मिचिएको विषय, एनसेललाई कर छुट दिइएको विषय, निर्मला पन्त प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गा काण्ड, नेताहरुको गैर जिम्मेवारीपन र विलासी जीवन माथि कटाक्ष गर्दै सशक्त ढंगले उठान गरिएको छ ।

भ्रष्टाचार, कुशासन र दण्डहिनताको अन्त्य गर्नका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले गीत तयार पारिएको प्रस्तुतकर्ता नेपालले बताइन् । गीतको भिडियोसहित सार्वजनिक भएपछि नेपालले भनिन्– ‘यस्ता सन्देश दिने गीतहरु विगतमा पनि नबनेका होइनन्, कतिपय गीतलाई त विवादमा पनि ल्याइयो । तर, विवादमा ल्याउनुभन्दा पनि मनन् गर्न तर्फ ध्यान जाओस् भन्ने मेरो चाहना हो ।’

उक्त गीत व्यवसायिक प्रयोजनका लागि नभै सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको नेपालले बताइन् । विसीले लेखेका शब्द यथार्थपरक र देशका लागि थोरै भए पनि योगदान दिनेखालका भएकाले गीतमा लगानी गर्न आफू तयार भएको नेपालको भनाई छ । धेरै राम्रा राम्रालोक दोहोरी गीतमा लय र संगीत दिई सकेका खेम सेन्चुरीले यस गीतलाई पनि निकै कलात्मक ढंगले तयार पारेकाले आफू सन्तुष्ट रहेको नेपाल बताउँछिन् । यसअघि राष्ट्रिय भावना समावेश गरिएको गीतमा मोडलिङ गरिसकेकी नेपालले यसपटक आफूसहित अन्य कलाकारको स्वर समावेश गरेर दबाबमूलक गीत ल्याएकी हुन् । यसअघि उनले ‘देशको माया’ बोलेको गीतमा मोडलिङ गरेकी थिइन् ।

शशी नेपालको साथमा गीतकार अविरल विसीसँगै सम्झना भण्डारी, मेक्सम खाती, नरेश खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम र जानकीतारामी मगरको स्वर रहेको छ । सीमा सारु र सरु आले मगरले पनि स्वरमा साथ दिएका छन् । भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् । सेन्चुरीको लय र संगीतमा सागर विरहीले एरेन्ज गरेका हुन् । मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । विरेन्द्र भट्टको छायांकनलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

आफ्नो गीतको टिममा आवद्ध सबैको मेहनतले एउटा राम्रो गीत तयार भएकोमा खुशी व्यक्त गर्दै प्रस्तुतकर्ता नेपालले सबैलाई धन्यवाद दिएकी छिन् । देश र नागरिकले पाएको समस्या, शासक वर्गले गर्नुपर्ने । तर, नगरेका काम देखेर धेरै चिन्ता लागे पनि प्रत्यक्ष रुपमा केही गर्न नसके पनि गीत मार्फत खबरदारी गर्ने आफ्नो लक्ष्य रहेको नेपालले बताइन् । अब आफ्नो एकल स्वरमा गीत निकाल्ने तयारीमा रहेको पनि नेपालले जानकारी दिएकी छिन् ।

प्रस्तुति : रिताश्मा मुखिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here