चारकोसे वन अब खुल्ला चिडियाखाना

0
1870

सुरेन्द्र भण्डारी /नरेन्द्र ढकाल
झापा।

दक्षिणी झापाको चारकोसे जंगलले पौराणिक महत्व बोकेको छ । झण्डै सात हजार हेक्टर क्षेत्रफलमा फैलिएको चारकोसे जंगलको हल्दिबारी गाँउपालिकाभित्र सातवटा वन समूह छन् ।

छुट्टा–छुट्टै विशेषता बोकेका सबै सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाउन गाउँपालिका यतिवेला लागीपरेको छ । त्यसमा पनि चारकोसे वनलाई खुल्ला चिडिया खाना बनाउने महत्वाकांक्षी योजनाका साथ गाउँपालिकाले विशेष गुरु योजना नै तयार गरेको छ ।

गाउँपालिकाले चारकोसेलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन चरणवद्ध रुपमा बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट पदमार्ग निर्माण गर्दै प्रदेश र संघीय सरकारसँंग समन्वय गरिरहेको छ । चारकोसे जंगललाई खुल्ला चिडियाखाना बनाउन सरकारसँंग बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । उनले भने–हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव छैन, प्रदेश र संघले सहयोग गर्ने हो भने झापाको मात्र नभई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा चारकोसेलाई विकास गरेर लैजान सकिन्छ । जसका लागि एक अर्वभन्दा बढी रकम आवश्यक पर्छ ।

जैविक विविधताले भरिपूर्ण चारकोसे जंगल अध्ययन, अवलोकन गर्नेका लागि स्रोत केन्द्र नै सावित हुन्छ –अध्यक्ष लिङ्देनले भने– पहाडमा पाइने कट्टुस चारकोसेमा पाइन्छ । चारकोसे जंगलभित्र स–साना थुम्के पहाड भेट्न सकिन्छ । जंगलभित्रै जरुवापानी छ । दुर्लभ प्रजातिका जीवजन्तु यहाँ भेटिन्छ । जसका कारण यो जंगल महत्वपूर्ण मानिन्छ ।’
जंगली हात्तीको समेत भरपर्दो बासस्थान रहेको यहाँ दुर्लभ पशुपन्छी, मृग, हरिण, बंदेल, अजिङ्गर, सालक, बाँदर खुल्ला रुपमा देख्न सकिन्छ ।

लेउदेखि झ्याउसम्म पाइने यो जंगल जैविक विविधताले परिपूर्ण छ, यसको संरक्षण र सर्वद्धन गर्न सके देशकै उत्कृष्ट गन्तब्य बन्न सक्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।

गाउँपालिकाले पश्चिमतर्फ बाह्रदशी गाउँपालिकाको पूर्वी सीमानादेखि हल्दिबारी गाउँपालिकको वडा नम्बर ३ को सीमाना पञ्चायत माविसम्म ७० लाख रुपैयाँ खर्च गर्दै ५० फुटे पदमार्ग निर्माण गरेको छ । पहिलो चरणमा २७ लाख रुपैयाँ खर्च गरेर पदमार्गको निर्माणको काम शुरु गरेपनि दोस्रो चरणमा ९ किलोमिटर मध्ये सात किलोमिटर मार्गलाई व्यवस्थित बनाइएको अध्यक्ष लिङ्देन बताउँछन् । उनी भन्छन्–सात किलोमिटर पदमार्गको दक्षिणतर्फ तारजाली गरिएको छ । उत्कृष्ट पर्यटकीय गन्तब्यको अवधारणासहित चारकोसेलाई ब्यवस्थित बनाउन खोज्दा हल्दिबारीबासीलाई हात्तीको समस्याबाट छुट्कारा हुने अपेक्षा गरिएको छ ।

पदमार्गका लागि खनिएको ड्रेनका कारण हात्ती बस्तीमा पस्न नपाएको अध्यक्ष लिङ्देनको भनाइ छ । संघीय सांसद राजेन्द्र लिङ्देनको पहलमा सौर्य तारबारका लागि चार कारोडभन्दा बढी रकम विनियोजन भएको छ । सोही रकमले अहिले तारवारको काम शुरु भएको छ । जसबाट हल्दिबारीबासीमा अझ उत्साह छाएको लिङ्देन बताउँछन् ।

पदमार्गको रेखाङ्कनसंगै चारकोसे जंगल अतिक्रमण हुने समस्या पनि हटेको लिङ्देनले बताए । पदमार्ग दक्षिण अब कसैले जंगल अतिक्रमण गरेर बस्ती बसाल्न पाउने छैन– लिङ्देन भन्छन् –पर्यटकीय गन्तब्य बनेसंँगै वनको संरक्षण पनि हुने भयो ।

चारकोसे जंगललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर जंगल सफारी गर्ने हो भने चितवनको राष्ट्रिय निकुञ्ज जस्तै झापामा पनि पर्यटकको आकर्षण बढ्ने गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले बताए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्र्ष घोषणा गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका बेला झापाका ऐतिहासिक तथा पौराणिक महत्व बोकेका विभिन्न स्थानको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्नु पर्ने स्थानीयको भनाइ छ ।

दक्षिणबाट उत्तरतर्फ पानी बग्छ चारकोसेमा :घिमिरे

दक्षिणबाट उत्तरतर्फ पानी बग्छ भन्दा सुन्दै अचम्म लाग्न सक्छ । तर, झापाको चारकोसे जंगलमा दक्षिणबाट उत्तरतर्फ पानी बगेको देख्न सकिन्छ । जैविक विविधता र संरक्षित वन्यजन्तुको समेत सुरक्षित बासस्थान रहेको चारकोस जंगलमा भूमध्य सागरीय बनको लक्षण समेत देख्न सकिने डिभिजनल वन कार्यालय झापाका डिभिजनल बन अधिकृत विष्णुलाल घिमिरेले बताए ।

उष्ण प्रदेशीय वनमा पाइने सवै वनस्पति यहाँ पाइन्छ –डिभिजनल बन अधिकृत घिमिरे भन्छन् – ६३ सय हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा २२ वटा समूह छन्, जहाँ जैविक विविधताले भरिपूर्ण छ ।

पहाडमा पाइने वनस्पति कट्टुस, चिलाउने जस्ता बनस्पतिसंँगै सालका बर्षौं पुराना रुख यहाँ छन् । उष्ण प्रदेशीय वनमा पाइने अग्ला प्रजातिका रुखसमेत यो वनमा देख्न पाइन्छ –घिमिरे भन्छन् – नेपालका अन्य वनमा लटर पाइँदैन तर चारकोसे जंगलमा भने लटर पाइन्छ ।

तराई आफैंमा समथर भूभाग हो । तर, चारकोसजंगलमा स–साना पहाड भएकाले यहाँ दक्षिणबाट उत्तरतर्फ पानी बग्छ– डिभिजनल बन अधिकृत घिमिरे भन्छन् – नेपालमा दक्षिणबाट उत्तरतर्फ पानी बगेको सुन्न र देख्न पाइँदैन तर यहाँको विशेषता नै हो कि थुम्के पहाडका कारण दक्षिणबाट उत्तरतर्फ पानी बग्छ ।

महाभारतकालीन इतिहाससंँग समेत जोडिएको यो बन आफैंमा महत्वपूर्ण छ । अझ संरक्षित वन्यजन्तु, जंगली हात्ती, अजिङ्गर र सालक यो वनमा जताततै देख्न सकिन्छ –डिभिजनल बन अधिकृत घिमिरे भन्छन् – यस ठाउँको विकास गर्न दीर्घकालीन गुरु योजना बनाएर अघि बढ्न सके नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको केन्द्र बन्न सक्छ चारकोसे जंगल । लहरे वनस्पति यहाँको अर्काे विशेषता हो । यस जंगलमा भोर्लादेखि पादेलहरो समेत पाइन्छ । त्यस्तै अररी, अंगेरी जस्ता बनस्पतिले यो वनको छुट्टै महत्व रहेको घिमिरे बताउँछन् ।

बनको मध्य भागमा महाभारतकालीन इतिहाससँंग जोडिएको पोखरी छ, जहाँ गाईलाई पानी खुवाउने गरिएको किम्वदन्ती रहेको छ । साविक राजगढको पूर्व भागमा फैलिएको मनकामना सामुदायिक वन क्षेत्रभित्र दरवार वनाउन प्रयोग गरिएको जस्तो देखिने इँटा समेत भेटिएको र इँटाले नै बनाइएको इनार समेत फेला परेको राजगढ निवासी राम दुलाल बताउँछन् । उनी भन्छन् – यस ठाउँको विकासका लागि धेरै प्रयत्न गरियोे तर “एक्लोे वृहस्पति झुट्टो” झैं भइयो ।

यो ठाउँको विकासका लागि सबैको साथ हुने हो भने चारकोसेले झापाको नाम विश्वसामु चिनाउँछ– दुलाल भन्छन् – नेपालमा यस्तो जैविक विविधताले भरिपूर्ण वन अन्त कतै छैन । यहाँ अध्ययन अवलोकनका लागि विदेशी पर्यटक समेत भित्र्याउन सकिन्छ ।

जरुवा पानीको स्रोत रहेको यो वनमा दक्षिणबाट उत्तरतर्फ पानी बगेको मात्रै पर्यटकलाई देखाउन सकिए यहाँको महत्व नै अर्को हुन्छ –दुलाल भन्छन् –झापावासीले माल पाएर पनि चाल पाएका छैनौं ।

चारकोसे बनले उत्तरमा हल्दिवारी , पश्चिममा बाह्रदशी, दक्षिणमा कचनकवल गाउँपालिका र पूर्वमा भद्रपुर नगरपालिकालाई छोएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here