धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘जीन एक्सपट’मेसीन जडान, दुईमहिनामा ३४ क्षयरोगी फेला

0
1620

लक्ष्मी उप्रेती / मेचीनगर ।

झापाको मेचीनगरस्थित धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘जीन एक्सपट’ मेसीनको प्रयोगबाट शंकाष्पद व्यक्तिको खकार परीक्षण गर्न थालेपछि नगरमा धमाधम क्षयरोगी फेला पर्न थालेका छन् ।

नेपाल क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत नेपाल सरकारले करीव ५० लाख रुपैयाँ मुल्य बराबरको उक्त मेसीन स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएपछि गएको दुईमहिनाअघिदेखि केन्द्रमा यसको सहायतामा रोगीको खकार परीक्षण गर्न थालिएको हो ।

प्राविधिक टिकाराम ढकालका अनुसार दुईमहिनाको अवधिमा कुल २ सय ३७ जनाको यो मेसीनद्वारा खकार परीक्षण गर्दा १० महिलासहित ३४ जनामा क्षयरोगको कीटाणु फेला परेको छ । कीटाणु फेला परेका अधिकाँश आदिवासी जनजाति समुदायका रहेको केन्द्रको अभिलेखले पुष्टि गरेको छ । उनीहरुमा श्वास प्रश्वासको माध्यमबाट सर्ने फोक्सोको क्षयरोगका कीटाणु फेला परेको प्राविधिक ढकालले जानकारी दिए ।

यसअघि जिल्लामा क्षयरोग नियन्त्रण कार्यालय भद्रपुरमा यो मेसीनको माध्यमबाट शंकाष्पद व्यक्तिको खकार परीक्षण गर्ने गरिएको थियो । यसबाट परीक्षण गर्दा रिपोट विश्वासिलो र भरपर्दाे हुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

माईक्रोस्कोपबाट खकार परीक्षण गर्दा एकजना क्षयरोगीका विरामीमा १ एमएल खकारमा ६ हजार भन्दा बढी क्षयरोगका कीटाणु भए पोजेटिभ मानिने र त्यो भन्दा मुनिको नदेखिने तर, ‘जीन एक्सपट’ मेसीनले १ एमएल खकारमा ५० भन्दा बढी कीटाणु भए देखाउने भएकाले रोग निदानमा सजिलो हुने प्राविधिक ढकालको भनाई छ ।

उनका अनुसार यो मेसीनले क्षयरोगी पत्तामात्र लगाउदैन् पहिलो लाइनको औषधिले काम गर्छ कि गर्दैन त्यसको समेत परीक्षण गर्छ । यस्तो रिपोट एक ३२ वर्षीय पुरुषको फेला परेकोले उनलाई पहिलो लाइन औषधिले काम नगर्ने र दोस्रो लाईन २४ महिना औषधि खानुपर्ने भएको थियो ।

निजी स्वास्थ्य संस्थामा यसको माध्यमबाट खकार परीक्षण गर्दा न्युनतम ५ हजार रुपैयाँसम्म खर्च लाग्ने तर, सरकारी स्वास्थय केन्द्रमा निः शुल्क सेवा प्रदान गरिएको छ । मेची अञ्चल अस्पतालका प्रमुख डाक्टर पिताम्बर ठाकुरका अनुसार खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने गर्दछ ।

नेपालमा करिव ६० प्रतिशत बयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित छन् । डा ठाकुरका अनुसार कमजोर प्रतिरोधात्मक क्षमताका कारण शारीरिक दृष्टिकोणले कमजोर व्यक्ति क्षयरोगी संग बढी हेलमेल गरे सहजरुपमा यो रोग सर्न सक्छ ।

फोक्सोमा क्षयरोगका किटाणु फेला पर्नुलाई स्वस्थयकर्मीहरु सबैभन्दा खतरा ठान्ने गर्दछन् । यसबाट पत्ता लागेका क्षयरोगीले समयमै उपचार नपाए एकबर्ष भित्रमा उस्ले १० देखि १५ जना निःरोगीलाई यो रोग सार्ने स्वास्थ्यकर्मी शशीकला राईको भनाई छ । फोक्सो तथा खकार परीक्षणमा किटाणु नदेखिने भए पनि विशेषज्ञहरुले मात्र शरीरका अन्य भागमा क्षयरोगका किटाणु फेला पार्ने गरेकाछन् ।

सरकारले क्षयरोगको बढ्दो संक्रमण रोक्न बिभिन्न दातृ संस्थाको सहयोगमा बर्षेनी करोडौ रुपैयाँ खर्च गर्ने गरेको कार्यालयले जनाएको छ । स्वास्थय कार्यालय झापाले पनि यसका विरुद्धमा बिभिन्न गैरसरकारी संघ संस्थाहरु संग संयुक्तरुपमा सचेतना अभियान थालेको छ । नेपालमा हरेक बर्ष पाचदेखि सात हजार मान्छे यसको संक्रमणका कारण मर्ने गरेको बताईएको छ ।

नेपालमा करिव ८० हजार क्षयरोगी रहेकाछन् । तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रश्वासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागि रहनुलगायत क्षयरोगका लक्षण रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here