बिर्तामोडमा नगर अस्पताल,रोटरीले दिने भयो ६ थान डायलासिस मेसिन

0
1231

बिर्तामोड।

झापाको बिर्तामोड–३मा रहेको अनारमनी स्वास्थ्य संस्था अब नगरस्तरीय अस्पताल बन्ने भएको छ ।

योसँगै मृगौला रोगीका लागि अनारमनी स्वास्थ्य संस्था डायलासिस केन्द्रका रुपमा विकास भएर जाने बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनले भने – ‘अनारमनी स्वास्थ्य संस्था अब १५ शैय्याको अस्पताल बन्ने छ । जुन अस्पताल नगरस्तरीय हुनेछ ।’

नगरस्तरीय अस्पताल निर्माणका लागि संघीय सरकारले राष्ट्रिय योजना आयोगबाट चार करोड ८३ लाख ९६ हजार २ सय रुपैयाँ बजेट समेत विनियोजन गरेको छ । दुई वर्षभित्रमा अस्पताल निर्माणको काम सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको संघीय सांसद पवित्रा निरौला खरेलले जानकारी दिइन् । खरेलका अनुसार आर्थिक वर्ष २०७६÷०७७मा विशेष अनुदान मार्फत स्थानीय तहबाट कार्यान्वयन गर्न छानिएका आयोजनाहरुका लागि समपूरक अनुदान मार्फत सो रकम आएको हो ।

नगरस्तरीय अस्पताल निर्माणका लागि नगरपालिकाले यस अघि नै संघीय सरकारसँग बजेट माग गरिएको बताउँदै बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले भने– ‘अनारमनी स्वास्थ्य संस्थालाई अस्पताल बनाउन १० करोड बजेट माग गरेका थियौं, झण्डै आधा रकम आयो अब तत्काल काम शुरु हुन्छ ।’

बिर्तामोडलाई अस्पताल नै अस्पतालको थलोका रुपमा हेरिए पनि गरीव र विपन्न समुदायको स्वास्थ्य उपचार गर्ने सरकारी स्वास्थ्य संस्था आफैंमा बिरामी जस्तो थियो– नगरप्रमुख शिवाकोटीले भने– मेरै पहलमा यसलाई अस्पताल बनाउन संघीय सरकारसंग जोडबल गरेका हौं । अस्पताल निर्माणसंगै यस क्षेत्रका सर्वसाधारणले सहज ढंगले स्वास्थ्योपचार गर्न सक्ने उनको भनाइ छ ।

१५ शैय्याको नगरस्तरीय अस्पतालसंगै यस ठाउँमा निःशुल्क डायलासिसका लागि रोटरी क्लव अफ बिर्तामोडले झण्डै एक करोडभन्दा बढी मूल्यका ६ थान डाइलासिस मेसिन प्रदान गर्ने बताइएको छ । जसका लागि आवश्यक प्रक्रिया थालिएको रोटरी क्लव अफ बिर्तामोडकी अध्यक्ष निकिता गिरीले बताइन् । उनले भनिन्– हामी जतिसक्दो चाँडो अस्पताललाई डायलासिस मेसिन दिन्छौं, यस ठाउँलाई मृगौलाको डायलासिस गर्ने थलोको रुपमा विकास भएर गएको हेर्न चाहन्छौं । यहाँ आउने सबैले सहज रुपमा उपचार गर्न सकून् हाम्रो उद्देश्य नै यही हो ।’

एउटा डायलासिस मेसिन खरिदमा झण्डै १५देखि २० लाख रुपैयाँ खर्च हुने रोटरी क्लव अफ बिर्तामोडका पूर्वअध्यक्ष बिनोद बस्नेतले जानकारी दिए । उनले भने– ‘हामीसंग भएर होइन सबै जना मिलेर केही नयाँ काम गरौं भन्ने सोचका साथ यो अभियान मेरै कार्यकालबाट शुरु गरिएको थियो, अहिले आएर पूरा हुने भएको छ ।’

म यसमा असाध्यै खुशी छु– पूर्व अध्यक्ष बस्नेतले भने– ‘गरीव र विपन्न समुदायका मानिसलाई मृगौला सम्वन्धी रोग लागिहाले उपचार गराउने खर्च नै नभएर धेरैले ज्यान गुमाउने गरेका छन् । यसर्थ मृगौला रोगको निःशुल्क उपचार गर्नका लागि हामीले डाइलासिस मेसिन प्रदान गर्न लागेका हौं ।’

क्लवका अध्यक्ष गिरीका अनुसार मृगौला रोगीको उपचारका लागि खरिद गरिने डाइलासिस मेसिनमा ५० प्रतिशत लगानी क्लवकै सदस्यको रहने र २० प्रतिशत लगानी नगरपालिकाले गर्ने, ३० प्रतिशत लगानी स्थानीय दाताहरुसंग संकलन गरिने र सम्भव नभए विदेशी दातृ निकायसँग सहयोग मागिने छ । जसरी पनि यस ठाउँलाई मृगौला रोगीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर बनाएरै छाड्छौं गिरीले भनिन्– ‘हामी ४६ जना मेम्वर छौं, जति जति संकलन गर्दा मेसिन आउँछ उति–उति नै रकम संकलन गरेर भए पनि जतिसक्दो चाँडो डायलासिस मेसिन स्वास्थ्य संस्थालाई दिन्छौं ।’

अनारमनी स्वास्थ्य केन्द्र नगरस्तरीय अस्पताल बनेसंगै यस क्षेत्रका जो कोही बिरामी भए पनि निजी अस्पताल जानुपर्दैन– नगरप्रमुख शिवाकोटी भन्छन्– सबै सुविधा यहाँ उपलब्ध हुन्छ, यसलाई नगरकै नमूना अस्पताल बनाएर लैजान्छौं ।

त्यसो त बिर्तामोड आफैंमा स्वास्थ्य उपचारका सहज थलो हो । जो कोही यहाँ आएर स्वास्थ्य उपचार गराउँछन् । निजी अस्पतालमा स्वास्थ्योपचार गराउँदै आएका सर्वसाधारणले भने अब अनारमनी नगरस्तरीय अस्पताल निर्माणसँगै निःशुल्क रुपमा सबै प्रकारका गुणस्तरीय सेवा समेत पाउने भएका छन् ।

पछिल्ला दिनमा पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड सर्वसाधारणको पायक पर्ने स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास भइरहेको छ । दशक अघिसम्म यहाँ सीमित संख्यामा रहेका क्लिनिकबाट बिरामीले उपचार सेवा पाउँदै आएका थिए । पछिल्लो अवधिमा दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा छन् । २०६१मा कञ्चनजंघा अस्पताल स्थापना भएसँगै बिर्तामोडमा निजी तथा सामुदायिक अस्पताल खुल्ने क्रम ह्वात्तै बढेको हो । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा गुणस्तरीय अस्पताल नहुनुले पनि बिरामी उपचारका लागि बिर्तामोड आउने गरेका छन् ।

स्वास्थ्यमा निजी क्षेत्रको लगानी पनि पछिल्ला दिनमा बढ्दै गएको हो। अस्पतालकै हाराहारीमा डायग्नोस्टिक सेन्टरले पनि बाहिरबाट चिकित्सक ल्याएर सेवा दिने गरेका छन् । बिर्तामोडमा उपचारका लागि दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गरेको स्वास्थ्य व्यवसायीले बताउँदै आएका छन् ।

बिर्तामोडमा वीएण्डसी, बिर्तासिटी, कञ्चनजंघा, कन्काई, मनमोहन सामुदायिक पूर्वाञ्चल क्षेत्रीय अस्पताल, अञ्जली, मेडिका लगायतका अस्पताल सञ्चालनमा छन् । मेची आँखा अस्पताल, दृष्टि आई हस्पिटल र बिर्तामोड आई हस्पिटलका साथै दन्त उपचारका लागि मानव डेन्टल, अष्ट डेन्टल, मेची डेन्टल, प्रो पब्लिक डेन्टल, मकालु डेन्टललगायत आधा दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा छन् ।

फिजियोथेरापी र आयुर्वेद चिकित्सा प्रणालीको विकासमा सहयोग गर्ने लक्ष्य र उद्देश्यका साथ स्पार्क पूर्वाञ्चल आयुर्वेदिक अस्पताल र सुश्रुत आयुर्वेदिक अस्पताल पनि सञ्चालनमा छन् । २०५३ मा आइकेयर फाउण्डेशन नेदरल्यान्डद्वारा सञ्चालित मेची आँखा अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले आँखा सम्बन्धी सेवा लिने गरेका छन् ।
तर, सरकारी सेवा सुविधासहितका अस्पताल नहुँदा यहाँका विरामी स्वास्थ्य उपचारका लागि निजी अस्पताल नै धाउनु पर्ने बाध्यता छ ।

सरकारी स्वामित्वमा रहेको मेची अञ्चल अस्पतालमा गुणस्तरीय सेवा नपाइने भन्दै अधिकांश बिरामी निजी अस्पताल धाउने गरेका छन् । खान पान र रहन–सहनमा ध्यान नदिँदा नेपालमा ६५ प्रतिशत नसर्ने रोगका कारण पीडित छन् ।
त्यस मध्ये मृगौला सम्वन्धी रोगका कारण पीडित बन्नेको संख्या अधिक रहेको चिकित्सकले बताउँदै आएका छन् । शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार काठमाडौं उपत्यकापछि झापाका धेरै मृगौला रोगी उपचारका लागि मृगौला प्रत्यारोपण केन्द्र पुग्ने गरेका छन् ।

यस अर्थमा पनि झापामा मृगौला रोगीको संख्या धेरै छ भन्ने बुझिन्छ । मृगौला रोग आफैंमा खर्चिलो रोग भएका कारण धेरै मानिसले उपचार नै नपाएर ज्यान गुमाउँदै आएका छन् । डायलासिस भन्दा प्रत्यारोपण प्रभावकारी मानिए पनि अंग दान गर्ने व्यक्ति नहुँदा समस्या हुने गरेको छ । अनारमनी स्वास्थ्य संस्थाको स्तरोन्नति हुँदै नगर अस्पताल भएसंगै यहाँका सर्वसाधारणले मृगौला रोगको सहज उपचार पाउने आशा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here