नेपाल भ्रमण वर्ष २०२० लाई सौराहाबाट शुभारम्भ गरिने

0
492

चितवन,

प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० (२६ डिसेम्बर) देखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो ।

यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । जनवरी ३ तारिखमा सौराहामा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट भ्रमण वर्षको शुभारम्भ गरिने उहाँले बताउनुभयो ।

हात्ती महोत्सवको समायवधि बढेपछि कार्यक्रमहरु पनि थप गरिएको उहाँले जानकारी दिनुभयो । यसअघिका वर्षमा हटाइएका टाँगा दौड, गाडा दौड, डुङ्गा दौड भ्रमण वर्षलाई लक्षित गरेर पुनः समावेश गरिएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलले विशेष चासो राखेपछि हात्ती महोत्सवको समय थप गर्न सौराहाका व्यवसायी तयार भएका हुन् ।

मुख्यमन्त्री पौडेलले सौराहाका व्यवसायीसँग छलफल गरेर चितवनबाटै प्रदेशको भ्रमण वर्ष शुभारम्भ गर्न आग्रह गर्नुभएको थियो । उहाँले चितवनको सौराहालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको सौराहामा वर्षेनी लाखौँ पर्यटक आउने गरेका छन् । पर्यटकहरु गँैडा, हात्तीलगायतका जनावरहरु र थारू संस्कृतिको अवलोकन गर्न सौराहा आउँछन् । क्रिसमसका समयमा विदेशी पर्यटक कम हुँदै जान्छन् । पर्व मनाउन उनीहरू आफ्नै देश फर्कन्छन् ।

“नेपाल आएका विदेशी पर्यटक पनि सौराहामै रमाउन् र स्वदेशी पर्यटकको चाप पनि बढोस् भनेर प्रत्यक वर्ष हात्ती महोत्सव गरिँदै आएको छ”, भट्टराईले भन्नुभयो । भ्रमण वर्ष लक्षित गरेर सौराहामा रात्रिकालीन जिप सफारी, फुड फेस्टिबललगायतका अन्य नयाँ कार्यक्रम पनि आयोजना गर्न लागिएको उहाँको भनाइ छ । चितवनमा भ्रमण वर्ष २०२० मा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here