वैदेशिक रोजगार क्षेत्र निरन्तर सुधारको प्रक्रियामा

0
1672

काठमाडौँ,

विगतमा चरम बेथिति भएको क्षेत्रका रुपमा चर्चा हुने वैदेशिक रोजगार पछिल्ला दिनमा भने निरन्तर सुधारको प्रक्रियामा देखिएको छ ।

अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको कार्य सञ्चालन प्रभावकारिता’सम्बन्धी छलफलमा सहभागी सरोकारवालाले सकारात्मक सुधारलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण कामलाई अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको बताउनुभयो । “आजदेखि हामीले मलेशिया, बहराइनलगायत मुलुकबाट माग प्रमाणीकरणलाई अनलाइन बनाउँदैछौँ”, उहाँले भन्नुभयो, “अब वैदेशिक रोजगारीमा जान चाहने युवा पासपोर्ट बोकेर ‘एजेन्ट’ खोज्दै म्यानपावर धाउनु नपर्ने व्यवस्था गर्दैछौँ ।”

कामदार छनोट प्रणालीलाई पारदर्शी बनाउन नयाँ प्रणालीको थालनी गरिएको र वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीलाई कामदारमैत्री बनाइने उहाँको भनाइ छ । वैदेशिक रोजगारसँग सम्बन्धित एक हजार ७६१ संस्था उक्त सूचना प्रणालीमा आबद्ध भएका छन् । विभागबाट प्रदान हुने सेवालाई पछिल्लो समय अनलाइनमा आधारित बनाउँदै लगिएको छ । विभागले श्रम स्वीकृतिको स्टिकर अनलाइनबाटै जारी हुने, अनलाइनबाटै टोकन लिन सकिने व्यवस्था गरिसकेको छ ।

यस्तै बीमा तथा कल्याणकारी शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्ने तयारी भइरहेको छ । वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीको फरफारकलाई विभागले तीव्र दिएको उल्लेख गर्दै उहाँले पीडितलाई न्यायको अनुभूति दिलाउन नसकेसम्म आफूहरुको दायित्व पूरा नहुने बताउनुभयो । वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नवीन कामको थालनी गरिएको बताउनुभयो ।

सीप र पूँजीसहित वैदेशिक रोजगारीबाट फर्केका युवाको पुनः एकीकरणको काम अगाडि बढेको उहाँको भनाइ छ । बोर्डकै अग्रसरतामा सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियत कर्जा दिने प्रक्रिया अगाडि बढाएको छ । विदेशबाट फर्केका झण्डै १८ हजार युवाले सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिएका थिए । आवेदन दिएका युवालाई कर्जा दिने प्रक्रिया अगाडि बढिरहेको छ ।

विदेशमा सीप आर्जन गरेर फर्केका युवाको निःशुल्क सीप परीक्षण गरी सीपसहित वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया अगाडि बढेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । बोर्डले चालु आवमा करिब १५ हजार युवालाई विभिन्न १९ वटा विषयमा निःशुल्क तालीम दिने तयारी गरेको छ । “तालीमका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का आङ्गिक क्याम्पस छनोट गरिएको छ”, उहाँले भन्नुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले विगतको तुलनामा विभाग र बोर्डको कामकारबाहीमा सहजता आएको बताउनुभयो । सबै व्यवसायी ‘ठग’ हुन् भन्ने मान्यताबाट माथि उठ्न आग्रह गर्दै उहाँले पछिल्लो समय व्यवसायी पनि सचेत हुन थालेका छन् भन्नुभयो । श्रम आप्रवासनका क्षेत्रमा लामो समयदेखि अनुसन्धानमा लाग्नुभएका रामेश्वर नेपालले अहिले पनि वैदेशिक रोजगार क्षेत्र सुध्रियो भनेर ढुक्क हुने अवस्था नभएको बताउनुभयो ।

सरकारले वैदेशिक रोजगारीमा जानका लागि देशगत रुपमा सेवा शुल्क तोकेको भए पनि अझै पनि कामदार ठगीमा पर्दै आएको उहाँको भनाइ छ । उहाँले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मानवअधिकार र श्रम अधिकारको अवधारणाबारे जानकारी नहुँदा सरकारी अधिकारीबाटै कामदारमैत्री व्यवहार हुन नसकेको टिप्पणी गर्नुभयो । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रुद्र खड्काले पछिल्ला समय वैदेशिक रोजगार क्षेत्रमा केही सुधार देखिएको भए पनि विभाग र बोर्डको भूमिका अझै प्रभावकारी बन्न नसकेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here