झापामा २२ झोलुङ्गे पुल, ६ थपियो

0
1257

बिर्तामोड।

थोरै बजेट अनि छोटो समयमा पुल निर्माण गर्न सकिने भएपछि झापामा पनि झोलुङ्गे पुलप्रति आकर्षण बढ्दै गएको छ । विशेषगरी पहाडी जिल्लाका खोलाहरुमा मात्रै निर्माण गरिँदै आएको झोलुङ्गे पुल अहिले झापा लगायतका तराईका जिल्लामा पनि निर्माण गरिँदैछ ।

आर्थिक वर्ष २०७५÷०७६ सम्ममा झापाका विभिन्न २२ स्थानमा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । झोलुङ्गे पुलप्रति बढ्दो आकर्षणका कारण झापामा अहिले धमाधम झोलुङ्गे पुल निर्माण भइरहेका हुन् । संघीय सरकारले समेत यो वर्ष झापाका ६ स्थानमा झोलुङ्गे पुल निर्माणका लागि तीन करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । संघीय सांसद पवित्रा निरौला खरेलका अनुसार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत झापा क्षेत्र नम्वर २मा मात्रै ६ वटा पुल निर्माणका लागि तीन करोड भन्दा बढी वजेट विनियोजन भएको छ । सांसद निरौलाका अनुसार भुतेनी खोलामा झोलुङ्गे पुल निर्माणका लागि १० लाख, कैदलेघाट मदनपुरमा झोलुङ्गे पुल निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।

त्यस्तै सहासी वस्ती र अमाले गाउँ जोड्ने टाङ्टिङ खोलामा झोलुङ्गे पुल निर्माणका लागि एक करोड २५ लाख, रातेखालमा पाँच लाख, अर्जुनधारा–३ र ४ स्थित विरीङ खोलामा झोलुङ्गे पुल निर्माणका लागि ४४ लाख र झापा र इलामको सीमाना लाप्चेटार कुमिटारका लागि एक करोड ३६ लाख रुपैयाँ वजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विनियोजन गरेको सांसद निरौलाको भनाइ छ । उनका अनुसार अझैं झापा क्षेत्र नम्वर २मा मात्रै बिरान गौमुखी र बिर्तामोड नगरपालिकाको अन्धुवा खोलामा झोलुङ्गे पुल आवश्यक रहेको छ ।

कम खर्च र छोटो समयमा पुल निर्माण गर्न सकिने भएपछि तराईमा समेत यसखाले धेरै स्थानमा पुल निर्माणको माग भएको सांसद निरौलाले बताइन् । उनले भनिन्– ‘प्राथमिकताका आधारमा अहिले मेरो निर्वाचन क्षेत्रका सर्वसाधारणलाई सहजताका लागि योपटक ६ स्थानमा पुल निर्माणको योजना भित्र्याउन सफल भए, अर्काे कार्यक्रममा छुटेका सबै योजना समेटेर लान्छु ।’

गतवर्ष मात्रै झापाको चार स्थानमा झोलुङ्गे पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । यसअघि झापामा आर्थिक वर्ष २०७०÷०७१ मा हल्दिबारी–१ गोल्धाप र बाह्रदशी–५ चकचकीमा अधेरे खोलामा फोक्लेण्ड टापू ट्रष्ट ब्रीज निर्माण भएको छ । कूल ३२ मिटर लम्बाइको सो झोलुङ्गे पुल निर्माणसँगै ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । जसको लागत रु. १७ लाख १६ हजार रहेको छ । एक सय ९० घरधुरी लाभान्वित हुने गरी अन्धुवा खोलामा सतानुबाडी ट्रष्ट ब्रीज निर्माण भएको छ । यो पुल रु. १२ लाख ७१ हजारमा निर्माण सम्पन्न भएको हो । बिर्तामोड–१० र गरामनी–१० जोड्ने धरधरे खोलामा १६ मिटर लम्बाइको धरधरे ट्रष्ट ब्रीज निर्माण भएको छ, जसका कारण १३५ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यो पुल रु. १० लाख १५ हजारको लागतमा निर्माण गरिएको हो ।

त्यस्तै, मेचीनगरको धाइजनमा ढाक्रे खोलामा पनि बाँसबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । कूल २८ मिटर लम्बाइको सो पुल बनाउन रु. १५ लाख ६२ हजार खर्च लागेको बताइएको छ । यसबाट २६७ परिवार लाभान्वित भएका छन् । वि.सं. २०७०÷०७१ मा निर्माण गरिएका झोलुङ्गे पुलबाट ६७५ घरपरिवार प्रत्यक्ष लाभान्वित बनेको र तीन हजार ३३८ जना लाभान्वित संख्या रहेको बताइएको छ । चारवटा पुल निर्माणमा रु ५५ लाख २९ हजार खर्च भएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा चारवटा पुल निर्माण भएका छन् । पुल निर्माणसँगै ७९८ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइएको छ । कूल रु. ७७ लाख ५७ हजारको लागतमा निर्माण गरिएको चारवटा पुलबाट तीन हजार ८५२ घरपरिवार लाभान्वित भएको बताइएको छ ।

वि.सं २०७१÷०७२मा पथरी–८ र केचना–९ मा पर्ने अमलपुट्टा खोलामाथि २० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । कूल रु. १२ लाख ४८ हजारको लागतमा निर्माण गरिएको सो पुलले २३७ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइन्छ । पुलको नाम आदर्श टोल ब्रीज ट्रष्ट राखिएको छ । बुधबारे–१ तामाखोलामा दामाटार ट्रेल ब्रीज निर्माण गरिएको छ । कूल ७५ मिटर लामो सो पुलबाट २०१ घरपरिवार लाभान्वित भएका छन्, जसको लागत २८ लाख १६ हजार दुई सय ९३ रुपैयाँ रहेको छ ।

सतासी खोलामा पनि मैनाचुली टे«ल ब्रीज निर्माण गरिएको छ । सतासीधाम–९ मा पर्ने सतासी खोलाको पुलको लम्बाइ ४५ मिटर रहेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका १४७ परिवार लाभान्वित भएका छन् । पुल निर्माणका लागि रु. १९ लाख ५९ हजार खर्च भएको छ ।

यता, तोपगाछी–९ र तोपगाछी–२ जोड्ने ढ्यांग्री खोलमा २८ मिटर लामो झोलुङ्गे पुल बनाइएको छ । कुल रु. १७ लाख ३३ हजारको लागतमा निर्माण गरिएको ढ्यांग्री ट्रष्ट ब्रीजबाट २१३ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।
वि.सं २०७२÷०७३ मा पनि चार वटा झोलुङ्ग पुल निर्माण भएका थिए । ज्यामिरगढी–४ र दुहागढी–८ मा ११७.४ मिटर लामो धगेरे भंगोला टे«ल ब्रिज निर्माण भएको छ । कूल रु. ६५ लाख १८ हजारको लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट ५५० परिवार लाभान्वित भएका छन् ।

जलथल–३ को काजली खोलामा समेत पुल निर्माण भएको छ । कूल १०७ मिटर लामो पुलका कारण १५० परिवार लाभान्वित भएका छन् । रु. ५७ लाख ९३ हजारको लागतमा सो पुल निर्माण भएको हो, जसको नाम चौकीविरान टे«ल ब्रीज राखिएको छ । देउनिया खोलामा पनि मसानघाट ट्रेल ब्रीज निर्माण भएको छ । भद्रपुर–१४ र गरामनी–२ जोड्ने १०६ मिटर लामो पुलका कारण एक सय ९६ परिवार लाभान्वित भएका छन् । यसको लागत रु. ४८ लाख ३२ हजार रहेको छ ।

यता अर्जुनधारा नगरपालिकाको रेखा खोलामा पनि सुखानी टे«ल ब्रीज निर्माण भएको छ । कूल रु. ४२ लाख ९१ हजारको लागतमा सुखानी टे«ल ब्रीज निर्माण भएको हो । वि.सं २०७३÷०७४ मा घाग्राखोलमा सिमलचोक ट्रेल ब्रीज निर्माण भएको छ । डाँगीबारी–७मा पर्ने घाग्राखोलमा निर्माण गरिएको पुलको लम्बाइ ६९.४ मिटर रहेको छ । कूल रु. ४० लाख ३१ हजारमा निर्माण गरिएको पुलबाट त्यस क्षेत्रका पाँच सय १५ घरपरिवार प्रत्यक्ष लाभान्वित तथ्यांक छ ।

वि.सं २०७४÷०७५मा झापाका आठ स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको छ । कूल रु. चार करोड ३८ लाखको लागतमा निर्माण भएका ती झोलुङ्गे पुलबाट तीन हजार ५२० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । झापा गाउँपालिका–१को सानोमाईसहित हल्दिबारी–१ र बाह्रदशी–५को अन्धुवा खोला सापडिग्री खोलामा ९६ मिटर लामो मुक्तिघाट मल्टीट्रष्ट ब्रीज निर्माण गरिएको छ । यसको लागत रु. ९७ लाख ६९ हजार रहेको छ । सो पुलका कारण एक हजार १२० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

गौरीगञ्ज गाउँपालिकाको महाभारा र बैगुन्धुरा जोड्ने कमल खोलामा पनि चाँदनी–कुञ्जीबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । कूल ३२ मिटर लामो ट्रष्ट ब्रीज निर्माणका लागि रु. ३७ लाख ४१ हजार खर्च भएको बताइएको छ । सो पुलका कारण चार सय ६० परिवार लाभान्वित भएका छन् ।

कमल गाउँपालिकाको तोपगाछीको भुत्लुङ्ग खोलामा ३२ फिट लामो ज्योति भुत्लुङ्ग ट्रष्ट ब्रीज निर्माण भएको छ । कूल रु. २८ लाख १३ हजारको लागतमा निर्माण गरिएको पुलका कारण ३०० परिवार लाभान्वित हुने बताइएको छ ।

अर्जुनधारा–२को गोयाङ खोलामा ८८ मिटर लामो राते–गाँजाबारी झोलुङ्गे पुल निर्माण गरिएको छ । कूल रु. ७७ लाख ५३ हजारको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलले ३५० परिवार लाभान्वित हुने बताइएको छ । निन्दा खोलामा पनि मिनी माउन्टेन झोलुङ्गे पुल निर्माण भएको छ । कूल ८३ मिटर लामो झोलुङ्गे पुलले मेनपा बाहुनडाँगी र जिर्मले इलामलाई जोड्ने बताइएको छ, जसको लागत रु. ६७ लाख ५१ रहेको छ । यसबाट ४८० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

हल्दिबारी–१ गोल्धापमा ॐकारेश्वर झोलुङ्गे पुल निर्माण भएको छ । कूल ३२ मिटर लामो झोलुङ्गे पुलका कारण ५३० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यसका लागि रु. ४४ लाख ६० हजार खर्च भएको बताइएको छ ।

त्यस्तै, सतासीधामको धरमपुरमा लेलिया खोलामा २० मिटर लामो प्रगति टोल ट्रष्ट ब्रीज निर्माण भएको छ, जसका कारण २८० परिवार लाभान्वित भएका छन् । कूल रु. २६ लाख १० हजारको लागतमा सो ट्रष्ट ब्रीज निर्माण भएको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवम् अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुङ्गे पुल बनाइएको बताइएको छ । झोलुङ्गे पुल निर्माणका लागि मात्रै यसअघि सात करोड ७७ लाख ९२ हजार २ सय ७३ रुपैयाँ खर्च भएको थियो । झोलुङ्गे पुल निर्माणका कारण तीस हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको अनुमान छ ।

नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत गरी शतप्रतिशत लागतमा झोलुङ्गे पुल निर्माण गरिएका हुन् । पुल निर्माणका लागि सहारा नेपालको समेत साझेदारी छ । सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत साहाराले झोलुङ्गे पुल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here