‘हङ्कङ मार्केट’को बिरासत फर्काउने प्रयास

0
1285

सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल
धुलावारी।

एकदशक अघिसम्म पूर्बकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको धुलावारी बजारलाई हङ्कङ मार्केटका नामले समेत चिन्ने गरिन्थ्यो । पूर्वका सानादेखि ठूला व्यपारी सामान खरिद गर्न धुलावारी नै पुग्नु पथ्र्यो । उपभोग्य वस्तुका लागि नेपाली मात्र होइन छिमेकी मुलुक भारतको पनि विभिन्न ठाउँका उपभोक्ता र व्यवसायीको रोजाइमा थियो– धुलावारी बजार ।

चीनबाट सोझै सामान आयात हुने हुँदा सबैको रोजाइमा परेको धुलावारीमा सस्तो र राम्रो चिनियाँ सामान पाइने भन्दै भारतीयको भीड नै लाग्थ्यो । तर, धुलावारीको त्यो व्यवसायिक बिरासत लामो समयसम्म टिक्न सकेन । अहिले सबैको रोजाइमा सीमापारिकै बजार छ । नेपालीहरु घरायसी स–साना सामान खरिद गर्न समेत भारतीय बजार नै पुग्ने गरेका छन् । जसका कारण हङ्कङ मार्केटका रुपमा चिनिएको धुलावारी बजार सुस्ताएको छ । धुलावारी बजार सुस्ताउनुमा वारि र पारिका उपभोक्ताको रोजाइ सीमापारिकै बजार हुनु हो ।

एकदशक अघिसम्म पूर्वको हङ्कङका रूपमा परिचित धुलाबारी बजारमा कपडा र सजावटका सामान किन्न भारतीय चर्चित कलाकारदेखि सर्वसाधारणको भीड लाग्ने गथ्र्यो । नायक र नायिकाको किनमेलको पहिलो रोजाइ हुने गथ्र्याे सीमानाको यो नेपाली बजार । चलचित्रमा लगाउने पहिरन यही बजारमा किनमेल हुन्थ्यो । तर, अहिले एक जोर जुत्ता चप्पल खरिद गर्न समेत नेपालीहरु भारतीय बजार पानीट्याङ्कीदेखि शिलगढीसम्म पुग्ने गरेका छन् ।

नेपाली बजारमा भन्दा भारतीय बजारमा सामान सस्तो पाइने भन्दै यहाँका उपभोक्ताको रोजाइमा पारिका बजार परेकाले अहिले धुलावारी बजार सुस्ताएको व्यवसायीले बताउँदै आएका छन् ।

भारतले चीनसँग व्यापार खुला गरेका कारण चीनबाट सोझै सामान भारतीय बजारमा जान थालेपछि धुलावारी बजार सुस्ताएको हो । २०६१ सालमा भारतको सिक्किमबाट चीन जोडिने नाथुला नाका पुनः सञ्चालनमा आएपछि त्यतैबाट चिनियाँ सामग्री भारत आयात हुन थालेपछि धुलावारीमा व्यवसायिक कारोवार घटेको हो । नेपालमा चीनबाट भित्र्याइएका सामान धुलाबारीका बजारमा सस्तोमा पाइने गरे पनि भारतले नाका खोलेपछि नेपालकोभन्दा कम मूल्यमा भारतीय बजारमा नै सामान पाइन थाल्यो । त्यसपछि भारतीय उपभोक्ता नेपाल आउन छाडे । भारतमा सस्तो सामान पाउन थालेपछि नेपाली उपभोक्ता पनि उतै जान थालेका छन्् । दशक अघिसम्म चीनबाट सोझै धुलाबारी आइपुग्ने सामान भारतीयकै लागि हुन्थ्यो । उताबाट आउनेले भन्सार नबुझाई सोझै सामान भारततर्फ लैजान्थे ।

तर, अहिले धुलाबारी बजारको बाटो हुँदै दैनिक हजारौं नेपाली उपभोक्ता लत्ताकपडा, दैनिक उपभोग्य सामान, विद्युतीय उपकरण किन्न भारतको पानीट्यांकी पुग्छन् । पानीट्यांकी बजार सधैं भीडभाड, वारिको धुलाबारी बजार सुनसान पहिलेभन्दा ठ्याक्दै उल्टो भएको छ अहिले ।

धुलाबारी बजारको व्यापार घट्नुमा केही वर्षअघिको चोरी, व्यापारी आत्माराम अग्रवालको हत्या पनि मुख्य कारण भएको बताइन्छ । उनको हत्या भएपछि ठूला व्यापारी व्यापार व्यवसाय छाडेर पलायन भएकाले धुलावारीको व्यापारमा कमी आएको व्यवसायीको बुझाइ छ ।

धुलाबारी बजारको व्यापार घट्न थालेपछि यहाँका धेरै मारवाडी समुदायका व्यापारीले आफ्नो व्यापार भारतीय बजारमा सारेका छन् । केहीले बिर्तामोडमा व्यवसाय सारेका कारण धुलावारीको पुरानो साख घटेको हो ।

झापाली अर्थतन्त्र र व्यापारको एक प्रमुख हिस्सा ओगटेको पुरानो बजार धुलाबारी सुस्ताउँदा अर्थतन्त्र र व्यापार चक्रमा समेत नकारात्मक असर परेको सहजै अनुमान लगाउन सकिन्छ । करोडौंको व्यापार हुने बजारमा आएको मन्दीले यहाँको लगानी झापाका अन्य शहर र भारतीय बजारमा बिस्थापित हुँदा स्थानीय तहलाई पनि ठूलो नोक्सानी भएको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य बताउँछन् ।

लत्ताकपडा, क्यामेरा, टीभी, झोला, जुत्ता, ब्याग, लाइट, लाइटरदेखि खेलौनासम्मका सामग्री सस्तो र शुलभ मूल्यमा धुलाबारी बजारमा सहजै खरिद गर्न सकिन्थ्यो एकदशक अघिसम्म । अहिले पूर्वका बिर्तामोडसहित दमक, इटहरी धरान, जस्ता शहरको विस्तारसँगै पुराना बजार धुलावारीसहित मधुमल्लाको पनि बिरासत गुम्दै गएको छ ।

मधुमल्ला पहाडी जिल्लाको लागि हङ्कङ बजार जस्तै थियो । पहाडका अधिकांश मानिस सामान खरिद गर्न यही बजार आउने गर्थाे । तर, यातायातको विस्तारले मधुमल्ला बजारको पनि व्यवसाय घटेको स्थानीय व्यापारीको भनाइ छ ।
यसैबीच धुलावारी बजारको पुरानो विरासत फर्काउन अहिले स्थानीय व्यवसायी एक जुट भएको मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका विजय डालमियाले बताएका छन् । उनले भने– हङ्कङ मार्केटलाई पुरानै अवस्थामा फर्काएर व्यवसायिक चहल–पहल बढाउनु हामी सबैको दायित्व हो ।

भारतीय वजार पानीट्याङ्की, शिलगढीमा पाइने सामान उचित मूल्यमा स्थानीय बजारमै पाइए पनि यस विषयमा उपभोक्तालाई जानकारी नहुँदा सीमा पारि नेपाली उपभोक्ता जाने गरेको डालमियाको भनाइ छ । नेपाली उपभोक्ताले भारतीय बजारमा भन्दा नेपाली बजारमा सामान पाइन्छ भन्ने विषयको ज्ञान नहुँदा सुनेकै भरमा नेपाली उपभोक्ता पारि जाने गरेकाले नेपाली उपभोक्तालाई सचेत गराउन आवश्यक रहेको उनले बताए ।

यसैबीच मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले नेपाली उपभोग्य वस्तुको अघिकतम् प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । उनले नेपाली सामानको प्रयोग गरेर नेपालको अर्थतन्त्रलाई बलियो बनाउन स्वयम् उपभोक्तानै लाग्नुपर्ने बताए । उनले भने– सस्तो पाइने वहानामा नेपाली उपभोक्ताले भारतबाट खरिद गरेको सामान कत्तिको गुणस्तरीय छ, त्यो कहिलै जाँच गर्दैनन् त्यसले मानव स्वास्थ्यमा गम्भीर असर त पु¥याइरहेको छैन’ भन्दै चिन्ता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले स्थानीय उत्पादनका विषयमा उपभोक्तालाई बुझाउन जरुरी रहेको बताएका छन् । नेपालका बजारमा खरिद–विक्री कम हुनुमा उपभोक्ता सचेतनामा कमी हुनु पनि प्रमुख कारण हुन सक्ने पाण्डेको भनाइ छ । नेपाली सामान उपभोगका लागि सवैलाई सचेत गराउन स्थानीय निकायको समेत दायित्व रहेको पाण्डे बताउँछन् । यसो गरिए नेपाली मुद्रा नेपालमै रहने उनको बुझाइ छ ।

अहिले धुलावारीको पुरानो व्यवसायिक बिरासत फर्काउन धुलावारीका व्यवसायी मात्रै लागीपरेका छैनन् सबै व्यवसायी पनि एकजुट छन् । मेचीनगर नगरपालिकासहित सबै व्यापारिक संघ–संस्था एकजुट भएर धुलावारीमै तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, कृषि पर्यटन महोत्सवको आयोजना गरिएको छ । जसबाट धुलावारीसहित पूर्वका बजारको प्रचारप्रसार हुने मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराम तिम्सिना बताउँछन् । उनी भन्छन्– ‘औद्योगिक महोत्सवले धुलावारी बजार मात्र होइन, पूर्वकै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।’

पुस ९ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव

आगामी पुस ९ गतेदेखि धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सव शुरु हुने भएको छ ।
महोत्सवबाट झण्डै दश करोड रुपैयाँको कारोवार हुने अपेक्षा गरिएको छ । गुमेको धुलावारीको व्यवसायिक साख फर्काउन र मेचीनगरमा भएका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महोत्सव फलदायी हुने आयोजकले जनाएको छ ।

मेची उद्योग वाणिज्य संघको आयोजना र मेचीनगर नगरपालिका तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा हुने महोत्सवमा दुई सयभन्दा बढी व्यवसायिक स्टलहरु रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाल पर्यटन वर्ष २०२०लाई समेत लक्षित गर्दै महोत्सवमा नेपालका विभिन्न पर्यटकीय क्षेत्रको जानकारी गराइने आयोजक समितिका अध्यक्ष तिम्सिनाले बताए । उनले भने– महोत्सवमा भारत, भुटान, बंगलादेशका पर्यटकलाई नेपालका पर्यटकीय क्षेत्रको जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछौं । उनले महोत्सवमा दुई लाखभन्दा वढी आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवको अवलोकन गर्ने बताए ।

पर्यटकलाई आकर्षित गर्न हेलिकप्टरबाट झापा भ्रमण गराइने र इच्छुक पर्यटकहरुलाई ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्ने ब्यवस्था मिलाइएको बताइएको छ । महोत्सव सफल पार्न करिब ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । महोत्सवमा झापा जिल्लाका १५ वटै स्थानीय तहमा उत्पादन हुने कृषि उपजलाई समेत प्राथमिकता दिएर प्रचार–प्रसार गरिने बताइएको छ ।

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । यसअघि संघले धुलाबारीमै २०७० सालमा दोस्रो र त्यसअघि बिर्तामोडमा प्रथम महोत्सव सम्पन्न गरिसकेको मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डालमियाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here