घुर्बिसेमा ११७औं इमानसिंह जयन्ती

0
1490

युद्धबहादुर बोहोरा / पाँचथर।

किरात सम्प्रदायका बौद्धिक शंकराचार्य तथा साहित्यकार स्व. इमानसिंह चेम्जोङको ११७औं जन्मजयन्ती घुर्बिसे पञ्चमी बजारमा मनाइएको छ ।

घुर्बिसेमा रहेको इमानसिंहको शालिकमा माल्यार्पण गरी उनको सम्झना गरिएको हो । शालिक संरक्षण समितिका अध्यक्ष भगिरथ चेम्जोङको अध्यक्षता तथा किरात याक्थुङ्ग चुम्लुङ्ग केन्द्रीय सचिव चन्द्र आङ्देम्बेको प्रमुख आतिथ्य र आदिवासी जनजाति महासंघ पाँचथरका सचिव तेजेन्द्र मेयङको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङको पहलमा मन्त्रालयबाट उपलब्ध पाँच लाख र फाक्तेप गाउँ विकास समितिबाट दुई लाख गरी जम्मा सात लाख रुपैयाँमा शालिक निर्माण भएको थियो । २०६७ साल पुस १७ गते संस्कृती मन्त्री डाक्टर मिनेन्द्र रिजालद्वारा उद्घाटन गरिएको चेम्जोङको शालिक स्थापना भएसँगै चेम्जोङ्गको जयन्ती मनाउन थालिएको समितिले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि आङ्देम्बेले किरात जातिका विज्ञ व्यक्तित्व चेमजोङलाई राष्ट्रिय विभूतीमा समावेश गर्नुपर्ने बताउँदै यसको लागि चुम्लुङ्गको अगुवाईमा सरोकारवाला संस्थाको सहयोगमा पहल भइरहेकोे बताए । त्यस्तै जनप्रतिनिधि चन्द्रकुमारी आङ्देम्बेले जयन्ती मनाएर मात्रै चेम्जोङको सपना साकार नहुने भन्दै उनले देखाएको बाटो अनुशरण गर्न सबैलाई ध्यानाकर्षण गराइन् ।

ढोलझाँकीसहितको टोली तथा संघ–संस्था र स्थानीयबासीको सहभागितामा भएको कार्यक्रममा समाजसेवी केहेरसिंह चेम्जोङ र शान्ति बालविकासका प्रधानाध्यापक डिएम आङ्देम्बे (देउमान)ले समाजसुधारक तथा किरात जातिका अगुवा इतिहासकार चेम्जोङ्गलाई सरकारले उचित सम्मान नगरेको गुनासो गरे ।

शालिक संरक्षण समिति, फाक्तेप युथ क्लब, शान्ति बालविकास इङ्लिस स्कूल, घुर्बिसे पञ्चमी माधमिक विद्यालय, थाकथाकमावोहाङ्ग चेम्जोङ वंश उत्थान संघ, आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र जनकल्याण माध्यामिक विद्यालय लगायतको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

समाजसेवी केवी चेम्जोङले स्वागत गरेको कार्यक्रमको सञ्चालन शान्ति बालविकासका शिक्षक बुद्धसिंह केसीले गरेका थिए । आधा शताब्दीभन्दा लामो समय किरात भाषा, लिपि, साहित्य, संस्कृति, र इतिहास विषयमा खोज अनुसन्धानमा लागीपरेका उनले दार्जिलिङमा माध्यामिक शिक्षा अध्ययनको क्रमदेखि नै किरात जाति, इतिहास, धर्म, भाषा, लिपी र साहित्यको खोज अनुसन्धान गर्दै दुई दर्जनभन्दा बढी कृति प्रकाशन गरेका थिए ।

को हुन् इमानसिंह चेम्जोङ ?

सन् १९०४ जनवरी १ तारीखमा भारतको दार्जिलिङमा जन्मिएका स्व. चेम्जोङको पुख्र्यौैली थलो पाँचथरको फाल्गुनन्द–६ आङ्साराङ हो । उनका पिता मेघवरसिंह रोजगारीको शिलशिलामा दार्जिलिङमा रहँदा दावापु हाङमाको कोखबाट उनको जन्म भएको थियो । अमृतासँग विवाह बन्धनमा बाँधिएका चेम्जोङ दम्पत्तिका तीन छोरी र दुई छोरा छन् ।

किरात इतिहासको खोज र प्रकाशनलाई निरन्तरता दिने क्रममा ७२ वर्षको उमेरमा किरात इतिहासविद् इमानसिंह चेम्जोङको देहावसान सन् १९७६ अक्टोबर ८ का दिन दार्जिलिङमा भएको थियो । प्रारम्भिकदेखि ‘म्याट्रिक’ तहसम्मको शिक्षा कालेम्पोङबाटै गरेपछि कलेज (आइए) पढ्न कलकत्ताको सेन्ट जेभियर्समा उनी भर्ना भएका थिए । त्यहीबाट आइए पूरा गरेर बीएको अध्ययनपछि उनी लण्डनबाट एमएएमआरएस गरेका थिए ।

बाल्यकालमा चेम्जोङलाई पढाउने गुरुले एकदिन ‘किरातीहरू जङ्गली हुन्छन्’ भनेपछि त्यसको उत्तरमा उनका बुबाले ‘किरातीहरूको आफ्नै भाषा, साहित्य, कला, संस्कृति र इतिहास छ’ भनी उनको जिज्ञासा पूरा गरिदिएको भए पनि चेम्जोङलाई बुबाको जवाफले चित्त बुझेन, त्यसैले बुबाले भनेका कुराको खोजीमा उनी लागेका थिए । बुबाको हौसला र प्रेरणा समेतबाट चेम्जोङले आफ्नो सम्पूर्ण जीवन किरात भाषा, संस्कृति र सभ्यताको खोजीमा समर्पण गरेका थिए ।

सन् १९६१ देखि त्रिभुवन विश्वविद्यालयको एसियाली अनुसन्धान केन्द्रमा किरात भाषा तथा संस्कृतिविद् भई उनले १५ वर्ष सेवा गरे । त्यसअघि चेम्जोङ सिक्किमको रेभेन्यू अफिसर समेत भएका थिए । त्यस्तै उनले लामो समयसम्म शिक्षण पनि गरे । नेपाल सरकारले २०५५ सालदेखि उनको फोटो अङ्कित हुलाक टिकटको शुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here