सामुदायिकमा अंग्रेजी माध्यम : सुध्रिने लक्षण नै छैन

0
689

पूर्णबहादुर कटवाल,

सामुदायिक विद्यालयमा शुरु गरिएको अंग्रेजी माध्यमको पठनपाठनले यतिबेला निकै आलोचना खेपिरहेको छ । सकारात्मक परिवर्तनका केही सन्देश बाहिरिए पनि गुणस्तर मापनका आधारको विश्लेषणमा धेरै सरोकारवाला सकारात्मक देखिएका छैनन् । केही दिनयता सामाजिक सञ्जाल र विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यमद्वारा प्रकाशन प्रशारण गरिएका समाचारमा सामुदायिकमा शुरु गरिएको अंग्रेजी माध्यमको पठनपाठनप्रति उपल्लो तहकै सरोकारवाला असन्तुष्ट देखिन्छन् । स्थानीय तहका सरकार प्रमुखदेखि माथिल्लो शैक्षिक निकायमा रहेका जिम्मेवारहरु नै आलोचक बनेर उत्रिएका छन् । बिना तयारी शुरु गरिएको अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जशीलता नै मरेको र सामुदाायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक नै असक्षम भएको आरोप लाग्न थालेको छ । खासगरी पुराना शिक्षकमा पढाउने क्षमता नै नभएको कारणले सामुदायिक विद्यालयमा शुरु गरिएको अंग्रेजी माध्यमको पठनपाठन नाम मात्रको भएको समेत टिप्पणी गर्न थालिएको छ ।

तयारी बिना नै शुरु गरिएको अंगेजी माध्यमले विद्यार्थीको सिकाईमा नकारात्मक प्रभाव परेको, अंग्रेजी माध्यम वाध्यता कि आवश्यकता भन्ने विषयमा बहस शुरु भएको, विद्यार्थीलाई घोकन्ते शिक्षातिर प्रेरित गराएको, विद्यार्थीको सिकाई क्षमतामा सुधार नआएको, बालविकास कक्षादेखि नै विद्यार्थीलाई अंग्रेजी भाषा जबरजस्ती लादिनु न्यायसंगत नभएको, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सकारात्मक भए शैक्षिक गुणस्तर अभिवृद्धिमा बल पुग्ने जस्ता दोहोरो टिकाटिप्पणी र बहसले शैक्षिक वृत्त तातिएको छ । यति मात्र होइन, वर्षौदेखि शिक्षण सेवामा रहेका शिक्षकहरुलाई नै दोषी देखाएर सामुदायिकमा शुरु गरिएको अंग्रेजी माध्यमको शिक्षणले प्रगति गर्न नसकेको भन्ने आरोप समेत खन्याइन थालेको छ । कतिपय शैक्षिक सरोकारवालाले अंग्रेजी माध्यममा पढाए पनि नेपाली भाषामा नबुझाएसम्म विद्यार्थीले नबुझ्ने अवस्था भएकोले अंग्रैजी माध्यम व्यवहारिक नभएको बताइरेका छन् ।

त्यस्तै पुराना शिक्षकको मात्र कमजोरी नभई शिक्षा सेवा आयोगबाट परीक्षा उत्तीर्ण गरेर आएका नयाँ शिक्षक पनि कमजोर भएकोले शिक्षक सेवा आयोगको वर्तमान परीक्षा प्रणाली नै कमजोर रहेको समेत बहसका विषय बनेका छन् । यता कतिपय पुराना शिक्षकले नेपालको संविधानमा वालकक्षा र प्राथमिक तहमा मातृभाषाको माध्यमद्वारा पढाउने पर्ने व्यवस्था भएकोमा विद्यालयले उल्टो तरिका अपनाएर सानोमा अंग्रेजी माध्यम र ठूलोमा नेपाली माध्यम पढाइ रहेकोले गुणस्तरको कुरा गर्नु हाँस्यास्पद भएको समेत बताइरहेका छन् । त्यस्तै कतिपय अंग्रेजी माध्यमकै कारणले नै संस्थागत विद्यालय अब्वल नभएको र व्यवस्थापकीय कारण पनि जिम्मेवार पक्ष रहेको धारणा व्यक्त गर्छन् ।

अहिले मुलुकका अधिकांश सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् । अंग्रेजी माध्यम शुरु गरिनुका खास कारण दुईवटा रहेको देखिएको छ । पहिलो सामुदायिक विद्यालयमा दिनहुँ विद्यार्थी संख्या घटिरहेको छ । यसो हुनुको मुख्य कारण अभिभावकको अंग्रेजी मोह र विश्व बजारमा अंग्रेजी भाषा छिटो बिक्नु पनि हो । यसमा आफ्ना बालबालिकालाई छिटो अंग्रेजीमा अब्बल बनाउनु देखिन्छ । दोस्रो, संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कियो । तर, शैक्षिक गुणस्तर कायम गर्ने आधार चाहिँ के हुन् ? कसैले विश्लेषण गर्न सकेको देखिँदैन । निम्न माध्यमिक तहको कक्षा ८ को जिल्लास्तरीय (हाल स्थानीय तहस्तरीय) र एसएलसी (हाल एसईई) परीक्षाको नतिजा नै विश्लेषणका आधार मान्ने गरिएको पाइन्छ । यी वाहेकका अन्य आन्तरिक आधार हेर्ने हो भने पहिला उच्च माध्यमिक र अहिले माध्यमिक तहको कक्षा ११ र १२ को वर्षौअघिको पुरानो पाठ्यक्रम अहिलेसम्म फेरिन सकेको छैन । त्यसको नतिजाले शैक्षिक गुणस्तर मापन गर्न सकिने आधारन नै छैन ।

तर, ढिलै गरेर शुरु गरिएको भए पनि केही अपवाद बाहेक सामुदायिकको अंग्रेजी माध्यमको पठनपाठनको नतिजा नै अहिले विश्लेषण गर्न शुरु गरिएको छ । २, ४ वर्ष अघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका सामुदायिक विद्यालयले न त संस्थागतसँग प्रतिष्पर्धा नै गर्न सके न त शैक्षिक गुणस्तर नै सुध्रियो । त्यसैले त सरोकारवालबीच नै आरोपप्रत्यारोपको श्रृंखलाको सुत्रपात भएको छ । को कहाँ चुक्यौं ? विश्लेषण त्यति सहज छैन । सबैले आ–आफ्नो ठाउँबाट गरेको मूल्यांकन ठीकै होलान्, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक, अभिभावक सबै आ–आफ्ना ठाउँममा ठीकै होलान् । तर, चुरोमा चाहिँ कोही पुग्न सकेको देखिँदैन ।

शैक्षिक परिवर्तन जादुको छडी होइन । सरकारले गरेन वा शैक्षिक नीति ठीक भएन भन्नु नै कारक तत्व खुट्याउनु होइन । हठ, देखासिकी प्रवृत्ति, आफूले मात्र जस लिने सोच, सरोकार र जिम्मेवार निकायको बद्लिन नचाहने पुरातन सोच नै शिक्षा क्षेत्रमा हावी भएका बिकृति हुन् । यति मात्र होइन सत्ता र शक्ति प्राप्तिको आधारशिला शिक्षालाई बनाइनु नै हामीले भोगेका परिणती हुन् । लज्जास्पद कुरा त यहाँ छन् कि पुरानो शिक्षकलाई दोष थोपर्नु । तीन दशक शिक्षण गरेको शिक्षक दोषी बन्दैछ कि उसले अंग्रेजी भाषामा शिक्षण गर्न सकेन । तीन दशकदेखि नीतिनिर्माण तहमा बसेका निजामति कर्मचारी हुन् वा जंगी प्रहरी प्रशासन सेवामा रहेका राष्ट्रसेवक हुन् उनीहरु सक्षम हुने, पाँच दशक राजनीति गरेर मन्त्रालय सम्हालेका मन्त्री सक्षम हुने, राष्ट्रको उपल्लो दर्जामा रहेका चाहे ती शिक्षामा हुन्, चाहे अन्य लब्धप्रतिष्ठित क्षेत्रमा नै किन नहुन्, शैक्षिक प्रतिष्ठानका सञ्चालक नै किन नहुन्, सबै अंग्रेजी माध्यमबाट नै आएका हुन् भने किन सबैतिर सफलता हासिल गर्न सकिएन ? आरोप लगाउनु पर्यो वा तर्क गर्नु पर्यो भने तर्कको दुःख कहीँकतै हुँदैन । तर, आरोप र प्रत्यारोपले शैक्षिक ओज वृद्धि हुन असम्भव नै छ ।

प्रणाली मै सुधार आउनुपर्छ । आजका पुराना शिक्षकको मात्रै गल्ती हो भने अवको १०, २० वर्षमै चमत्कारिक परिवर्तन होला त ? हुन्थ्यो भने त २०, ३० वर्षअघिको तुलनामा अहिले किन चमत्कार हुन सकेन मुलुकमा ? हामीसँगै प्रसस्त नजिर छन् त ‘बोतल फेरिए पनि रक्सी त पुरानै’ भएको । के शिक्षक नै शैक्षिक अपराधी र शैक्षिक गुणस्तर अभिवृद्धिको एकमात्र असली ठेकेदार हो ? तीन दशकअघि नियुक्ति पाएको शिक्षक तीन दशकपछि अंग्रेजी माध्यममा शिक्षण गर्नका लगि थियो कि थिएन ? पक्का यसो नहुनुपर्छ । तत्कालीन पद्धती र आवश्यकता अनुसार आएको उसलाई समयसापेक्ष त गर्न पो सक्नुपथ्र्यो त । यसको जिम्मेवार राष्ट्रका हरेक सम्बद्ध पक्ष र इकाईका ठेकेदारको हुनुपर्छ ।

चाहे विद्यार्थी संख्या बढाउन होस्, चाहे शैक्षिक गुणस्तर सुधार्न होस्, जुनसुकै अभिप्रायले भए पनि सामुदायिकमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएका छन् । तर, यो न फेदको न टुप्पाको भएको पनि सत्य हो । यसले न त विद्यार्थीको संख्या नै बढेको छ, न त गुणस्तरमा सुधार नै आएको छ । दुइवटै उद्देश्य पूरा हुन सकेका छैनन् । अभियान कटमरियो । संख्या पनि बढेन, गुणस्तर पनि सुध्रिएन । अहिलेको व्यवस्थापनमा सामुदायिकमा अंग्रेजी माध्यम फस्टाउँदैन । पेट अघाउने खिचडी एउटै भाँडोमा पाक्ला तर मष्तिष्क अघाउने शिक्षण सिकाइको खिचडी एउटै भाँडोमा पाक्न असम्भव छ । त्यस्तै छ, अहिलेको हाम्रो अंग्रेजी माध्यमको पठनपाठन ।

विद्यालयमा मौजुदा विषयगत जनशक्ति, विद्यालयको वातावरण, नजिकैका संस्थागतसँग प्रतिष्पर्धा गर्ने क्षमतामा अडिग व्यवस्थापन समिति, शिक्षकलाई पेशागत सीपको विकास, अंग्रेजी माध्यमका पाठ्यपुस्तक र अन्य स्टेशनरीको जोहो गर्नसक्ने अभिभावकको क्षमता जस्ता कुराहरु अंग्रेजी माध्यम शुरु गर्नुअघिको पूर्वाधार हुन् । हचुवाका भरमा शुरु गरिएका यी अंग्रेजी माध्यमका विद्यालयमा यी पूर्वाधार छन् कि छैनन् ? एउटा संस्थागत विद्यालयको कक्षा नर्सरीमा पढ्ने विद्यार्थीको अभिभावकले वार्षिक कति रकम खर्च गरेको छ ? त्यो रकम सामुदायिकमा कसरी कम हुन्छ ? गुणस्तरीयताको प्रश्न यही पनि छ ? संस्थागतको शिक्षक कति समय विद्यालयममा कुन तरिकाले खटेको छ ? संस्थागतको प्राचार्य वा सञ्चालक अभिभावकबीच कस्तो दुरी छ र हाम्रो ? संस्थागत र सामुदायिकका अभिभावकको आर्थिक र बौद्धिक हैसियत कस्तो छ ? अंग्रेजी माध्यमबाट नै राम्रो देख्ने हाम्रा सपना नेपाली माध्यम हुँदा त उपलब्धि एक सयको हाराहारीमै हुनुपथ्र्याे नी त्यो थियो थिएन ?

केही अपवाद वाहेक सामुदायिकको अंग्रेजी माध्यम कमजोर रहेको कुरालाई स्वीकार्नै पर्छ । यसममा शिक्षकको मात्र कमजोरी अब ठान्नुहुन्न । किनकि एउटा सामुदायिक विद्यालयमा एकजना निम्न माध्यमिक तह र अर्को माध्यमिक तहमा मात्र अंग्रेजी माध्यममा पठनपाठन गर्ने शिक्षकलाई नियुक्ति दिएर पठाउने व्यवस्था अहिलेसम्म पनि कायमै छ । अरु सबै शिक्षक नेपाली माध्यमबाटै पठनपाठन गर्ने गरि शिक्षक सेवा आयोगको नेपाली माध्यमकै परीक्षा उत्तीर्ण गरी आएका हुन्छन् भने किन शिक्षकलाई नयाँ र पुरानो भनि आरोप लगाउनु वा किन अंग्रेजीमा शिक्षण गर्न सकेन भनेर आक्षेप लगाउनु ? त्यसो भए अंग्रेजी माध्यमको पाठ्यपुस्तकलाई कनीकुथी ट्रान्सलेट गरी शिक्षण गर्नुको विकल्प ऊ सँग के रहन्छ ? अनि यसरी अंग्रेजी माध्यमको पाठ्यपुस्तकलाई नेपालीमा ट्रान्सलेट गरेर शिक्षण गर्नु नै अंग्रेजी माध्यम भयो ? अंग्रेजीलाई नेपालीमा रुपान्तरण गर्नु मात्र अंंग्रेजी माध्यमको पठनपाठन हुनसक्दैन ।

वास्तविकता र बाध्यता यही छ शिक्षकमा । यो गल्ती वा कमजोरी कसको ? अंग्रेजी माध्यमको शिक्षण गरिएको प्रतिष्ठानमा विद्यार्थीे १० बजेदेखि ४ बजेसम्मको समयममा अंग्रेजी भाषाकै मात्र कमाण्ड गरिनुपर्छ । विशेष परिस्थिति बाहेक कक्षाको दोहोरो वार्तालापदेखि खेल, शौचालय, खाजाघर, प्रार्थना सभा आदि स्थानमा अंग्रेजी वातावरण नभएसम्म कसरी बच्चाले अंग्रेजी सिक्न सक्छ र हाम्रो विद्यालय अंग्रेजी माध्यम बन्न सक्छ ? शिक्षकलाई मात्र चेपुवामा पारेर वा कमजोरी देखाएर हाम्रो आवश्यकता ठानिएको अंग्रेजी माध्यमको शिक्षण सम्भव हुन सक्ला र ? यसको लागि आवश्यक पूर्वाधारको विषयमा गम्भीररुपमा नसोचिए हाम्रो शिक्षण प्रणाली अझ अधकल्चो मात्र पो होला कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here