४० वर्षे सम्झौता ‘खारेज’ : बार्न र पुर्न ३६ लाख !

२० पुष २०७६, आईतवार मा प्रकाशित

सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल
बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिका–२स्थित रामचौक सामुदायिक बनले कल्पचन्द्र हर्बल बाल उद्यानसंग गरिएको सम्झौता खारेज गरेको छ । टंक गौतम अध्यक्ष रहँदाको अघिल्लो समितिले कल्पचन्द्रसंग ४० वर्षका लागि गरेको सम्झौता श्याम पोखरेल नेतृत्वको कार्य समितिले खारेज गरेको हो ।

रामचौक सामुदायिक वनमा हर्बल पार्क निर्माण गर्नका लागि सामुदायिक वनले कल्पचन्द्रसंग ४० वर्षे सम्झौता गरेको थियो । उक्त सम्झौता कानून सम्मत नभएको भन्दै वर्तमान कार्य समितिको साधारणसभाले सम्झौता खारेज गरेको हो । सम्झौता अनुसार रामचौक सामुदायिक वनमा पार्क निर्माण गर्ने भन्दै १५ करोड रुपैयाँको कार्ययोजना पेश गरिएको थियो । तर, कल्पचन्द्र हर्वल पार्कको कार्यालय समेत नभएको सामुदायिक वनका अध्यक्ष पोखरेलले बताए । उनले भने– ‘कल्पचन्द्रको आफ्नो कार्यालय समेत छैन, कसरी हाम्रो सामुदायिक वनलाई कल्पचन्द्र आरोग्य धाम बनाउँछ ?’

कल्पचन्द्रले सामुदायिक वनसँग २०७१ साल चैत ६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार कल्पचन्द्र हर्बल वाल उद्यान पार्क निर्माण गर्ने र पार्कलाई आरोग्य धामका रुपमा विकास गरिने बताइएको थियो । सहमति अनुसार कल्पचन्द्रले कुनै काम नगरेको तथा सामुदायिक वन कुनै पनि निजी संस्थालाई लामो समयसम्म लिजमा दिने कानूनी प्रावधान नरहेको भन्दै वर्तमान कार्यसमितिले सम्झौता खारेज गरेको हो– अध्यक्ष पोखरेलले भने ।

कल्पचन्द्रले हर्बल बाल उद्यान अन्तरगत बालबालिका र वृद्धवृद्धालाई लक्षित गर्ने, हरित बाल उद्यान निर्माण गर्ने, हर्वल बाल उद्यानलाई देशकै उत्कृष्ट रुपमा विकास गर्ने, बिर्तामोडको पर्यापर्यटकीय क्षेत्रतर्फ फड्को मार्ने, सामुदायिक वनमा खाली रहेको ठाउँमा हर्वल प्लान्ट भर्दै लाने, लागूऔषध तथा कुलत स्थलको रुपमा प्रयोग हुँदै सामाजिक विकृत्ति बढ्दै गएको वनलाई व्यवस्थित र आकर्षक बनाउने लगायतका योजना हर्वल पार्कले अघि सारेको थियो । पार्कले सामुदायिक वनको विकास गर्ने बताए पनि वन संरक्षणमा ध्यान नदिएको भन्दै यस अघि गरिएको सम्झौता खारेज गरिएको अध्यक्ष पोख्रेल बताउँछन् ।

पार्क निर्माणका लागि कृष्णप्रसाद ढकाल अध्यक्ष रहेको हर्वल पार्कले १५ करोड रुपैयाँ खर्च गरेर मनोरञ्जनसँगै स्वास्थ्यवद्र्धक पार्क निर्माण गर्ने योजना अघि सारेको थियो । योजना अनुसार काम नभएपछि सामुदायिक वनका उपभोक्ताले विरोध जनाएका थिए । बाल उद्यान निर्माणका लागि बिर्तामोड नगरपालिका, डिभिजनल वन कार्यालय र शान्ति मन्त्रालयले आर्थिक सहयोग गर्दै प्रदेश १ सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गर्ने भनिए पनि ३६ लाख रुपैयाँ पर्यापर्यटनको विकासका लागि मन्त्रालयबाट बजेट आएको थियो । सो रकम बाल उद्यानको घेरावारा तथा खाल्डो पुर्दै सकिएको अध्यक्ष पोखरेलले बताए ।

यता कल्पचन्द्र हर्वल पार्कका अध्यक्ष कृष्णप्रसाद ढकालले सम्झौता खारेजको विषयमा आफूहरुलाई थाह नभएको बताएका छन् । उनले एकतर्फी रुपमा सम्झौता भङ्ग नहुने भन्दै पार्क निर्माणको काम जारी रहेको बताए । उनले भने– पहिलो चरणको काम सकिएको छ । पहिलो चरणमा घेरावेरा र वनभित्र रहेका खाल्डाखुल्डी पुर्दै फिलिङ गरेका छौं, अब बाँकी काम गर्छौं । प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाँले पहिलो चरणको काम भएको हो, अब छिट्टै बिर्तामोडवासीसंग छलफल गरेर पार्क निर्माणको काम शुरु गर्ने सोच छ– अध्यक्ष ढकालले भने ।

रामचौक सामुदायिक बन जिल्लाकै दोस्रो सानो सामुदायिक वन हो । यो वन १.८५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ९५ घरधुरी उपभोक्ता रहेको सामुदायिक वनमा ३५० वटा रुख भए पनि सालका १६५ वटा मात्रै रहेको अध्यक्ष पोखरेलले जानकारी दिए । सामुदायिक वनभित्र रहेका रुखमध्ये अधिकांश सिरिस लगायतका कुकाठ भएकाले मरेका रुख ढलेको बताइएको छ ।

ठाडै सुके साल

रामचौक सामुदायिक वन क्षेत्रभित्र रहेका सालका रुखहरु मर्न थालेका छन् । बनलाई पार्कका रुपमा विकास गर्ने योजना अनुरुप काम शुरु गरेसंगै सालका रुखहरु सुक्न थालेका हुन् । वन क्षेत्रभित्र रहेका ठूला खाल्डाहरु पुर्नका लागि माटो थुपारेसँगै रुख सुक्न थालेको उपभोक्ता समितिका अध्यक्ष पोखरेलको भनाइ छ ।

उनका अनुसार सामुदायिक वनमा चमेरा बस्ने गरेको र सोही कारण रुख मर्न थालेको हुनसक्छ । तर, यसको खास कारण भने थाहा हुन नसकेको उनको भनाइ छ । सामुदायिक वन क्षेत्रभित्र रहेका रुख सुक्न थालेसंगै चिन्ता थपियो– अध्यक्ष पाखरेल भन्छन्– ‘नगरकै नमूना वन मर्न थालेपछि हामी आफैं आश्र्चयमा छौं ।’

सामुदायिक वनको आफ्नै योजना

रामचौक सामुदायिक वन समितिले वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारेको छ । पार्कको रुपमा निर्माण गरी बालबालिका, युवा तथा वृद्धवृद्धाहरुमा मनोरञ्जनात्मक पूर्वाधारको रुपमा विकास गर्ने , खाली स्थानमा बगँैचा लगाउने, पर्यटकलाई थकान मेटाउन फलैंचाको व्यवस्था गर्ने, अस्थायी टहरा, विजुली पानीको व्यवस्था गरी वन भोज स्थलको निर्माण गर्ने, वन क्षेत्रसम्म जानका लागि सडकको स्तरोन्नति गर्ने लगायतका योजना अघि सारेको छ ।

सामुदायिक वनले नमूना पार्कको अवधारणा सहित विस्तृत कार्य योजना तयार गरेर प्रदेश मन्त्रालयमा पेश गरिसकेको अध्यक्ष पोखरेलले बताए । उनले भने– ‘वनको विकासका लागि जुनसुकै संस्थासंग हातेमालो गर्न तयार छौं तर, कुनै पनि संस्थालाई वन लिजमा दिएर कमाई खाने भाँडो बनाउन दिदैंनौ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here