सामुदायिक वन आकर्षक पर्यटकीय गन्तव्य बन्दै

२० पुष २०७६, आईतवार मा प्रकाशित

धुलावारी।

झापाका सामुदायिक वनमध्ये अधिकांश अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास भएका छन् ।

सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेसँगै बनले लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् । जसमध्ये मेचीनगरमा रहेको कालिका सामुदायिक वन पनि एक हो । जुन वन समूहले बिगत केही वर्षदेखि पर्यापर्यटनको अवधारणा अघि बढाएर लाखौं रुपैयाँ आम्दानी गरिरहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको कालिका सामुदायिक वनमा निर्माण गरिएको कालिका स्तम्भको प्रदेश नम्वर १का आन्तरिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले उद्घाटन गरे । उनले सामुदायिक वन अहिले आर्थिक उपार्जनको दर्विलो माध्यम भएको बताएका थिए ।

मेचीनगर ११ र १२मा पर्ने सामुदायिक वनले तयार गरेको स्तम्भ आकाशे पुलको उद्घाटन गर्दै मन्त्री आङ्वोले केही समय अघिसम्म वनलाई विकासको वाधक भने पनि अहिले सामुदायिक वन समृद्धिको आधार बनेको बताए । उनले सामुदायिक वन क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने जनाए ।

रबर खेतीले ख्याति कमाएको यो वन आफैंमा एक मनमोहकस्थलका रुपमा दह्रिएको छ । यहाँ आउने जो कोहीलाई पनि यहाँको वातावरणले सहजै लोभ्याउने मात्र होइन मन्त्रमुग्ध नै बनाउँछ । सिमसारको वरिपरि सालजातका सुरिला अनि रवरका रुखले त्यस क्षेत्रको मुहारमा चमक दिएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा कालिका सिमसार क्षेत्रभित्र आकर्षक पुल निर्माण भएको हो । आन्तरिक पर्यटनको लागि कालिका सिमसार जिल्लाकै पर्यटकीय गन्तव्य मान्न सकिन्छ ।

कार्यक्रममा १ नम्बर प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, वेदप्रसाद भण्डारी लगायतले बालेका थिए ।

कालिका सिमसार तथा पर्यापर्यटन विकासका अध्यक्ष योगेश भट्टराईको सभाध्यक्षमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सचिव मैना राजवंशी र स्वागत मेचीनगर–११का वडाध्यक्ष सन्तोष मेचेले गरेका थिए । कार्यक्रममा विभिन्न जात जातिको पहिचान झल्किने साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here