सीसी क्यामेरा र अपराध न्यूनीकरण

0
516

सम्पादकीय

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सीसी क्यामेरा जडान गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा नवागन्तुक प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षाको अवस्था र भावी कार्ययोजनाको जानकारीसहित दुर्घटना न्यूनीकरणका लागि काँकरभिट्टादेखि दमकस्थित मावा खोलासम्मको सडक क्षेत्रमा सीसी क्यामेरा जठान गर्ने योजना रहेको बताएका थिए । सीसी क्यामेराका कारण दुर्घटना कम हुन सक्ने र प्रमाणमुखी अनुसन्धानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोइरालाले यसअघि प्रहरी नायव उपरीक्षकका रुपमा इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत रहँदा बिर्तामोडका केही स्थानमा सीसी क्यामेरा जडान गराएका थिए ।

सवारीको चाप सडकको अवस्थाको तुलनामा अत्यधिक भएका कारण पछिल्लो सयम सवारी दुर्घटनाको क्रम बढेर गएको छ । यो सँगै अनियन्त्रिक गति, ट्राफिक नियमको अवमानना, मादकपदार्थ सेवन लगायतका कारणले पनि दुर्घटना बढिरहेको छ । यस्तोमा सडकमा राखिएका क्यामेराले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुनेछ । यसअघि जडान गरिएका क्यामेराको आधारमा अनुसन्धान सहज भएको र सवारी दुर्घटनाहरु पनि कम भएको तथ्यांकले देखाएको छ । यसकै आधारमा झापा प्रहरी प्रमुखका रुपमा कार्यभार ग्रहण गरे लगत्तै कोइरालाले अधुरो कार्य पूरा गर्दै सवारी दुर्घटनाका साथै अन्य आपराधिक गतिविधि न्यूनीकरण तथा नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।

प्रहरी उपरिक्षक कोइरालाको यो योजनाको लागत एक करोड रुपैयाँभन्दा बढी छ । यसका लागि स्थानीय सरकारसँग समन्वय गर्दै उनको योजना छ । यसै अनुसार मेचीनगर नगरपालिकाले सात लाख रुपैयाँ, कन्काई नगर पालिकाले बीस लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । त्यसैगरी बिर्तामोड, शिवसताक्षी हुँदै दमक नगरपालिका र राजमार्गले छोएका गाउँपालिकाले आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गरे क्यामेरा जडानको कार्य यथासमय सम्पन्न हुनेछ । यसले जनघनत्व बढी भएको, बजार क्षेत्र र अपराध बढी हुने ठाउँहरुमा थप सीसी क्यामेरा जडान गर्न उत्साह प्रदान गर्नेछ । आफूद्वारा गरिएका गैरकानूनी आपराधिक कर्महरुको अभिलेख सीसी क्यामेरामा स्वतः कैद हुने कारणले अपराधहरु न्यूनीकरण हुन सक्छ ।

समाजमा शान्ति सुरक्षा र अमनचैन कायम गर्नु नेपाल प्रहरीको कर्तव्य हो । त्यसका लागि सम्भावित उपायहरुको खोजी गर्नु र त्यसको प्रयोग, प्रहरीको दायित्व नै हो । भौतिकता उत्कर्षतर्फ उन्मुख भएको समय दिनहुँ अपराधका नयाँ तरिका र प्रवृत्ति देखिन थालेको छ । त्यस्तै लागूऔषधको प्रयोगले नयाँपुस्तालाई गाँज्दै लागेको छ । जसका कारण बजार क्षेत्रहरुमा दुव्र्यसनीको संख्या बढ्दैछ । यसले अर्को अपराध बढाउने निश्चित छ । त्यसलाई पनि नियन्त्रण गर्ने दायित्व प्रहरी प्रशासनकै भएका कारण सडक क्षेत्रभन्दा बाहिर पनि सीसी क्यामेरा जडान कार्यलाई बिस्तार गर्दै लानु पर्दछ । यसले जनशक्ति कम भएको प्रहरी संगठनलाई सेवा प्रवाह सहज बनाउने छ । त्यसैले क्यामेरा जडान कार्यले गति लिनुपर्दछ, सबै सरोकारी पक्षको सहकार्य हुनुपर्दछ । सामुहिक संलग्नताले अपेक्षालाई आकार दिनेछ, जुन सबैको हितमा पनि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here