झापा नाटक घर निर्माणका लागि एक्टिभ नाइनको नौ थान इँटा

0
802

बिर्तामोड ।

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माणका लागि एक्टिभ नाइन नामक संस्थाले नौ थान इँटा प्रदान गरेको छ ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा सवै जातजाति, भाषाभाषीको अपनत्व गराउने उद्देश्यले झापा नाटक घर निर्माण समितिको आह्वानमा शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानमा एक्टिभ नाइनले दोस्रो स्थापना दिवसको अवसर पारेर नौ थान इँटा प्रदान गरेको एक्टिभ नाइनका अध्यक्ष गोबिन्द निरौलाले बताए ।

बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माणका लागि झापाका सबै संघ–संस्थाहरुलाई उत्प्रेरणामुलक सन्देश दिने उद्देश्यले एक व्यक्ति एक इँटा समर्पण अभियानमा एक्टिभ नाइनका नौ जना सदस्यले एक–एक थान इँटा घरबाटै ल्याएको प्रदान गरेको उनले बताए ।

सवैको साथ र सहयोगविना बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माण सम्पन्न नहुने भएकाले धनी, गरीव सवैले मेरो झापा नाटक घर भनेर गर्व गर्न लायक बनाउन शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानमा एक्टिभ नाइनले नौ थान इँटा प्रदान गरेर अभियानको शुरुवात गरेको क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले जानकारी दिए ।

बिर्तामोड–१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर गत असार ११ गते निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माणका लागि एक करोड २४ लाख रुपैयाँ आवश्यक रहेको मध्ये करिब ३१ लाख बराबरको निर्माणकार्य सम्पन्न भइसकेको उनले बताए ।

त्यस्तै झापा क्षेत्र नं. २की संघीय सांसद् पवित्रा निरौला खरेलले सांसद बिकासकोषबाट विनियोजन गरेको १५ लाख र प्रदेश सांसद एकराज कार्कीले सांसद बिकासकोषबाट विनियोजन गरेको १० लाख रुपैयाँ गरी जम्मा २५ लाख रुपैयाँले निर्माण कार्य शुरु गरिएको उनले बताए ।

एक्टिभ नाईनका अध्यक्ष गोबिन्द निरौलाको अध्यक्षता तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक्टिभ नाईनका सदस्य सुरेस खतिवडाले स्वागत गरेका थिए भने एक्टिभ नाईनका अर्का सदस्य रोहितकुमार भट्टराईले औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराईले एक्टिभ नाईनको सांकेतिक सहयोगको बाटो झापाका सबै संघ–संस्थाले पछ्याईदिए मात्र पनि झापा नाटकघर निर्माणमा ठूलो सहयोग मिल्ने बताए ।

त्यस्तै समिति सदस्य एवम् बिर्तामोड वडा नं. १का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले एक्टिभ नाइनले गरेको कार्यको प्रशंसा गर्दै झापा नाटक घर निर्माण अभियानमा आफ्नो वडाभित्र सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाका सदस्यलाई सहभागी गराएर अभियान सफल पार्ने प्रतिबद्धता जनाए ।

त्यस्तै नचानु र श्रीजंगा टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्के, व्यवसायी अर्जुन थापालगायतले एक्टिभ नाईनले गरेको कार्यको प्रशंसा गर्दै झापा नाटक घरको निर्माणका लागि सहयोग गर्न सवैलाई आग्रह गरेका थिए ।

त्यस्तै झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले यसले एक्टिभ नाईनले गरेको कार्यले झापाबासीको मन छोएमा मात्र पनि झापा नाटक घर निर्माणका लागि एक व्यक्ति एक इँटा प्रदान गर्दा करिव १० लाख इँटा संकलन हुने र एक लाख इँटा भवन निर्माणमा प्रयोग भए बाँकी ९ लाख इँटालाई रूपान्तरण गरी नाटकघरको अन्य क्षेत्रमा प्रयोग गर्न सकिने बताए ।

एक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको झापा नाटक घर ८० फुट लम्बाई र ७० फुट चौडाइको रहने र नाटक घरभित्र दर्शक प्रेक्षालय, कलाकार आवास गृह, भोजनालय, कार्यालयसहित तीन सय ५० जना दर्शक क्षमता भएको भवन रहने उनले जानकारी दिए ।

बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर अन्तर्गत पहिलो चरणमा झापा नाटक घर निर्माण कार्यसम्पन्न गरी संग्राहलय निर्माणमा जुट्ने क्षितिज नाट्य समूहको लक्ष्य र उद्देश्य अन्तर्गत एक बर्षमा नाटक घरको निर्माण कार्य सम्पन्न गरी बहुजातीय, बहुसांस्कृतिक संग्रहालय निर्माणमा जुट्ने उनले बताए ।

त्यस्तै बिर्तामोडमा रहेका कमर्शियल तथा बिकास बैकका प्रमुखहरुले बैठकबसी झापा नाटक घर निर्माणका लागि एक थान इँटा प्रदान गर्ने घोषणा गरेको उनले बताए ।

सोही कार्यक्रममा श्रीराम इँटा उद्योगका सञ्चालक घनश्याम तिम्सिनाले तीन हजार इँटा प्रदान गरेका थिए । झापा नाटक घर निर्माणको अभियानलाई सार्थक बनाउन व्यक्तिगततर्फबाट उक्त इँटा प्रदान गरेको सञ्चालक तिम्सिनाले जानकारी दिए । कार्यक्रमको सञ्चालन एक्टिभ नाईनका सचिव भानुभक्त खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here