झापा।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारले यस वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले चालू आर्थिक वर्षमा प्रधानमंत्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार बेरोजगारलाई एक सय दिनको रोजगारी दिइने र त्यसका लागि माघ १५ गतेभित्र स्थानीय तहहरुमा बजेट पठाईसक्ने गरी काम भइरहेको बताए ।
गतआर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभर गरी एक लाख ८७ हजारले औसत १३ दिनको रोजगारी पाएका थिए । कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै श्रम मन्त्रालयका सचिव बिनोद केसीले सामाजिक सुरक्षा कोषमा हालसम्म १ लाख ३५ हजार भन्दा बढी सूचीकृत भइसकेका र प्रचारात्मक कार्यक्रम सञ्चालन गर्न मन्त्रालय र मातहतका निकाय लागिरहेकाले यो संख्या क्रमशः बढ्दै जाने बताए ।
उनले वैदेशिक रोजगारीको क्रममा अंगभंग भएका वा मृत्यु भएकाका हकवालाले स्थानीय तहबाटै सुविधा पाउने गरी व्यवस्था गरिन लागेको पनि जानकारी गराए ।






























