श्री स्वस्थानी माताको अनुकम्पा रहोस्

0
401

सम्पादकीय

आज पुस महिनाको शुक्ल पक्षको पूर्णिमा तिथि । आजकै दिनबाट श्रीस्वस्थानी व्रत कथाको पाठ गर्न शुरु गरिन्छ । वैदिक सनातन धर्मका अनुयायीहरुले यही दिनबाट श्री स्वस्थानी कथा श्रवण गरी एकमहिनासम्म व्रत बस्ने गर्छन् । शुक्ल पक्षको पूर्णिमाका दिनदेखि एकछाक चोखोनितो खाएर श्री स्वस्थानी माताको पूजा तथा आराधना गर्ने गरिन्छ । आराध्य देव भगवान शिवजीको महिना अनि क्रियाकलापको वर्णन गरिएको यो कथा एक महिनासम्म सुन्ने–सुनाउने प्रचलन रहेको छ ।

शुद्ध चित्त अनि सत्संकल्पका साथ भक्ति र श्रद्धापूर्वक लिइने यो व्रतका प्रभावले मनोकांक्षा पूर्ण हुने विश्वास लिइन्छ । आफ्नो भक्तहरुको उचित आकांक्षाहरु पूरा गर्ने देवीका चारवटा हात छन् र हातमा चक्र, त्रिशुल, तरवार र कलमको फूल रहेको कथामा उल्लेख छ । अष्ट मातृका अर्थात् आठ वटा देवीका बीचमा रहेकी श्री स्वस्थानी माताको महिमा पार पाइसक्नुको रहेको जनविश्वास रहेको छ । कथामा भगवान शिवका जेष्ठ पुत्र कुमार र अगस्त्यमुनीबीचको संवाद रहेको छ । कथा श्रवण गरिसकेपछि प्रसादका रुपमा फलफूल, सख्खर, चिनी आदि वितरण गरिन्छ । एकतीस अध्यायमा वर्णन गरिएको कथा माघ शुक्ल पूर्णिमाका दिन समापन हुन्छ ।

विशेषतः महिलाहरुले मान्ने यो पर्वमा पुरुषहरु पनि सहभागी हुन्छन् । कथामा मूल पात्रका रुमपा रहेकी सतीदेवी पति भगवान शिवको पिता दक्षप्रजापतिले अपमान गरेपछि यज्ञकुण्डमा हाम फालेर देहत्याग गरिन् । सतीदेवीले देहत्याग गरेको सूचना पाए लगत्तै भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर विश्व परिक्रमा गरेको कथा श्री स्वस्थानी व्रतमा वर्णन गरिएको छ । यसरी सतीदेवीको गलेको शरीर जहाँ–जहा खस्यो त्यहाँ–त्यहाँ देवीका पीड स्थापित गरिएको स्कन्द पुराणमा उल्लेख छ । पति–पत्नीबीचको यस्तो गहिरो सम्बन्धको कथाद्वारा समस्त मानव जातिलाई दाम्पत्य जीवनको महत्व र पवित्रताको शिक्षा दिने यो व्रत अन्य पर्वभन्दा बेग्लै छ ।

भगवान शिवको भक्ति र कृपाबाट मनोवाञ्छीत फल पाइने विश्वासमा पछि हिमालय पुत्री पार्वतीले कठोर व्रत बसेर शिवजीलाई वर पाएको कथा पनि श्री स्ुवस्थानीसँग जोडिएको अर्को प्रसंग हो । त्यही कथामा वृद्ध ब्राह्मणसँग बालिका गोमाको विवाह भएको कथा समेत समेटिएको श्री स्वस्थानी व्रत कथाले अनमेल विवाहविरुद्ध चेतना प्रवाह गरेको छ । पति–पत्नीका बीचको प्रेम र हार्दिकतासहितको यो व्रतका प्रभावले हामी सबैको कल्याण होस् । आज विखण्डन हुँदै जान थालेको नेपाल समाजमा परिवारका बीच अझ पति–पत्नीका बीचको नाता त्यस्तै गहिरो र अटुट रहोस्, त्यसका लागि माताको अनुकम्पा र सुदृष्टि रहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here