कारागारका क्षमताभन्दा तेब्बर कैदीबन्दी, खानेपानी र शौचालयको समस्या

0
565

लहान,

सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दी बताउँछन् । त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला कैदीबन्दीलाई ठूलो समस्या छ । उनीहरुलाई एउटै शैय्यामा तीन जनासम्म सुत्नुपर्ने बाध्यता छ ।

सिरहा कारागारमा १३५ पुरुष र १५ महिला गरी १५० कैदीबन्दी राख्ने क्षमता रहेकामा हाल ४६८ पुरुष र २२ महिला कैदीबन्दी तथा उनीहरुसँगै आश्रित एक बालक र दुई बालिकालाई राखिँदा खान, बस्न र सुत्नसमेत समस्या भइरहेको कैदीबन्दीको भनाइ छ ।

“एउटै कोठामा १०÷१२ जनासम्म कोचाकोच गरेर राख्दा सुत्न बस्न ठूलै समस्या भइरहेको छ”, कारागारमा कैदी जीवन बिताइरहेका ज्ञानबहादुर थापा मगरले भन्नुभयो, “क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ, तर जम्मा १२ मात्र शौचालय छ ।” यस्तै अवस्था छ, महिला कैदीबन्दीको पनि ।

दुई कोठामा राखिएका महिला कैदीबन्दीका लागि केवल दुई शौचालय र एउटा स्नानगृह रहेकाले समस्या भएको महिला कैदीबन्दीको भनाइ छ । एउटा कोठामा १० जनासम्मलाई पुग्ने खाट नअटेपछि तीन÷तीन जना एउटै खाटमा सुत्नुपरेको र खाटमा नअटेर केही महिला बन्दी भुइँमै सुत्न बाध्य भएको थुनामा रहेकी शुभकलादेवी यादवले भन्नुभयो, “कोठा र खाटको अभावले आफूहरुलाई भुइँमै बस्नुपर्ने बाध्यता छ ।”

क्षमताभन्दा बढी बन्दी राखिँदा दैनिक जीवन असहज बनेको उहाले बताउनुभयो । “आफूहरुको कैद सजाय यातनाजस्तै भएको छ । न त आफूहरुको यहाँ स्वास्थ्यकै ख्याल छ न त कुनै सुविधा नै, त्यसमा पनि भवन जीर्ण छ”, उहाँले भन्नुभयो ।

क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण ठूलै समस्या सिर्जना भएको कारागारमा जेलर बबिता महतो बताउनुहुन्छ । भवन अभाव र त्यसमा पनि जीर्ण कारागारभित्र अत्यधिक कैदीबन्दी राखिएका कारण उनीहरुलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहेको जेलर महतो बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here