हात्ती आतंक: तीन पालिका सुरक्षित

0
958

बिर्तामोड र भद्रपुर असुरक्षित

भद्रपुर।

बर्षौंदेखि जङ्गली हात्तीको उपद्रोले वनजंगल आसपासका दक्षिणी झापावासीमा आतंक छाएको थियो । हात्तीको उपद्रो रोक्न त्यस क्षेत्रका वन जंगल वरिपरि सौर्य विद्युतीय तारबार जडान भएसँगै कचनकवल, बाह्रदशी, हल्दिबारीको जलथल, भद्रपुरको वडा नम्बर १ र २का स्थानीयलाई अहिले ढुक्क भएको छ ।

सौर्य विद्युतीय तारबारले जङ्गली हात्ती वनमै थुनिएपछि त्यहाँका स्थानीयले अहिले अन्नबाली भित्र्याउनका साथै राति ढुक्क भएर सुत्न पाएका छन् । गतआर्थिक वर्षमा कचनकवलको दुर्गाभिट्टा सामुदायिक वनदेखि जलथल हुँदै भद्रपुरको विशाल सामुदायिक वनको वरिपरि करिब ३७ किलोमिटर सौर्य विद्युतीय तारबार जडान गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । ‘४० किलोमिटर तारबार लगाउने योजना थियो’– उनले भने– ‘ठाउँ–ठाउँमा गेट थप्नुपर्ने भएकोले ३ किलोमिटर घटेको हो ।’

ललितपुरको न्यू क्रिएशन इम्पेक्स प्रालिलाई सरकारले २०७५ वैशाखमा ४ करोड ७४ लाख रुपैयाँमा तारबार लगाउने ठेक्का दिएको थियो । न्यू क्रिएशन इम्पेक्सले भारतको फेन्ज गार्ड नामक कम्पनीसँगको सहकार्यमा तारबार लगाएको हो । ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गललाई २२ वटा सामुदायिक वन उपभोक्ता समूहको जिम्मामा दिइएको छ । लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक र हात्ती यही जङ्गलमै पाइन्छ । यस जङ्गलमा ११ वटा हात्ती रहेको स्थानीयको भनाइ छ ।

भुतिनी र अन्धुवा खोलामा पनि तारबार जडान शुरु

झापा क्षेत्र ३ बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङ्देनसहित डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम, भारतको चेन्नईस्थित फेन्ज गार्ड नामक कम्पनीका विशेषज्ञ जर्ज, जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिले सौर्य विद्युतीय तारबारको स्थलगत अनुगमन गरेका छन् ।

सो टोलीले जडान नभएका स्थानहरू हेर्दै अनुगमन पश्चात् त्यहाँ पनि तारबार जडान कार्य शुरु गरिएको जनाइएको छ । ‘जलथलको भुतिनी र अन्धुवा खोलामा तारबार लगाइएको थिएन, जङ्गलभित्रका हात्ती त्यहाँबाटै गाउँ प्रवेश गर्न थालेपछि खोलाको अनुगमन गर्दै शुक्रवारदेखि काम शुरु भएको डिभिजन वन प्रमुख घिमिरेले बताए ।

उनका अनुसार खोलामा बाढी आउँदा तारबार बगाउने देखिएपछि जमिनमा गाडिएको जस्तो तारबार लगाउन मिल्दैन थियो । ‘भारतको फेन्ज गार्ड नामक कम्पनीका विशेषज्ञ जर्जलाई बोलाएर खोलाको अनुगमन ग¥यौं’– उनले भने– ‘अब खोलामा झुण्डिने खालको अग्लो तारबार लगाउँदैछौं ।’

‘दुई वटा खोलामा तारबार जडान भएपछि जङ्गल आसपासका तीन वटा गाउँपालिका हात्ती आतंकबाट मुक्त हुनेछन्’– संघीय सांसद लिङ्देनले भने ।’ दुईवटा खोलामा तारबार नहुँदा त्यहीँबाट निस्किएका हात्तीले भद्रपुर क्षेत्रमा आतङ्क मच्चाइरहेको बताउँदै सांसद लिङ्देनले भने– ‘खोलामा तारबार लागेपछि हात्ती जङ्गलमै थुनिन्छन् ।’ ‘यही वर्षभित्र हल्दिबारी र भद्रपुरको भेलागढी सामुदायिक वनसम्म तारबार जडान कार्य हुँदैछ’– उनले थपे ।

थप २० किलोमिटर तारबार आवश्यक

यही आर्थिक वर्षभित्र बाँकी रहेको विशाल सामुदायिक वनबाट कमलधाप, मायालु वन हुँदै भेलागढीसम्म तारबार जडान हुँदैछ । ‘१५ किलोमिटर सर्वेको काम भइसकेको छ’– डिभिजन वन प्रमुख घिमिरेले भने– ‘प्रकृति संरक्षण कोषमार्फत ठेक्का लगाएर काम शुरु हुन्छ, यसका लागि २ करोड बजेट छुट्टाइएको छ ।’ उनका अनुसार चारआली जङ्गलसम्म तारबार नलगाए हात्तीले भद्रपुर, बिर्तामोड र मेचीनगरमा दुःख दिइरहन्छ ।

‘करिब २० किलोमिटर थप तारबार यसै आर्थिक वर्षमा लगाउन सके, यी क्षेत्रका बासिन्दा पनि सुरक्षित हुन्थे’– उनले भने । संघीय सांसद राम कार्की र प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले ४० लाख रुपैयाँ तारबारका लागि भद्रपुर नगरपालिकालाई छुट्याएको मैले सुनेको छु– उनले भने । ‘त्यति पैसाले तारबार जडान गर्न पुग्दैन संघीय सांसद, प्रदेश सांसद र स्थानीय सरकारले २ करोड रुपैयाँ तारबारका लागि बजेट छुट्याएर प्रकृति संरक्षण कोषलाई उपलब्ध गराइदिने हो भने सँधैका लागि यी क्षेत्रहरूमा हात्ती आतंक रोकिन्थ्यो’– डिभिजन प्रमुख घिमिरेले भने ।

जलथलमा तारबार जडान हुँदा हात्ती सदरमुकाम पस्यो

जलथल जङ्गलमा हात्ती नियन्त्रणका लागि तारबार जडान भएपछि त्यहाँका हात्ती सदरमुकाम भद्रपुर आसपासका जङ्गलतर्फ आएका छन् । आहारको खोजीमा जलथलको जङ्गलबाट बाहिर निस्किन नसकेपछि त्यहाँ बस्ने रैथाने जंगाली हात्ती अहिले भद्रपुरतर्फ केन्द्रित भएका हुन् ।

लस्करै निस्किने हात्तीले अहिले दिनहुँ भद्रपुरमा आतङ्क मच्चाइरहेको छ । रात परेपछि भद्रपुरका विभिन्न वडामा हात्ती निस्किन थालेपछि भद्रपुरवासीमा त्रास छाएको छ । हात्तीले भद्रपुरवासीले घरमा भित्र्याएको धान लगायतका अन्नबाली र घरमा क्षति पु¥याउन थालेको छ ।

अहिलेसम्म भद्रपुरमा हात्तीले दर्जनभन्दा बढी घर भत्काइसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘हात्तीले यसबर्ष भद्रपुरमा मानवीय क्षति गरेको छैन’– उनले भने– ‘यसरी नै हात्तीले आतङ्क मच्चाइ रहे भने जनधनको ठूलो क्षति हुन सक्छ, यसको नियन्त्रण तत्काल आवश्यक छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here