इतिहास पानीमा चल्ने जहाज होइन

0
498

पूर्णबहादुर कटुवाल,

इतिहासमा सम्झँदै आएको दिन आज पुस २७ गते । राष्ट्रिय एकता दिवस । नेपालमा २०६२÷०६३ को परिवर्तन अर्थात् गणतन्त्रको स्थापना पछि २०१२ सालदेखि मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडिएको छ । आधुनिक नेपालको संरचना र सपनालाई साकार पार्ने र सिङ्गो नेपालको पहिचानसँग जोडिएको राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा राष्ट्रिय एकता दिवसको स्मरण गर्ने गरिन्थ्यो पुस २७ गतेलाई । तर, गणतन्त्रपछिका दिनमा राजाको गुणगान गाउने दिनको रुपमा लिएर यसलाई मनाउन छोडिएको हो । यति मात्र होइन राष्ट्रिय पर्वको रुपमा रहेको एकता दिवसलाई समेत वैधानिक रुपमै कटाइएको छ । यद्यपि राष्ट्र प्रमुखहरुले व्यक्तिगत रुपमा पुस २७ मा शुभकामना दिन भने छोडेका छैनन् । राज्यले राष्ट्रिय एकता दिवसलाई आवश्यक नसम्झे पनि कतिपय नागरिकले भने यो दिनको स्मरण गर्दै आएका छन् । अझ कतिपय स्थानीय तहका सरकारहरुले समेत राष्ट्रिय दिवस भन्दै सरकारी विदा नै घोषणा गरी दिवस मनाउँदै पनि छन् ।

तीन सय वर्षअघि टुक्रा–टुक्रा भएको नेपाललाई एउटै मालामा गाँस्ने साहसी योद्धा र राष्ट्र निर्माताका रुपमा लिइने पृथ्वी जयन्ती अहिले इतिहास बनेको छ । राजा कै गुणगान गाउने दिनको रुपमा लिइरहनु त सधैँ उपयुक्त नहोला । तर, कुनै पनि शासक त्यही कालखण्डका लागि मात्र स्मरणयोग्य हुन्छन् भन्न सकिँदैन । राष्ट्रिय अभियान सफल बनाउने बाटोमा हिँडेको जो कोही पनि शतप्रतिशत ठीक वा गलत हुने कुनै पनि इतिहासले पुष्टि गर्दैन । महात्मागान्धीदेखि नेपोलीयन मुसोलिनी लगायतका सन्तदेखि क्रुर नेतासम्म सबैका गुण एउटै थिएनन् । गुणदोष त्यही समयको इतिहासले नै पुष्टि गर्छ । १८औं र १९औं शताब्दीको विश्वलाई हेर्ने हो भने चीन, जर्मनी, इटली फ्रान्स जुनसुकै देश पनि एकीकरणकै माध्यमबाट अहिलेका अवस्थामा आइपुगेका हुन् । समूल राजनीतिलाई बिना रक्तपात र बिना युद्ध कहिँकतै पनि परिकल्पना गरिएको छैन । त्यसबेला मानव अधिकारको मात्र तपस्या गरिएको थियो भन्ने कुनै इतिहासका पानाले कल्पना गर्दैन ।

त्यस्तै राजा पृथ्वीनारायण शाहले टुक्रिएको नेपाललाई सिङ्गो नेपाल बनाए भन्ने इतिहास त जो कोहीको मनमष्तिष्कमा ताजै छ । हुनसक्छ, एकीकरणको अभियानमा पक्कै क्रुरता भए, मानवअधिकार हनन् भए, सामाजिक अन्याय र अपराध भए, तर त्यसकै आधारमा इतिहास लुक्दैन । अढाइ सय वर्षको राजतन्त्र अन्त्य गर्यौं, यसको अर्थ सदियौंका लागि अन्तिम परिवर्तनको वाहक हामी गणतन्त्र नेपालका नागरिक हामी । समयले माग्यो २०६२÷०६३ को आन्दोलन र यसपछिको परिवर्तन हामीले चाह्यौं, यसमा हामी ढुक्क छैनौं । अरु एक सय÷दुई सय वर्षपछि पनि यही व्यवस्था कायम भइरहन्छ भन्ने होइन । त्यसबेलाको समयले अर्कै कुनै परिवर्तन चाहन सक्छ । त्यो समय परिवर्तन हो । समाज परिवर्तन हो, रोकिँदैन तर अहिलेको इतिहास त्यसबेला निमिट्यान्न होस् भन्ने हाम्रो सोच छ र ? इतिहासको कुनै कालखण्डले अहिलेको इतिहास बिर्सियोस् भन्ने हाम्रो चाहना पक्कै छैन । एक सय वर्षपछिको नेपालको नागरिकले हाम्रो अहिलेको परिवर्तनलाई सत्य नै मान्नुपर्छ र ? पक्कै त्यो सम्भव नहुन सक्छ र हुँदै पनि । त्यसैले हामी इतिहासको लहरामा अल्झिएका इतिहास कै विद्यार्थी हौं । महाभारतकालीन युद्धलाई आवश्यकता र ठीक ठान्ने एकथरी होलान् त्यसैलाई गलत मान्ने पनि अर्कोथरी हुन सक्छन् । ठीक÷बेठीक छुट्याउने मानवीय कर्तव्य पनि हो । विश्लेषण समयले गर्छ । इतिहास बिर्सनु हुँदैन । मुर्खता हुनसक्छ इतिहास बिर्सनु । १८औं शताब्दीका मानिस असल नागरिक नै थिए होला, आफ्ना काममा उनीहरु गौरव नै गर्थें होला र अब २२औं शताब्दी वा अन्य कुनै युगमा मानिसले पनि त्यही समयको गौरव गर्ने हो । मात्र इतिहासको विश्लेषण गर्दैं समयसापेक्ष बन्ने मात्र हो ।

तर, अहिले हामी इतिहासलाई कैद गर्दैंछौं । कसैले यसलाई महामानवता सम्झेको हुन सक्छ यो व्यक्तिगत धारणा हो । गर्न सक्छौं । तर, इतिहास गुमराहमा पार्ने भूल चाहिँ हाम्रो महामानवता अनि सभ्यता होइन । पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् । एकीकरणकर्ता हुन् । टुक्रिएको नेपाललाई सिंगो नेपाल बनाउने श्रेय उनलाई नै छ । यसलाई कुनै पनि गणतान्त्रिक इतिहासले ओझेलमा पार्न सक्दैन । भलै व्यक्तिको गुणगान गाउनु÷नगाउनु आफ्नो ठाउँमा छ । तर, उसले गरेका मुख्य कामको स्मरण गर्नु त अपराध होइन । आधुनिक नेपालको खाका कोर्ने अभियन्ता, नेपालको सीमाना पञ्जावदेखि सिक्किमसम्म पुर्याउने नायक पृथ्वीनारायण शाह नै हुन् । त्यसैले राष्ट्रियरुपमा एकताका प्रतिकका रुपमा स्मरण गर्नु गलत काम निश्चय नै होइन । उनले देश बनाउन गरेका क्रियाकलापका जीवन्त दस्तावेजले देशको सुशाासनप्रतिको मोहलाई प्रष्ट्याउँदैनन् र ? एकीकरणको अभियानमा कुनै जातवर्ग समुदायबीच अन्याय, भएका थिएनन् भन्ने होइन ।

तर, राष्ट्रिय एकतालाई मूलपन्त्र ठान्ने युगपुरुष पक्कै थिए उनी । नेपाली समाजको विकास र सुशासनप्रतिको बफादारी, राष्ट्रिय एकताका धरोहर दुरदर्शिता जस्ता विशेषतालाई नकार्न सकिँदैन । तिनै गुणका आधार र आरोह÷अवरोहकाबीच नै हामी गणतन्त्रसम्मको संघारमाा आइपुगेका छौं । हरेक मुलुकलाई सिंगो, सार्वभौम र अक्षुण्ण राख्ने युगपुरुषको आवश्यकता पर्छ । त्यही आवश्यकताका पात्र थिए उनी । एउटा युगको एउटा महामानवले युगान्तकारी परिवर्तन गर्न सक्दैन । यो जानकारी त देश चलाउँछु र परिवर्तन ल्याउँछु भन्ने कुन नेतालाई हेक्का छैन आज ? समयले यस्ता युग पुरुष जन्माइरहन्छ । हामीलाई थाहा नै छ त नेपालको इतिहास गोपाल वंशबाट शुरु हुन्छ । नेपाल मण्डलको प्रामाणिक इतिहासलाई हेर्दा धेरै मोड पार गरेर अहिलेको अवस्थामा हामी आइपुगेका छौं । के हामीले त्यही गोपाल वंशदेखि किरात वंश, मल्ल वंश, राणाकाल, शाह वंश सबै कालखण्डका सबै राम्रा र नराम्रा पक्ष बिर्सने हो ? हिजो बिर्सने हो भने भोलिको कल्पना कसरी गर्न सकिन्छ । सम्भव नै छैन ।

हामी भन्ने गर्छौं, सदियौंदेखिको राजनीतिक अस्थिरता र अराजकता अन्त्य गरेका छौं । विभेद, जातीय विभेद, असमानता, अन्याय, अत्याचार र उत्पीडन अन्त्य गरेका छौं । हामी अब गणतन्त्रको नयाँ अभ्यासको बाटोमा आइपुगेका छौं । तर, यति मात्र नेपाल र नेपालीको भविष्य र सपना होइन । यात्रा अनन्त छ । यात्रा नै सामाजिक परिवर्तनको संवाहक हो । जुन समय कालखण्डमा परिवर्तन भइरहन्छ । हो, हाम्रा अगाडिको शाह वंशीय शासन सत्ता व्यवधान थियो । अन्त्य गर्यौं । तर, १०४ वर्षको राणा शासनको डटेर सामना गर्ने त हाम्रो पुस्ता होइन नी ? के त्यो इतिहास माया मार्नु हामीले ? राणा शासकले शुरु गरेका कतिपय सुधार अहिलेका आधार बनेका छैनन् ? २९ वर्षे पञ्चायतले सूत्रपात गरेका गोरेटा अहिलेका मार्गनिर्देश नबनेका छैनन् ? त्यो आवेशमा आएर तुरन्तै नौलो परिवर्तन गर्छु भनेर आक्रामकशैलीमा झम्टने शासनसत्ताको प्रवृत्ति घातक बन्न सक्छ । यस्ता हाम्रा अपरिपक्व हरेक गलत निर्णय गलाको पासो बन्न सक्छन् ।

हामी लोकतान्त्रिक पद्धतिको अभ्यासमा छौं । भौतिकरुपमा राज्यको एकीकरण गर्नु छैन हामीले । बरु भएको जोगाउनु छ । अहिलेको आवश्यकता भनेको आम नागरिकको मनोविज्ञानको एकीकरण नै मूल अभियान हो । यो मनोवैज्ञानिक एकीकरणका मूलतत्व भनेको नै समृद्धि हो । समृद्धिको मुलमन्त्र नै राष्ट्रिय एकता हो । तर, राष्ट्रिय एकताको पितापुर्खाको सन्देशलाई नै लहडमात्र सम्झने हो भने विगत भुलेर भविष्य बन्न सक्दैन ।

त्यसैले राष्ट्र र राष्ट्रियता हामीले जन्माउने होइन, विगतलाई स्मरण गरेर यसको संरक्षण गर्ने जिम्मा मात्र हो । आज भूगोलमा विदेशीको गिद्धे नजर परेको छ । व्यापारमा कुदृष्टि परेको छ । भाइ–भाइ फुटाउ र राज गरको रणनीति मौलाएको छ । अस्थिरता चाहने शक्ति आफ्नो सामरिक स्वार्थका लागि चल्मलाउन थालेका छन् भने हामी केका लागि लड्दैछौं कुन सुधार चाहँदैछौं । संस्कार र इतिहास बिर्सियौं भने हामी कति आधुनिक र परिवर्तनकारी हुन सक्छौं, त्यसैले इतिहासलाई सम्मान गर्न सिकौं आखिर इतिहास भनेको पानीमा बहने पानीजहाज होइन जसले पाइँला मेट्दै जान्छ । इतिहास भविष्यको योजना पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here