राष्ट्र निर्माताप्रति श्रद्धा प्रकट गरौं

0
755

सम्पादकीय

आज पुस २७ गते । बाइसे, चौबीसे राज्यका रुपमा रहेका थुप्रै राज्यलाई एकीकरण गरी नेपाल राष्ट्रको जग बसाउने राजा पृथ्वीनारायण शाहलाई सम्झिने र कृतज्ञता जाहेर गर्ने दिन हो आज । गोर्खाका राजा नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाहले चन्द्रागिरी डाँडाबाट सौन्दर्यशाली नेपाल खाल्डोलाई गोर्खामा मिलाउन देखेका सपना अन्ततः टिष्टा र काङ्गडासम्म पुर्याएर एउटा अखण्ड राष्ट्र निर्माण गरेर पूरा गरे । भारतको पञ्जावसम्म फैलिएको नेपालको भू–भाग उनको देहावसानपछि साँघुरिएको भए पनि विश्व मानचित्र र इतिहासमा स्वतन्त्र नेपालको अस्तित्व कायम छ । यसले पनि राजा पृथ्वीनारायण शाहको योगदान सदास्मरणीय रहनु पर्दछ ।

त्यसो त वर्तमान नेपालको निर्माण उनको एक्लो प्रयासले भएको होइन । उनका सहयोगी भारदार तथा वीर फौजको त्याग र समर्पण, उनको दूरदृष्टि, रणकुशलता अनि अठोटको परिणामले निर्माण भएको नेपालको इतिहास चाहेर पनि बिर्सन सकिन्नँ । १८औं र १९औं शताब्दी एकीकरणको समय थियो । पश्चिमा मुलुकबाट शुरु भएको एकीकरणको लहरले भएको अस्तित्व पनि गुम्ने खतरा रहेका बेला समान भाषा, संस्कार र संस्कृति भएका तर टुक्रामा विभाजित राजा–रजौटाहरुलाई एउटै देशको छानामुनि ल्याउन उनले गरेको संघर्ष इतिहासको नमेटिने खण्ड हो । आज विश्वका शक्तिशाली भनिने देशहरु पनि टुक्रा–टुक्रामा रहेका बेला स–साना राज्यलाई मिलाएर एउटा शक्ति राष्ट्रका रुपमा स्थापित गर्न पृथ्वीनारायण शाहले दिएका योगदान बिर्सनु स्वयम्लाई बिर्सनु सरह हुनेछ ।

अहिले समयले कोल्टे फेरेको छ । राजा पृथ्वीनारायण शाहले सृजना गरेको नेपाल गणतन्त्रमा प्रवेश गरेको छ । यसले राजसंस्था अनि हाम्रा धरोहरप्रति जबर्जस्ती वितृष्णा उत्पन्न गराएर कतिपय विशिष्ट चलनहरु बगाइ दिएको छ । त्यहीभित्र पृथ्वीजयन्ती र एकता दिवसलाई पारिएको छ । आफ्नो इतिहास र पुर्खाप्रति गौरव नगर्ने जाति चिरस्थायी हुनै सक्दैन । त्यसतर्फ वर्तमान शासकहरुमा चेतना जाग्रत भएकै छैन । आज मुखले मन्त्र जस्तै जप्ने गरेको सुशासन र त्यसको शत्रु भ्रष्टाचार, परनिर्भर प्रवृत्तिका विरुद्ध राजा पृथ्वीनारायण शाहले अभिव्यक्त गरेको विचार र व्यवहारलाई मात्र पालना गर्ने हो भने प्राप्त गर्न सकिन्छ भन्ने बिर्सनु हुँदैन ।

‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘प्रजा मोटा भया दरवार बलियो रहन्छ’ जस्ता उनका वाणी एवम् दिव्योपदेश हाम्रा नेतृत्व वर्गले आत्मसात गर्ने हो भने सुशासनको पनि प्रत्याभूति हुन्छ । उनले अठोट नगरेको भए आज स्वतन्त्र नेपालका स्वतन्त्र नागरिक हुन पाइने थिएन । त्यसैले पनि नेपालका सृजनाकार पृथ्वीनारायण शाह वडा महाराजा नै हुन् । सुशासनको मुख्य बाध भ्रष्टाचार नै हो । आज सार्वजनिक पद धारण गरेका बहुसंख्यक माथि घुस खाएको आरोप लाग्ने गरेको छ । त्यही सन्दर्भलाई दूरदर्शी राजा पृथ्वीनारायण शाहले ‘घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् भनेका थिए । ‘दुई ढुंगाबीचको तरुल’ पनि त्यत्तिकै सामयिक र सान्दर्भिक छ । त्यस्ता राजालाई सम्झिने पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस विक्षिप्त मानसिकताको परिणामले उपेक्षित भएको छ । हामी सबै उनीप्रति श्रद्धा र सम्मान प्रकट गरौं, नेपाली र नेपालीत्वको पर्याय बनेका उनको सत्स्मरण गरौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here