झापामा मटर तस्करी, मूल्य बढ्यो

0
1138

बिर्तामोड।

तेस्रो मुलुकबाट आयात गरिएको पहेंलो केराउ (मटर) भन्सार छलेर भारततर्फ तस्करी हुने क्रम बढेको छ । जसका कारण झापासहित पूर्वी नेपालमा मटरको भाउ अस्वभाविक रुपमा बढेको छ ।

अहिले झापाको पूर्वी नाका काँकरभिट्टा लगायतका नाका हुँदै झापाबाट दिनहुँ मटर तस्करी भइरहेको छ । भन्सार कर्मचारीसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘सेटिङ’मा खुलेआम रुपमा मटर तस्करी भइरहेको स्रोतले जनाएको छ । यसअघि मरिच, सुपारी र पेट्रोलियम पदार्थ भारत पु¥याउने गिरोह नै पछिल्लो समय केराउ तस्करीमा लागेका हुन् । विशेष गरी पहेंलो केराउ तस्करी हुने गरेकोमा अहिले हरियो केराउ तस्करी भइरहेको छ ।

छिमेकी देश भारतमा कुनै पनि वस्तुको माग र मूल्य बढी छ भन्ने थाह पाउने बित्तिकै नेपालका व्यवसायी समुद्रपारबाट त्यही वस्तुको पैठारीमा सक्रिय हुन्छन् । यही क्रममा क्यानडा र युक्रेनबाट हरियो र पहेँलो केराउको आयात अस्वभाविक रुपमा भइरहेको छ । इण्डोनेसिया र थाइल्याण्डबाट आयात गरिने सुपारी तथा ग्वाटेमालाबाट आयात गरिने सुकमेलमा कमी आएको छ । भियतनाम र ब्राजिलबाट ल्याइने मरिचको मात्रामा हल्का मन्दी भएको छ । तर, मटरको भने आयात उच्च छ ।

भारतमा केराउको मूल्य बढी भएपछि नेपाली व्यवसायीले मटर भारत निर्यात गर्दै आएका हुन् । केही समय अघिसम्म हरियो मटरको मूल्य प्रतिकिलो ग्राम ६८ देखि ७० रुपैयाँ रहेकोमा अहिले भारत तस्करी हुन थालेपछि एक सय २० रुपैयाँ प्रतिकिलोमा बिर्तामोडसहित पूर्वका बजारका किनबेच हुने गरेको छ । जसका कारण उपभोक्ता मारमा छन् । त्यस्तै पहेँलो मटरको मूल्य पनि व्यवसायीले ह्वात्तै बढाएका छन् ।

भन्सार कार्यालयका अनुसार भारतबाट पैठारी गरिएको मटर हो भने कृषि सेवा शुल्क ८ प्रतिशत तिरे पुग्छ । तेस्रो मुलुकबाट आयातितमा भने भन्सार महशुल १० प्रतिशत बुझाउनुपर्छ । केराउको पैठारीमा मूल्य अभिबृद्धि कर तिर्नुपर्दैन । तराई क्षेत्रका सबैजसो सीमा नाकाबाट भारततर्फ केराउको अवैध निकासी हुने गरेको छ ।

नाफा कम भएको वस्तु भएकाले यसको संस्थागत तस्करी नभएको स्रोतको दाबी छ । तर, श्रमिक–मजदुर वर्गका निम्न आर्थिक स्थिति भएका घर परिवारको आयस्रोत भने तीन वर्ष यता ‘इधरका केराउ उधर’ मै अडिएको छ । कारोवारमा सम्लग्नले इधरको केराउ उधर भन्दै प्रहरीको सामुन्नेबाट केराउको दैनिक तस्करी गरिरहँदा समेत प्रहरी प्रशासन रमिते बनेको छ ।

नेपालबाट अवैध निकासी भई भारत पुग्ने मुख्य वस्तु कुनै बेला सुपारी थियो । सुपारीको पैठारीमा सरकारले महंगो शुल्क लिन थालेपछि भारतमा भन्दा नेपालमै महंगो पर्न थाल्यो । फलतः सुपारीको ‘इधरउधर धन्धा’ अहिले शून्य प्रायः छ । स्रोतका अनुसार सुपारीको आयात हाल स्वदेशका गुट्खा उद्योगमा आपूर्ति गर्ने उद्देश्यले बढी भएको छ । सुपारीपछि सुकमेलको ‘वारपार धन्धा’ निकै फष्टायो । सुकमेल भारतमै सस्तो भएपछि यसको कानूनी पैठारी गरेर गैरकानूनी निकासी गर्ने क्रम पनि सेलायो ।

सुकमेलपछि मरिच पैठारी गरेर भारत पठाउन थालियो । तर, अन्तर्राष्ट्रिय बजारमा मरिचको मूल्य खस्किएका कारण यसको कारोबार बढ्न सकेको छैन । सुपारी, सुकमेल र मरिचको कारोबारमा सुस्तता देखिए पनि हरियो केराउको कारोबार भने मौलाएको पाइएको छ ।

आयातकर्ता ठूला व्यापारीसँग स–सानो परिमाणमा खरिद गरेर सीमा क्षेत्रका व्यवसायीले तस्करीको लाइन चलाउने गरेका छन् । झापाको पूर्वी नाका काँकरभिट्टा, सतिघट्टा, भद्रपुर, झापा, घेरावारी, गौरीगञ्ज लगायतका क्षेत्रबाट भारततर्फ दिनहुँ केराउ तस्करी हुने गरेको छ । तस्करी मौलाएपछि नेपालमा बजार भाउ अचाक्ली वृद्धि भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले तस्करीका विषयमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको बताएका छन् । उनले प्रहरीको मिलेमतोमा मटर तस्करी नहुने दावी गरे । तस्करी नियन्त्रणका लागि अहिले प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको र खुल्ला नाका भए पनि सबै ठाउँमा कडाइ गरिएको श्रेष्ठको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here