डाँगीवारी ।

झापाको वाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको नवदुर्गा मन्दिरमा आजबाट सप्ताहव्यापी श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल महायज्ञ शुरु भएको छ ।
प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद राजेन्द्रकुमार लिङ्देनले महायज्ञको उद्घाटन गर्दै हिन्दू सनातन धर्मको रक्षा विना सम्मुनत समाज निर्माण हुन नसक्ने बताउनुभयो । उहाँले धर्मका नाममा विदेशी शक्ति हावी भएको भन्दै नेपाली नेपालीलाई फुटाएर आदिम कालदेखि चलिआएको हिन्दू सनातन धर्मलाई नामेट पार्न खोजेको आरोप लगाउनुभयो । धर्म, संस्कार,संस्कृतिको धनी देश नेपालमा विभिन्न खाले देशी विदेशी शक्तिले धर्मको नाममा चलखेल गरिरहेको र धार्मिक सहिष्णुता खल्बल्याएको बताउनुभयो ।
श्रीमद् भागवत महायज्ञ मूल आयोजक समितिका अध्यक्ष देवेन्द्र चम्लागाईको अध्यक्षतामा भएको कार्यक्रममा महायज्ञ मूल समारोह समितिका टोम राजवंशी, संविधान सभा सदस्य हरि वहादुर राजवंशी, वाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहाल, वाह्रदशी गाउँपालिका – ७ का वडा अध्यक्ष मित्रराज भट्टराई, समाजसेवी लोकनाथ चम्लगाई, , तत्कालीन डाँगीवारी गाविसका पूर्व लक्ष्मण पाठक, अध्यक्ष दुर्गा पराजुली, एक्सल डेभलपमेन्ट वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, प्रमुख कथा वाचक आचार्य छन्दूराम भण्डारी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन वाह्रदशी गाउँपालिकाका शिक्षक लोचनकुमार गुरागाईले गर्नुभएको थियो ।

वाह्रदशी गाउँपालिकाको प्रमुख शक्ति पीठका रुपमा रहेको गौरीशंकर शिवालय गायत्री स्वरुपा आश्रमको एक अंशको रुपमा वाह्रदशी गाउँपालिकाको वडा नम्वर – ७ मा रहेको नव दुर्गा मन्दिरलाई लिइने गरेको बताइन्छ । सो मन्दिर ऐतिहासिक महत्वको भएकाले मन्दिरलाई पुर्ननिर्माण गर्दै लाने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ उद्घाटन समारोहमा जानकारी दिइयो ।
एक करोड २० लाख रुपैयाँको लागतमा नव दुर्गा मन्दिरसंगै सामुदायिक भवन समेत निर्माण गर्ने लक्ष्य सहित सञ्चालित महायज्ञको उद्घाटन सत्रमा वाह्रदशी गाउँपालिका – ७ निवासी समाजसेवी लोकनाथ चम्लगाईले पाँचलाख ५५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । वाह्रदशी गाउँपालिकाको शक्तिपीठका रुपमा रहेको मन्दिरको पुन निर्माण गर्नु आफैंमा खुशीको कुरा हो भन्दै आगामी दिनमा समेत सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मन्दिर निर्माणका लागि वाह्रदशी गाउँपालिकाले २ लाख रुपैयाँ र वाडा नम्वर ७ ले मात्रै पाँच लाख रुपैयाँ सहयोग गर्ने वाह्रदशी गाउँपालिका – ७ का अध्यक्ष मित्रराज भट्टराईले बताउनुभयो । यसैगरी गौरीशंकर माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीले एक लाख ४० हजार २ सय ५१ रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिनुभयो ।
त्यस्तै दीपजन अंग्रेगी माध्यमिक विद्यालयका शिक्षक कर्मचारीले समेत ५१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने विद्यालयका प्रिन्सिपल लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । समाजसेवी तथा तत्कालीन डाँगीवारी गाविसका पूर्व अध्यक्ष लक्ष्मण पाठकले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । एक्सल डेभलपमेन्ट वैंक विर्तामोडले समेत महायज्ञमा सहयोग प्रदान गर्ने कार्यकारी निर्देशक पोखरेलले प्रतिवद्धता जनाउनुभयो ।
महायज्ञ उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी , उपाध्यक्ष रत्नाकुमारी राजवंशीले सहयोग सफलताको शुभकामना दिदै गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।































