३८ प्रतिशत मात्र राजश्व संकलन

0
1247

बिर्तामोड।

मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा लक्ष्यको ३८ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक बर्ष २०७६÷०७७ मा १३ अर्ब २४ करोड १९ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएपनि लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकिएको मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।

चालू आर्थिक वर्षको ६ महिनामा कार्यालयले लक्ष्यको ३८ प्रतिशत अर्थात पाँच अर्व ६८ करोड ४१ लाख एक हजार ३ सय १० रुपैयाँ मात्र राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।

६८ औं विश्व भन्सार दिवसको अवसरमा कार्यालयमा आइतवार आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समय भारत लगायत तेस्रो देशबाट सामान आयात घटेको र निर्यात बढेकाले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिएको बताए । उनले १०.६४ प्रतिशतले आयात घटेको र १७ प्रतिशतले निर्यात बढ्दा लक्ष्य प्राप्ति हुन नसकेको जानकारी दिए ।

पूर्वी नाका काँकरभिट्टा हुँदै सबैभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिने गरेको छ भने सबै भन्दा बढी यो नाका भएर अलैंची निर्यात हुने गरेको छ ।

यसैबीच कार्यालयले विश्व भन्सार दिवसको अवसर पारेर आइतवार नै काँकरभिट्टामा प्रभातफेरीको आयोजना गरेको छ । मेची भन्सार कार्यालयबाट शुरु भएको ¥यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । ¥यालीपछि कार्यालयमा आयोजित कार्यक्रमकाबीच कार्यालयका उत्कृष्ट कर्मचारीसहित भन्सार एजेन्टलाई सम्मान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी उदय राना मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्मचारी ननुका पोखरेल, नवराज अधिकारी, देवी भण्डारी भन्सार एजेन्ट नरेन्द्रकुमार कार्की, नेपाल आयल निगम चारआलीका बलकुमार कटुवाललाई सम्मान गरिएको थियो । त्यस्तै भन्सार विभागका तर्फबाट भन्सार अधिकृत रामप्रसाद भट्टराई, उद्धवप्रसाद दाहाल र भन्सार एजेन्ट कृष्णकान्त खनियालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, प्रमुख जिल्ला अधिकारी मगर, भन्सार कर्मचारी खड्गवहादुर माझी लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here