जलथल जंगलमा हात्ती मृत फेला

१३ माघ २०७६, सोमबार मा प्रकाशित

भद्रपुर।

झापाको जलथल जङ्गलमा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । कचनकवल गाउँपालिका –३ साबिक पथरिया –७ स्थित अभिमुक्तेश्वर सामुदायिक वनमा जङ्गली हात्ती मृत अवस्थामा भेटिएको हो । सो सामुदायिक वन चारकोशे जलथल जङ्गलभित्र पर्छ ।

१२ फिट लम्बाइ ८ फिट २ इन्च उचाइ भएको हात्ती कुहिएर गन्हाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

शनिवार बेलुका दाउरा टिप्न गएका स्थानीयले जङ्गलमा मृत अवस्थामा हात्ती देखेपछि सामुदायिक वन समितिका पदाधिकारीलाई जानकारी गराएको समितिका अध्यक्ष गिरिराज नेपालले बताए ।

जङ्गलमा भेटिएको हात्ती आफंै मरेको वा मारिएको विषयमा अहिले केही भन्न नसकिने र यस विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । ‘हात्तीको दारा छैन, त्यसैले यो पोथी हात्ती हुन सक्छ’ –उनले भने– ‘हात्ती मरेको विषयमा आजै समितिबाट जानकारी आएको हो, हात्तीको छाला र हड्डी परीक्षणका लागि विधि परीक्षण प्रयोगशाला पठाउने छौं ।’ परीक्षण रिपोर्ट आएपछि मात्र केही भन्न मिल्ने उनको भनाइ छ । ‘हात्तीको हड्डी भएको टाउकोको भाग वन कार्यालय ल्याएको र मृतक हात्तीलाई त्यही पुरिदिएका छौं– घिमिरेले भने ।’

जङ्गलमा मृत अवस्थामा भेटिएको हात्ती २० देखि २५ दिन अघि मरेको हुन सक्ने पशु विकास अधिकृत विशाल पोखरेलले जानकारी दिए । मृतक हात्ती भाले वा पोथी भन्ने खुलेको छैन । हात्तीको उमेर अन्दाजी ३५ वर्ष माथि हुन सक्ने उनको भनाइ छ ।

जलथल जङ्गलमा आठ महिना अघि पनि एउटा छावा जङ्गली हात्तीको मृत्यु भएको थियो । साबिक जलथल गाविस १ हाल हल्दिवारी –३ स्थित रनकाली सामुदायिक वनभित्र छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here