बिर्ता सिटीमा सडक दुर्घटनाका घाइतेको उद्धार

१३ माघ २०७६, सोमबार मा प्रकाशित

लक्ष्मण ढकाल / बिर्तामोड।

झापामा निकै ठूलो दुर्घटना भएको आभाष हुने गरी बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा भिडभाड थियो । एम्बुलेन्सको ताँती थियो भने, डाक्टर आ–आफ्नै काममा ब्यस्त । प्रहरी पनि बिरामीको उद्धार र ब्यवस्थापनमा खटिएका थिए । दृश्य हेर्दा लाग्थ्यो ठूलै दुर्घटना भएको छ आज ।

डाक्टरहरु कोही घाइतेलाई श्वासप्रश्वास अवरुद्ध हुदाँ मुटु सञ्चालन गर्न गरिने सिपिआर पद्धतिले उपचार गरिरहेका थिए भने कोही डाक्टर दुर्घटनामा परेर स्पाइनल एन्जुरीका बिरामीलाई ब्यवस्थापन गरेर एम्बुलेन्समा राख्दै थिए ।
तर, वास्तविकता भने अर्कै थियो । दिनहुँजसो दुर्घटनामा मानिसले ज्यान गुमाई रहेका बेला उद्धारमा सबैभन्दा पहिला पुग्ने प्रहरी, त्यस लगत्तै पुग्ने एम्बुलेन्सका चालकहरुलाई कसरी मानवीय क्षति कम गर्न सकिन्छ भनेर गरिएको प्रयोगात्मक अभ्यास थियो त्यो ।

पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटल र एम्बुलेन्स चालक संघ झापाको संयुक्त आयोजनामा अस्पतालको निर्माणाधीन परिसरमा शनिवार आयोजित कार्यक्रममा विभिन्न विषयका विज्ञ डाक्टरहरुले दुर्घटनासँंग जोडिएका ब्यक्ति तथा संस्थाका लागि सैद्धान्तिक र ब्यावहारिक प्रशिक्षण दिने क्रममा यस्तो अभ्यास गरिएको थियो ।

प्रशिक्षणको पहिलो सत्रमा डाक्टरहरु दिग्गज श्रेष्ठ,विजय केसी, पुष्पक रेग्मी र अनिल रेग्मीले सहभागी प्रशिक्षार्थीहरुलाई दुर्घटनाका घाइतेहरुलाई उपचार स्थलसम्म पु¥याउन अपनाउनु पर्ने सावधानी र भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । जनपद र ट्राफिक प्रहरीहरु दुर्घटना स्थलका पहिलो उद्धारक र स्वयम्सेवक हुने भएकाले उनीहरुलाई समेत प्रशिक्षणमा सहभागी गराइएको आयोजकले जनाएको छ ।

सैद्धान्तिक विषयमा न्यूरो सुपर भाइजर रोशन प्रसाई र म्याट्रन ऐरिस सेठ्ठी प्रसाई राधाले समेत घाइतेको स्याहार र उपचारको बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमको शुभारम्भ डाक्टर सीपी लिम्बू र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक सकिल चौधरीले दीप प्रज्ज्वलन गरी गरेका थिए ।

आधारभूत प्राथमिक प्रशिक्षण उपचार कार्यक्रमका रुपमा आयोजित प्रशिक्षणमा जिल्लाका ४० भन्दाबढी एम्बुलेन्स चालकसहित ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य देउकुमार थेवेले बढ्दो दुर्घटना न्यूनीकरण गर्न र घाइतेहरुलाई प्राथमिक सेवा कुशलता पूर्वक गर्न प्रशिक्षण सहयोगी हुने भन्दै यसले मानवीय क्षति कम गर्ने विश्वास ब्यक्त गरे ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतले ट्राफिक र प्रहरीको भूमिका प्राथमिक उद्धारकर्ताको रुपमा अग्रणी रहेको भन्दै प्रशिक्षण अत्यन्त उपयोगी भएको बताए । आफूहरुले समेत यो तालिमबाट घाइतेका ब्यवस्थापनका विषयमा ज्ञान पाएको भन्दै उनले सडक दुर्घटनाबाट हुने मृत्युदर कम गर्न सकिने बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर अनिल बस्नेतले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य जयबेन्द्रकुमार सिंह लगायतले बोलेका थिए । कार्यक्रमको औचित्य र महत्वको बारेमा डाक्टर पुष्पक रेग्मीले जानकारी सहित सहजीकरण गरेको कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासक विनोद बस्नेतले गरेका थिए । प्रदेश–१ का १४ जिल्लामा दिनहुँ हुने दुर्घटनामा दैनिक दुई जनाभन्दा बढीले ज्यान गुमाउने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अधिकांश दुर्घटनामा मोटर साइकलमा सवार ब्यक्ति पर्ने गरेको प्रहरीले जनाएको छ । तीब्र गति, ओभरटेक, चालकको लापरबाही, सडकको दुरावस्था लगायतका कारण दिनुहुँ जसो दुर्घटना बढी रहेका बेला झापामा नै पहिलोपटक अस्पतालले एम्बुलेन्स चालक, जनपद र ट्राफिक प्रहरीलाईसमेत प्राथमिक उपचारको बारेमा प्रशिक्षण दिएको हो ।

दुर्घटनामा परेर उचित ब्यवस्थापन गर्न नसक्दा धेरैले अकालमा नै ज्यान गुमाउनु परेको भन्दै अस्पतालले मानवीय क्षति कम गर्ने उद्देश्यले प्रयोगात्मक अभ्याससहितको सचेतनामूलक कार्यक्रम गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here